ललितपुरका सुंगुर /बंगुरमा अफ्रिकन स्वाईन फिवर पुष्टि
६० वटा सुंगुर /बंगुर मरे
ललितपुर महानगरपालिकामा सुंगुर/बंगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाईन फिवर देखा परेको छ । केन्द्रिय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पिसिआर परीक्षणबाट ललितपुर महानगरपालिका वडा नं २२ चुनिखेल, नख्खु करीडोरमा किसानले पालेका सुंगुर बंगुरमा २०८१ कार्तिक २५ गते अफ्रिकन स्वाईन फिवर पुष्टि भएको महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरका शाखा प्रमुख राजेन्द्र विष्टले करीब एक साता अगाडि देखि चुनिखेल, नख्खु वरपर नदि किनारामा पालिएका सुंगुर /बंगुर बिरामी परेपछि नमुना परीक्षणका लागि पशु रोग अन्वेषण प्रयोगशाला पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार यो रोगका कारण हालसम्म ६० वटा सुंगुर / बंगुर मरेको रिपोर्ट भएको छ ।
‘अन्य क्षेत्रमा सतर्कता अपनाउन हामीले सूचना जारी गरेका हौं, ’उहाँले भन्नुभयो- ‘हामीले संक्रमण स्थानको निरीक्षण गरि जैविक सुरक्षाका विधिहरु अपनाउन भनेका छौं । ’
करीब डेढ वर्ष अगाडि देशका विभिन्न स्थानका सुंगुर /बंगुरमा यो रोग देखिएको थियो र कृषकले ठूलो क्षति व्यहोर्न परेको थियो । त्यतिबेला ललितपुरमा मात्रै झण्डै १ हजार २ हजार सुंगुर /बंगुर मरेका थिए ।
बंगुर पालिएको खोर र फर्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका नि संक्रमणका औषधिहरु प्रयोग गर्न, रोगको शंका लागेका पशुहरुमा बथानबाट छुट्टाएर अलग्गै राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न वा जलाउन, घरपालुवा सुंगुर /बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिन ललितपुर महानगरले सूचित गरेको छ ।
सुंगुर / बंगुर तथा बदेललाई होटेल रेष्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने तयारी दाना बाहेक अन्य आहारा खुवाउन परेमा राम्ररी पकाएर मात्र खुवाउन अनुरोध गरिएको छ ।
ललितपुर महानगरपालिका पशु विभागमा कार्यरत पशु चिकित्सक डा.रामचन्द्र सञ्जेलका अनुसार यो रोग पशुबाट मानिसमा सर्दैन । संक्रमित सुंगुर /बुंगुरबाट सोही प्रजातीमा सर्ने गर्दछ । अफ्रिकन स्वाईन फिवर उच्च मृत्युदर भएको संक्रामक रोग हो । यो रोग लाग्दा उच्च ज्वरो (१०४- १०७डिग्री फरेनहाइट ) आउने गर्छ । सुंगुर /बुंगुरखाना नखाने, बान्ता गर्ने लगायतको लक्षण देखिन्छ । यो रोगको उपचार नभएकाले संक्रमित सुंगुर /बुंगुरलाई जोगाउन मुस्किल पर्छ । विश्वमा यो रोग विरुद्धको खोप बनेको छैन ।
यो रोगको संक्रमण हुँदा कान, पुच्छर, पेटको तल्लो भागको छालामा निलो रातो डाबर देखिन्छ । यो रोग अस्फारभीरीडाई फेमिलि ग्रुपको भाइरसका कारण लाग्ने गर्दछ । यो रोगको संक्रमण कुनै पनि बेला देखिनसक्ने डा.सञ्जेलले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत