हामीलाई मात्रै देख्दा सुत्केरी हुन आउने महिला र श्रीमान् समेत आत्तिछन् (भिडियो)
नर्स यशोदा चौलागाईँ काभ्रे नमोबुद्ध नगरपालिका–९ स्थित दाप्चा स्वास्थ्य चौकीमा कार्यरत छिन् । उनले त्यहाँ रहेर सेवा दिन थालेको ४ वर्ष भयो ।
त्यहाँबाट करिब पैदल एक घण्टाको दूरीमा चौलागाईँको घर छ तर उनी २४ सै घण्टा स्वास्थ्य चौकीमै बस्नुपर्छ । उनको जम्मेवारी बर्थिङ सेन्टरमा तोकिएको छ। सुत्केरी बेथा लागेका महिलाहरू जुनसुकै बेला आउन सक्छन् ।
स्वास्थ्य चौकी रहेको ९ नम्बर वडादेखि वरिपरिका वडाबाट समेत यहाँ सुत्केरी गराउन महिलाहरु आउने गरेको उनले जानकारी दिइन्।
सुत्केरी बेथा लागेपछि अन्य कुनै समस्या छैन भने त्यस खालका महिलाको यहीँ सुत्केरी गराइने चौलागाईँले बताइन् । उनका अनुसार सुत्केरी बेथा लागेको ६ देखि १२ घण्टासम्म यहाँ राख्ने गरिन्छ ।
लामो समयसम्म बच्चा नजन्मिएमा, कुनै समस्या आएमा तुरुन्त रेफर गरिन्छ । स्वास्थ्य चौकीमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको हुन्छ ।
स्वास्थ्य चौकीमा धेरै सुविधा नहुने भएकाले सुत्करी बेथा लागेर गाह्रो भइरहँदा सुत्केरी हुन आउने महिला र उनका आफन्त आत्तिने गरेको चौलागाई्रँ सुनाउँछिन्।
‘यहाँ आउने बिरामीहरु चाहिँ धेरै जना आत्ति नै राखेका हुन्छन्’ चौलागाईँ सुनाउँछिन्, ‘हामी केटी मान्छे मात्रै देख्दा ओहो ! डाक्टर पनि छैनन् के हुने हो भन्ने धेरैलाई परिरहेको हुन्छ ।’
सम्झाउँदै धैर्य गर्न लगाउने गरेको चौलागाईँ बताउँछिन् । स्वास्थ्य चौकीबाट सुत्केरी गराउँदा वडाले प्रोत्साहन रकम समेत दिने गरेकाले सो कुरा समेत बुझाएर परामर्श दिने गरिएको उनको भनाइ छ ।
कतिपय चाहिँ अवस्था गम्भीर छ भन्दा पनि अन्त जान नमान्ने गरेको घटना चौलागाईँ सुनाउँछिन् ।
उनका अनुसार झण्डै २ वर्ष पहिला नमोबुद्ध–८ की महिला आएकी थिइन् । बच्चा उल्टो निस्किइरहेको थियो । धेरै समय भएपछि मात्रै यहाँ ल्याइएको थियो । तुरुन्तै अस्पताल जान भन्दा पनि उनी र उनका परिवारले मानेनन् । संयोगबस बच्चा जन्मियो । अस्पतालमा भए अप्रेसन नै गर्ने केस रहेको चौलागाईँ सुनाउँछिन् ।
यहाँ सामान्य बर्थिङ सेन्टरमा हुनुपर्ने सबै सामग्री रहेको उनले जानकारी दिइन् । तर खाना बनाउन मिल्ने भान्सा नहुँदा बेलाबेला समस्या हुने गरेको छ । वरपर खानेकुरा पाइने एक–दुई वटा मात्रै पसल छन् । त्यसमा पनि राति कोही सुत्केरी भयो भने खान दिन समस्या हुन्छ । स्वास्थ्य चौकीमै भान्साको व्यवस्था गर्न सके सजिलो हुने चौलागाईँले बताइन् ।
तपाईँको अभिमत