प्राकृतिक रूपमा सुत्केरी गराउँदा सयौँ फाइदा छन् (भिडियो)
पछिल्ला दिनमा शल्यक्रियाबाट सुत्केरी गराउनेको संख्या धेरै बढ्दै गएको बरिष्ठ प्रसूति तथा स्त्रीरोग प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै पनि शल्यक्रियाबाट सुत्केरी हुनेको दर दोब्बर बढेको उहाँको भनाइ छ ।
‘म एमडी गरेर निस्किने वर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्तपालमा एक वर्षमा १९ हजार सुत्केरी भएको थियो । यसमा शल्यक्रियाबाट सुत्केरी हुनेदर १५ प्रतिशत थियो’ डा.गौतमले भन्नुभयो, ‘त्यसको २० वर्षपछि म त्यही अस्पतालमा आउँदा सुत्केरी हुनेको संख्या १९–२० हजार नै थियो तर शल्यक्रियाको दर बढेर ३२ प्रतिशत पुगेको थियो।’
विभिन्न जटिलताका कारण सुत्केरी हुन आउने १५ प्रतिशतलाई भने शल्यक्रिया गर्नैपर्ने अवस्था हुने डा.गौतमको भनाइ छ ।
अहिले शल्यक्रियाबाट सुत्केरी हुनेको संख्या बढ्नुमा ३ वटा कारण रहेको डा.गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आमा आफैँले सुत्केरी बेथाको डरले शल्यक्रियाबाट बच्चा जन्माउने चाहना राख्नु पहिलो कारण हो ।
‘म अलिअलि दुखः सहेर पनि समान्य रुपमै बच्चा जन्माउछु भन्ने अठोट जुन हुन्छ, त्यो घट्दै गएको छ’ डा.गौतम भन्नुहुन्छ, ‘एउटा–दुईवटा पाउने हो म अप्रेसन गरेर सजिलै किसिमले बच्चा पाउछु भन्ने धेरै हुन्छन।’
पहिले भन्दा महिलाको बच्चा पाउने उमेर बढ्दै गएकाले विभिन्न जटिलता आउने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउनु दोस्रो कारण रहेको डा.गौतमले बताउनुभयो ।
‘जस्तो पहिले २०, २२, २५ वर्षमा बच्चा पाउने धेरै हुन्थे भने अहिले २८, ३०, ३५ वर्षमा बच्चा पाउने धेरै छन् । ढिलो बच्चा पाउदा अलि जोखिम बढ्दा बच्चा नबसेर उपचार गरेको हुन्छ, कसैको, सुगर प्रेसर बढेको हुन्छ, कसैको आइभीएफ गरेको हुन्छ । त्यस्तोमा शल्यक्रियाको दर अलि बढ्छ नै’ डा.गौतम सुनाउनुहुन्छ ।
पूरा प्रक्रिया पुर्याएर सुत्केरी गराउँदा कुनै समस्या आएमा बिरामीमा आफन्तले हुल हुज्जत गर्ने, आक्रमण गर्ने जस्तो जोखिम भएकाले पनि डाक्टरले जोखिम लिन नचाहेर अप्रेसन गर्ने गरेको उहाँको भनाइ छ ।
‘पूरा प्रक्रिया पालना गरेर सुत्केरी गराउँदा कहिले कहीँ अस्वस्थ बच्चा जन्मन सक्छ । त्यो भयो भने अस्पताल घेर्ने, दुर्व्यवहार गर्ने कुटपिट गर्ने जस्ता कुरा हुने भएकाले पनि डाक्टरहरुले जोखिम लिन नचाहेर शल्यक्रिया गरिदिने हुन्छ ’ डा.गौतम भन्नुहुन्छ।
सामान्य अवस्थामा सुत्केरी हुनसक्नेलाई पनि पैसाका लागि अप्रेसन गरिदिने गरेको आरोप अस्पताल तथा डाक्टरमाथि लाग्ने गर्छ ।
यस्तो आरोप लाग्ने गरेपनि आफूले आफ्नो अभ्यासका क्रममा सधैँ सामान्य सुत्केरीका लागि परामर्श दिने गरेको डा.गौतमले जानकारी दिनुभयो ।
‘पैसाका लागि पनि ठाक्टरले अप्रेसन गर्छन् भन्ने आक्षेप त लाग्छ तर मेरो अभ्यासमा म धेरैलाई सामान्य सुत्केरीकै लागि परामर्श दिइरहेको हुन्छु’ डा.गौतम भन्नुहुन्छ।
आफूले समान्य सुत्केरी गराउन तयारी गरेको व्यक्तिले पनि पछि हुँदै जाँदा अप्रेसन गर्न भनेर दवाव दिने गरेको उहाँको गुनासो छ । सुरुदेखि नै आउँदा म सामान्य सुत्केरी गराउने सोचमै हेरिरहेको हुन्छु, परामर्श गरिरहेको हुन्छु’ डा.गौतम सुनाउनुहुन्छ, ‘अन्तिममा बिरामी आउँछ मेरो अप्रेसन गरिदिनु भन्छ ।’
समान्य सुत्केरी हुन कुनै समस्या छैन भनेर सम्झाउँदा पनि नमान्ने गरेको उहाँको गुनासो छ । ‘अन्तिममा उहाँहरु भन्नुहुन्छ ल डाक्टर साब तपाई अप्रेसन गरिदिने भए गरिदिनु नत्र म यहाँ गराउँदिन’ डा.गौतम सुनाउनुहुन्छ ।
सामान्य सुत्केरी गर्नुपर्छ भनेर नियमित पराशर्म गरिरहन सबै प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुलाई उहाँको सुझाव छ । सामान्य सुत्केरी गराउनु राम्रो भनेर हामीले भन्नु छाड्नु हुँदैन’ डा.गौतम सुझाव दिनुहुन्छ, ‘भनिरहँदा एकदिन त मान्छेले बुझ्छन् नि । अहिलेकाले नबुझे पछिकाले बुझ्लान् तर भन्न छाड्नु हुँदैन।’
पैसाकै लोभमा शल्यक्रियामार्फत सुत्केरी गराउनु भन्दा बरु सामान्य सुत्केरी गराउँदाकै शुल्क बढाउन डा.गौतमले सुझाव दिनुभयो । ‘पैसाकै कुरा हो भने शुल्क शल्यक्रिया गर्दाकै हाराहारीमा लिनुहोस् न बरु, तर तर नर्मल डेलिभरीमा जोड दिनुहोस्’ डा.गौतम भन्नुहुन्छ।
समान्य सुत्केरी हुँदा बच्चा परिपक्क भएर जन्मिने डा.गौतमको भनाइ छ । समय पुगेपछि मात्रै बच्चा जन्मने, संघर्ष गरेर बाहिर निस्कने भएकाले ऊ परिपक्क हुने उहाँको तर्क छ ।
सामान्य सुत्केरी हुँदा आमालाई सयौँ फाइदा रहेको डा.गौतम सुनाउनुहुन्छ–जस्तो काट्नु परेन, अप्रेसनका जोखिमहरु जति छन् त्यो भएन । अप्रेसनपछि हुने दुखाइ हुने भएन । बच्चा नजन्मिदासम्म जति दुख्छ त्यसपछि दुखाइ हुँदैन । छिट्टै स्नतपान गराउन सकियो । छिट्टै खाना खान सकियो, छिट्टै काममा फर्किन सकिन्छ । अर्काे पटक पनि सामान्य सुत्केरी हुन मिल्यो । शुल्कको हिसाबमा पनि सस्तो पर्यो ।
प्राकृतिक रुपमा सुत्केरी हुनु निकै लाभदायक भएकाले यसमै जोड दिन उहाँको सुझाव छ । सुत्केरी बेथा लाग्दा नदुख्ने पनि प्रविधि छ समेत रहेकाले बेथाको डरले शल्यक्रिया गर्ने मनसाय नबनाउन उहाँले सुझाव दिनुभयो ।

हेल्थपाटी
तपाईँको अभिमत