दुर्गमका स्वास्थ्यकर्मीको सेवा : लिला भन्नहुन्छ, 'जनप्रतिनिधिलाई बाटो देखाउन खोजेको'
एक स्वास्थ्यकर्मीले वृद्ध महिलालाई बोकेर कोभिड-१९ विरुद्धको खोप लगाउन लैजाँदै गरेको तस्बिर अहिले निकै भाइरल भएको छ। गुल्मी जिल्लाको उक्त तस्बिर पूर्वसचिव भीम उपाध्यायले आज बिहान फेसबुकमा हालेपछि त्यसलाई कपी गरेर धेरैले भाइरल बनाइरहेका छन्।
सामाजिक सञ्जालमा तस्बिरको खासै जानकारी दिएको छैन। खाली गुल्मी जिल्लाको गौडाकोटकी स्वास्थ्य स्वयंसेविका लिला थापा भनिएको छ। उहाँले एक वृद्धालाई बोकेर कोभिड-१९ विरुद्धको खोप लगाउन लाँदै गरेको जानकारी दिइएको छ।
यस्तो छ तस्बिरको वास्तविकता
वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-३ राजा निवासी लिला थापा हुनुहुन्छ। उहाँको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका-३ धारापानीकी देवीकला टण्डन हुनुहुन्छ।
लिलाले गत शुक्रबार अर्थात माघ १४ गते देवीकलालाई बोकेर खोप लगाउन गौडाकोट स्वास्थ्य चौकी लैजानुभएको हो।
स्वास्थ्य स्वयंसेविका लिलाले हेल्पाटीलाई दिएको जानकारी अनुसार ८० वर्षीया देवीकला एक्लै गाउँमा बस्नुहुन्छ। उहाँका एक जना छोरा बुटवल र एक जना भारतमा हुनुहुन्छ। छोराहरू गाउँ नबस्ने, आमा गाउँ छाड्न नमान्ने भएपछि देवीकला एक्लै पर्नुभएको छ। गाउँमै बिहे गर्नुभएकी छोरीले बेला-बेला गएर हेरचाह गर्नुहुन्छ।
देवीकलाले अहिलेसम्म कोभिड-१९ विरुद्धको कुनै खोप लगाउनुभएको थिएन। गौडाकोट स्वास्थ्य चौकीमा खोप लगाउने शुक्रबार अन्तिम दिन थियो। देवीकलाको घरबाट स्वास्थ्य चौकी हिँडेर पुग्न १० मिनेट जतिको बाटो छ।
गतसाल ब्लड प्रेसरले हानेर थलिनुभएकी उहाँको खुट्टाका औँलासमेत पाकेर हिँडन्सक्ने अवस्था छैन। शुक्रबार बिहान देवीकलाकी छोरी फुर्सी घिमिरे आएर आमालाई कसरी खोप लगाउन लैजाने भनी समस्या सुनाउनुभयो। त्यही दिन गाउँमा मान्छे मरेर सबैजसो पुरुषहरु मलामी गएकाले बोक्ने मान्छे पनि पाइएन।
छोरी फुर्सी आफैँ बिरामी भएकाले आमालाई बोकेर लैजान सक्ने अवस्था थिएन। अरु कुनै विकल्प नभएपछि आफैँले बोकेर लगेको स्वास्थ्य स्वयंसेविका लिला बताउनुहुन्छ। ‘खोप लगाउने अन्तिम दिन थियो, कुनै विकल्प भएन दिदी(देवीकलाकी छोरी)ले अब कसो गर्ने भन्नथाल्नु भयो’ लिला भन्नुहुन्छ, ‘सक्छु कि म प्रयास गर्छु भनेर उहाँको घर गएँ।’
सुरुमा घरबाट जाँदा बोक्न सक्दिन जस्तो लागे पनि घरमा गएर बोकेर हेर्दा सक्छुजस्तो लागेपछि लगेको उहाँले जानकारी दिनुभयो।

