इन्डोस्कोपिक प्रविधिबाट खाद्यनली समस्याको सफल उपचार (भिडियो)
ह्याम्स अस्पतालमा शरीरमा घाउ नबनाइकन इन्डोस्कोपी प्रविधि पोएम (Per Oral Endoscopic Myotomy) बाट खाद्यनली समस्याको शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
नेपाली चिकित्सकले पहिलोपटक पोएम प्रविधिबाट एकालेजिया कार्डिया (खाद्यनलीमा खानेकुरा वा तरल पदार्थ अड्किएर निल्नै गाह्रो हुने) समस्या भएका बिरामीको उपचार गरेको दाबी ह्याम्स अस्पतालको छ ।
ह्याम्स अस्पतालमा तीन जनाको पुस १ गते एकालेजिया कार्डियाका बिरामीको शल्यक्रिया गरिएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै डा. विवेककुमार पुर्वेको नेतृत्वमा पुस १ गते शल्यक्रिया शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।
शल्यक्रिया गरिएकामध्ये एक जना पुरुष र दुई जना महिला रहेका छन् । ती बिरामी ४०–५० उमेर समूहका रहेको शल्यक्रियाको नेतृत्व गर्नुभएका डा. विवेककुमार पुर्वेले जानकारी दिनुभयो । ३ जनाकै उपचार निशुल्क गरेको अस्पतालले बताएको छ ।
हाल नेपालमा खाद्यनली समस्या भएका बिरामीलाई अन्ननलीको तल्लोभागलाई बेलुन फुलाएर नन् इन्भासिभ सर्जरी हुने गरेको जानकारी दिनुभयो । शल्यक्रिया गरिएका तीनै जना बिरामीलाई अहिले डिस्चार्ज गरिसकिएको छ । हाल उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष डा. रामशरण भण्डारीले यो प्रविधिबाट उपचार सुरु भएपछि एकालेजिया कार्डिया समस्याका बिरामीले अब इन्डोस्कोपीक सर्जरीका लागि विदेशिन नपर्ने बताउनुभयो ।
‘भारत लगायतका देशमा जाने गर्दथे, तर अब नेपालमै हुने भएपछि बिरामीले सहज र सस्तोमा गुणस्तरीय सेवा पाउनेछन् उहाँले भन्नुभयो,- ‘ह्याम्स अस्पताल कसरी नेपालकै उत्कृष्ठ सेवा प्रवाह गर्ने अस्पतालका रुपमा चिनाउन लागि परिहेको छ ।’
पोएम प्रविधिबाट उपचारप्रविधिबाट भारतमा उपचार गर्दा नेपाली ६ लाख रुपैंयासम्म लाग्ने तर नेपालमा २ लाख रुपैंयामै उपचार सम्भव रहेको भण्डारीको भनाइ छ ।
यस्तै अस्पतालका मेडिकल डाइरेक्टर डा.सबिन कोइरालाले एकालेजिया कार्डिया समस्याको पोएम प्रविधिबाट उपचार गर्दा बिरामी छिटै निको हुने र कम खर्चिलो हुने बताउनुभयो ।
विश्वमा एक लाख मानिसमध्ये एक जनामा एकालेजिया कार्डिया हुने गरेको पाइएको छ । यद्यपि पछिल्लो समय भएको प्रविधिको विकास र जाँच गर्ने प्रवृत्ति बढेकाले उक्त तथ्याङ्क भन्दा बढी नै यस किसिमका बिरामी पाउन सकिने चिकित्सकहरू बताउँछन् ।
के हो ? एकालेजिया कार्डिया
एकालेजिया कार्डिया रोग लागेको व्यक्तिलाई खाना, पानी निल्न गार्हो भई तौल घट्ने, खोकी लागिरहने लगायत विभिन्न शारीरिक र मानसिक समस्यासमेत देखिन्छ ।
के हो POEM प्रविधि ?
बाहिर शरीरमा घाउ नबनाइकन इन्डोस्कोपी माध्यमबाट खाद्यनलीमा अतिरिक्त नली बनाई सो द्वार उपयोग गरी खाद्यनलीको मांशपेसी काटी बिरामीलाई खानेकुरा तथा तरल पदार्थ निल्न सहज बनाउने प्रविधि POEM हो ।
यस प्रविधिबाट बिरामीको अस्पताल बसाईँ कम हुने र खर्चसमेत न्यूनीकरण हुने ग्याष्ट्रोलोजिष्ट डा.नन्दु पौडेल सिलवालले बताउनुभयो ।उहाँले यस्तो सर्जरीबाट बिरामीमा पुन एकालेजिया कार्डिया समस्या नदोहोरिने बताउनुभयो । यस्तो शल्यक्रिया गरिएको केही समयमै बिरामीले खानेकुरा खानसक्ने उहाँ बताउनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत