मुटुको भल्ब फेर्न पोखरा मणिपालमा नयाँ प्रविधि
काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्ब इम्प्लान्टेसन’ (टिएभीआई) सफल भएको छ ।पोखराको मणिपाल शिक्षण अस्पतालमा टिएभीआई गरिएको हो।
वरिष्ठ कार्डियोलोजिस्ट डा.अमितकुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले सफल प्रत्यारोपण गरेको हो । टाेलीले ८६ वर्षीय कालिदास तिमिल्सिनाको मुटुमा झण्डै १ घन्टा ३० मिनेटमा टिएभीआई गरेकाे हाे।
‘यो ‘ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन÷रिप्लेसमेन्ट’ हो । मुटुको सबैभन्दा मुख्य पाइपमा भल्भ हुन्छ' डा. चौरासियाले भन्नुभयो, 'बुबाको त्यो भल्ब सुक्यो अथवा साँघुरो भयो भनौँ । जसले गर्दा थाक्ने, मुटु दुख्ने, सास फुल्ने, चक्कर लाउने लगायत समस्या देखियो।'
काठमाडौंका केही अस्पतालमा पनि यससम्बन्धी उपचार हुने बताउँदै उहाँले काठमाडौँबाहिर पहिलोपटक भएको जानकारी दिनुभयो। काठमाडौँमा यो प्रविधिबाट उपचार सुरु करिब डेढ वर्ष मात्रै भएको डा. चौरासियाको भनाइ छ।
उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा नवराज पौडेलले यो प्रक्रियामा खुट्टाको नलीबाट तार हालेर भित्र भल्ब खुलाएर अर्को भल्ब राखिने बताउनुभयो। ‘सिनियर कार्डियोलोजिस्ट डा.अमित चौरासीयाको सहयोगमा काठमाडौँबाहिर पहिलोपटक यो कार्य गर्न सफल भएको अस्पालका निर्देशक डा. अभिषेक मास्केले बताउनुभयो।
मोफसलमा पहिलोपटक यस प्रकृतिको सफल उपचार हुनु पोखरामात्रै नभई प्रदेशवासीका लागि नै सुखद् खबर उहाँको भनाइ छ।
जटिल प्रकारका रोगको सहज उपचारका लागि पोखरा लगायत प्रदेशवासी बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न मणिपालले आगामी दिनमा थप काम गर्ने डा.मास्केले बताउनुभयो।
टिएभीआई गराउने तिमिल्सिना मणिपालमै कार्यरत डा. विश्वदीपका बुबा रहेको पनि निर्देशक मास्केले जानकारी दिनुभयो। मणिपालको क्याथ ल्याबलाई विश्वास गरेर बुबाको उपचार गराएको डा. विश्वदीपले बताउनुभयो।
उमा आलेमगर
तपाईँको अभिमत