वर्षायाममा पहिरो गएकाले स्वास्थ्यचौकी जाने बाटो पनि निकै अप्ठेरो छ। ‘बाटो सजिलो भएको भए त लठ्ठी टेकेर भएपनि म जान्थे तिमीलाई दुःख दिन्नथेँ भन्नुहुन्थ्यो आमाले’ लिला सुनाउनुहुन्छ, ‘म पनि अलि मोटी भएकाले उकालोमा चाँही निकै गाह्रो भयो।’
स्वास्थ्य चौकीमा लगेर देवीकलालाई स्वास्थ्यकर्मीले जोनसोन खोप लगाइदिए। त्यसपछि फेरि लिलाले घरसम्मै बोकेर पुर्याइदिनु भयो।
घरमै लगेर खोप लगाउने बारे स्वास्थ्य चौकीमा कुरा गर्दा खोप धेरै चिसोमा राख्नु पर्ने भएकाले समस्या हुने जवाफ भएको लिलाको भनाइ छ।
लिलाले मैले एक जना आमालाई बोकेर खोप लगाउन ल्याउँदै छु भनेर शुक्रबार बिहान फोन गरेको तर आफू निस्किएपछि मात्रै आइपुगेकाले अन्य जानकारी नपाएको गौडाकोट स्वास्थ्य चौकीका प्रमुख भेषराज पाण्डेले बताउनु भयो।
लिलाको साथमा देवीकलाकी छोरी फुर्सी र नातिनी जानुभएको थियो। स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार अहिले भाइरल भएको तस्बिर देवीकलाकै नातिनीले खिच्नुभएको हो।
शुक्रबार राति लिलाले ती तस्बिर र एउटा भिडियोसमेत आफ्नो फेसबुकमा हाल्नुभएको थियो। यही तस्बिर गुल्मीको विभिन्न ठाउँमा नाममा सञ्चालित फेसबुक पेजहरुले सेयर गरेपछि भाइरल भएको हो।
लिला थापा २०७१ सालदेखि स्वास्थ्य स्वयंसेविको जिम्मेजारी लिएर गाउँमा सेवा दिँदै आउनुभएको छ। आफू सेवामा समर्पित भएको र आफूले थाहा भएसम्म आफ्नो कार्यक्षेत्रभित्र स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित हुन नदिएको उहाँ बताउनुहुन्छ।
आफूले आफ्नो कामको प्रचार गर्नका लागि भन्दा पनि बाटो अप्ठेरो भएर कठिन भएको कुरा यहाँका जनप्रतिनिधिहरुलाई देखाउन फेसकुबमा फोटो हालेको लिलाको भनाइ छ।
‘मैले मेरो पर्सनालिटी प्रचार गर्न भन्दा पनि पहिरोले बाटो बिग्रिएर समस्या छ। जनप्रतिनिधिले आएर हेरिदिनु पर्यो भनेर हालेकी हुँ’ उहाँ सुनाउनुहुन्छ।
लिलाका श्रीमान सहकारीका प्रबन्धक हुनुहुन्छ। सेवाको काममा श्रीमानबाट पूर्ण साथ रहेको उहाँले जानकारी दिनुभयो। फेसबुकमा फोटो राखेपछि केहीले फोन गरेर धेरै राम्रो काम गर्नुभएछ। भनेर फोन गरेको लिलाले बताउनु भयो।
वृद्धाहरुलाई गाविसमा बोलाएर सम्मान गर्न भन्दा पनि उहाँहरुको घरमा गएर के कस्तो अवस्था छ भनेर बुझ्ने काम जनप्रतिनिधिले गर्नुपर्ने स्वास्थ्य स्वयंसेविका लिलाको भनाइ छ।
सम्मानका लागि वडा कार्यालयमा बोलाउँदा बाटोकै कारणले आउन नसक्ने वृद्धवृद्धाहरू भएकाले त्यसमा ध्यान दिन भनेको उहाँ बताउनुहुन्छ।
केदार गौतम
तपाईँको अभिमत