९४ प्रतिशतलाई एचपीभी खोप, ग्रामीण क्षेत्रमा ‘कोल्ड चेन मेन्टेन’ गर्न चुनौति (भिडियो)
स्वास्थ्य कार्यालयबाट एचपीभी खोपको लागि लक्ष्य निर्धारण गर्न पत्राचार भएको थियो । सोही आधारमा जन्तेढुङ्गा गाउँपालिकाले पनि आफ्नो लक्ष्य निर्धारण गरी जवाफ पठाएको थियो । गाउँपालिकामा छ वटा वडाहरू रहेका छन् । ती सबै वडामा रहेका स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरी स्वास्थ्य कार्यालयलाई पठाइएको थियो । तर राष्ट्रव्यापी रूपमा परिवार कल्याण महाशाखाले पठाएको लक्ष्यलाई नै आधार मानेर काम गर्ने भन्ने निर्देशन भयो । सो निर्देशनअनुसार नै काम गरियो ।
वडाको भौगोलिक अवस्था तथा विद्यालयहरू रहेको अवस्था अनुसार प्रत्येक वडामा तीन वा चार वटा खोप केन्द्र निर्धारण गरिएका थिए । कक्षा छ भन्दा माथिका सबै विद्यालयलाई खोप केन्द्र मानिएको थियो । त्यस्तै भौगोलिक अवस्था तथा स्वास्थ्य संस्थालाई समेत खोप केन्द्र तोक्दा आधार मान्ने योजना तर्जुमामा छलफल गरिएको थियो । जसअनुसार नै खोप केन्द्रहरूको निर्धारण गरेर खोप कार्यक्रमलाई अगाडि बढाइएको थियो ।
जन्तेढुङ्गा गाउँपालिकामा माघ २३ देखि २८ गतेसम्म खोप कार्यक्रम सञ्चालन भयो । यस क्षेत्रमा प्रत्येक महिनाको २० देखि २२ गतेसम्म नियमित खोप कार्यक्रम हुने गरेको छ । त्यसैले सरकारले माघ २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भने पनि २३ गतेबाट मात्र सञ्चालन गरिएको हो ।
अभियानका चुनौतिहरू
मानसिकता : कतिपय अभिभावकले छोरीहरूलाई खोप लगाउन अनुमति दिनुभएन । सम्झाउने प्रयास गरेपनि उहाँहरू तयार हुन सक्नुभएन । धार्मिक आस्थासँग जोडिएकाले पनि जबरजस्त गर्न सकिएन ।
विद्यार्थी विद्यालय नआउनु : जन्तेढुङ्गाको अधिकांश क्षेत्रमा जाडो लामो समयसम्म हुन्छ । विद्यालयले हिउँदे वा जाडो विदा दिने गर्छन् । लगभग माघको तेस्रो सातापछि मात्र विद्यालय सञ्चालन हुन थालेकाले पनि विद्यार्थी विद्यालय आउन सकेनन् । कक्षा भर्खर सञ्चालन भएको, विद्यालय टाढा भएको जस्ता कारणले धेरै विद्यार्थी विद्यालय आउन आएनन् ।
कोल्ड चेन मेन्टेन : अर्को चुनौति भनेको खोपको ‘कोल्ड चेन मेनटेन’ गर्नु हो । दुर्गम क्षेत्रमा बिजुली नहुँदा फ्रिज हुने कुरा भएन । यद्यपि पालिका कार्यालयबाट सबभन्दा टाढा रहेको २ नं. वडा बोपुङमा ‘डोमेस्टिक’ फ्रिज रहेकाले त्यसबाट व्यवस्थापन गरियो । त्यस्तै वडा नं. १, देवीस्थानमा स्थानीय शिक्षकको घरमा फ्रिज भएकाले त्यहाँ आवश्यक तापक्रम मिलाएर कोल्ड चेन मेनटेन गरियो । अन्य वडाहरूमा पालिकाको मुख्य वितरण केन्द्रबाटै मेनटेन गर्ने काम भयो ।
लक्ष्यको ९४ प्रतिशतलाई खोप
परिवार कल्याण महाशाखाले यस पालिकालाई ७५९ जनाको लक्ष्य निर्धारण गरेको थियो । यहाँ ७१२ जनालाई खोप दिइयो । यो भनेको लगभग ९४ प्रतिशत हो । विभिन्न समस्याका बाबजुद पनि यहाँ ९४ प्रतिशतलाई खोप प्रदान गर्न सकियो । विद्यालयमा उपस्थित नभएका छात्राहरू, विद्यालयभन्दा बाहिर रहेका किशोरीलाई पछि पालिकाको स्वास्थ्य चौकीमा खोप केन्द्र तोकी दुई दिनसम्म प्रदान गरियो ।
सूर्य बहादुर कार्की
तपाईँको अभिमत