स्वास्थ्य जनशक्ति योग्य हुने कुरा व्यक्तिको निजी विषय होइन : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य जनशक्ति योग्य र थप सक्षम हुने कुरा व्यक्तिगत नभई राज्यकै विकास भएको बताउनुभयो । शनिबार राजधानीमा कोर्डियोथोरासिक भास्कुलुर नर्सेज समाज नेपालले आयोजना गरेको पहिलो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
‘स्वास्थ्य जनशक्ति योग्य हुने विषय व्यक्तिगत वृत्तिविकास मात्र होइन, यो राज्य तथा देशकै स्वास्थ्य सेवा विस्तारित हुने कुरा हो’, उहाँले भन्नुभयो, ‘त्यसैले राज्यले स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमतालाई अभिवृद्धि गर्न लगानी गर्नुपर्छ ।’ उहाँले स्वास्थ्य क्षेत्रका विभिन्न विधाका जनशक्तिलाई एक–अर्कोमा क्षमता अभिवृद्धि गर्न जरुरी भएको पनि बताउनुभयो ।
विधागत क्षमता एक–अर्कामा तालिम दिएर विकास गर्नुपर्ने उहाँको भनाइ थियो । यसले जनशक्ति अभाव तथा राज्यको स्वास्थ्य सेवामै थप सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सेवामूलक कार्य भएपनि सेवा दिनले गुजारा नै नहुने गरी सेवा दिन नसक्नेसमेत बताउनुभयो । यसका लागि राज्य र सरोकारवालाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नयाँ आर्थिक वर्षमा मुटु उपचार केन्द्रहरू विस्तार गर्ने योजना ल्याइएको भन्दै सातै प्रदेशमा विस्तार गरिने जानकारी गराउनुभयो । यसका लागि थप तीन प्रदेशमा मुटु उपचारसँग सम्बन्धित मेसिन तथा उपचार यन्त्रहरू खरिद गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
समाजकी अध्यक्ष जमुना ताम्राकार सायमीले नेपालमा स्रोतको अभावबीच नर्सहरूले उत्कृष्ट सेवा दिँदै आइरहेको बताउनुभयो । मुटुरोग उपचारमा भइरहेका अभ्यास तथा वैज्ञानिक खोजहरूकाबारे जानकारी आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उहाँको भनाइ थियो । त्यस्तै मुटुरोग उपचारमा नर्सहरूको भूमिका बुझाउन पनि सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।
समाज मुटुरोगसँग सम्बन्धित सेवामा कार्यरत तथा त्यस सेवामा अनुभव हासिल गरेका नर्सहरूको संस्था हो । यसले विभिन्न सामाजिक सेवाका साथै विशेषगरी मुटुरोगसँग सम्बन्धित उपचारमा नर्सहरूको क्षमता अभिवृद्धिमा कार्य गर्दै आइरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत