उच्च रक्तचापका ४३ लाख बिरामी उपचारबाहिर
परिवर्तित जीवनशैली र अस्वस्थकर खानाका कारण विश्वमा उच्च रक्तचापका बिरामीको संख्या बढिरहेको छ । नेपालमा पनि कूल जनसंख्याको करिब २५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको सरकारी तथ्यांक छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले नेपालमा गरिएको स्टेप सर्भे सन् २०१९ को तथ्यांकअनुसार नेपालमा करिब ४७ लाख जनसंख्यामा उच्च रक्तचापको समस्या रहेकाे जानकारी दिएकाे छ । जसमा २ लाख जनसंख्यामा उच्च रक्तचाप नियन्त्रण भइसकेको छ बाँकी ४३ लाख जनसंख्यामा नियन्त्रण हुन सकेको छैन ।
यस्तै उनीहरुमध्ये १० लाखलाई मात्र आफनो उच्च रक्तचापको अवस्थाकोबारेमा थाहा भएको र ४ लाखले मात्र औषधि खाइरहेका छन् । औषधि खाइरहेकामध्ये २ लाख जनाको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको छ ।
रोग निदान भएर पनि उच्च रक्तचापको समस्या नियन्त्रण आउन नसक्नुमा बिरामीहरु उपचारमा नआउनु प्रमुख कारण रहेको विज्ञहरू निष्कर्ष छ। साथै, रोग निदान भइसकेपछि पनि उपचारमा देखिएको अन्तरको कारण खोजी गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।
विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य स्वा विभागले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले झण्डै ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको बताउनुभयो । नसर्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर आगमाी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाइएको जानकारी उहाँले दिनुभयो।
डा.पोखरेलले नसर्ने रोग र मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राख्ने भन्दै आएपनि कार्यान्वयन हुन नसकेको दुसेखो गर्नुभयो । नसर्ने रोग निण्न्त्रणका लागि स्थानीय तहमा नै कार्यक्रमहरु लैजानुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।
मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले उच्च रक्तचापलाई सामान्य स्वास्थ्य समस्याका रुपमा लिइरहेकाले यसबाट अन्य स्वास्थ्य समस्या थपिरहेको बताउनुभयो। ‘धेरैले आफूलाई उच्च रक्तचाप भएको थाहै पाउँदैनन्, ढिला थाहा पाएपछि औषधि पनि ढिलै लिन्छन्' डा. ओममूर्ति भन्नुहुन्छ, ' कतिले औषधिको साइड इफेक्ट देखिन्छ भनेर औषधि नै लिदैनन्, मैले उपचारका क्रममा देखेको छु।’
साइलेन्ट किलरका रुपमा रहेको उच्चरक्तचाप मृत्युको प्रमुख कारण बन्दै गएको उहाँले बताउनुभयो।
नेपालमा उच्चचापको समस्या देखिएकामध्ये १० प्रतिशत २५ वर्षभन्दा मुनिका जनसंख्या रहेको डा. ओममूर्तिले जानकारी दिनुभयो ।
शारीरिक गतिविधि कम हुनु, मोबाइलमा धेरै समय बिताउनु लगायतका कारणले अहिलेका बालबालिकालाई केही वर्षपछि नै उच्च रक्तचापको समस्या देखिने चुनौती रहेको उहाँको अनुमान छ । उच्च रत्तचापले सबै रक्तनलीमा असर पुर्याउने भएकाले मष्तिष्कघात, हृदयघातको जोखिम उच्च रहने ओममूर्तिले बताउनुभयो ।
उहाँले उच्चरक्तचापको उपचारमा देखिएको अन्तरको कारण खोज्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादवले तनाव व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । तनाव आफैंमा रोग नभएको तर यसले अनेकौं स्वास्थ्य समस्या जन्माउने भएकाले तनाव नियन्त्रणतर्फ ध्यान दिनु पर्ने उहाँको राय छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले उच्च रक्तचापलगायत नसर्ने रोग नियन्त्रणका लागि जनचेतना नै प्रमुख उपाय रहेकाले सोही अनुसार कार्यक्रमहरु तर्जुमा गर्नपर्ने सुझाव दिनुभयो ।
नसर्ने रोग तथा मानसिक स्वास्थ्य इकाइ प्रमुख डा.फणिन्द्र प्रसाद बरालले मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोग तथा मधुमेह लगायतका नसर्ने रोगका बिरामीहरू उपचारको दायरामा आउन नसकेको बताउनुभयो ।
समुदायमा लुकेर रहेका तथा नदेखिएका बिरामीको समयमै निदान गरी सही उपचार तथा व्यवस्थापनको दायरामा ल्याउन सरकारले नसर्ने रोग सम्बनधी कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
२०१६ देखि सञ्चालनमा ल्याएको उक्त कार्यक्रम अब आउने आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू गरिने पनि उहाँले बतानउनुभयो।
हाल उक्त कार्यक्रम ७० वटा जिल्लामा सञ्चालित छ । उहाँले उच्चरक्तचापको औषधि निशुल्क वितरण गरिने पनि बताउनुभयो।
नेपालमा हुने मृत्युमध्ये ६६ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको छ । जसमा ३० प्रतिशत मुटुरोग, ९ प्रतिशत क्यान्सर, १० प्रतिशत दीर्घ रोग, ४ प्रतिशत मधुमेहका कारण मृत्यु हुने गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत