युवावस्थामै हृदयघात हुने क्रम बढ्दो, कारण सुर्तिजन्य पदार्थ
नेपालमा कम उमेरमानै हृदयघात मुटुरोगको समस्या बढिरहेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
विश्व मुटु दिवसमा अवसरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आयोजना गरेको एक कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले सुर्तिजन्य पदार्थको प्रयोग, निश्क्रिय जीवनशैली, तनावका कारण युवावस्थामै हृदयघातको समस्या देखिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार गंगालाल अस्पतालमा भर्ना भएका सबैखाले मुटुरोगीमध्ये हृदयघात मुटुरोगीको संख्या ५० प्रतिशत रहेको छ । २०१८ मा अस्पतालले गरेको एक अध्ययनले ४५ वर्षभन्दा कम उमेरलाई हृदयघात भइरहेको र हृदयघात भएर भर्ना भएकामध्ये १२ प्रतिशत युवाहरु रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।
४५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयघात हुनु असामान्य रहेको भन्दैजीवनशैलीमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । मधुमेह, उच्चरक्तचापका बिरामीले सही तरिकाले उपचार नगर्दा पनि हृदयघातको जोखिम निम्तने गरेको डा. अधिकारीले बताउनुभयो ।
आज विश्व मुटु दिवस । 'मन लगाऊ,सबैको मुटु बचाऊ 'भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात करीब ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपाल एनसीडी एलायन्सका अनुसार करीव ३० प्रतिशत बयस्क जनतालाई उच्च रक्तचाप, २५ प्रतिशत जनतालाई कोलेस्टेरोल, १० प्रतिशत जनतालाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।
विश्व मुटु दिवसको अवसरमा एलायन्सले बुधबार जारी गरेको विज्ञप्तीमा ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, करीव ५० प्रतिशत शहरीयाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ । वर्षेनी करीव एक हजार बालबालिका बाथ मुटुरोगको कारण हार्ट फेल भई मृत्युवरण गर्न पुग्दछन् ।
एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीद्धारा जारी विज्ञप्तीमा मुटुको रोग बद्दै जानुको प्रमूख कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु उल्लेख छ ।
हेल्थपाटी
तपाईँको अभिमत