अमेरिकामा नेपाली डाक्टर, नेपाली बिरामी : पाइन्छ आफ्नोपन (भिडियो)

अमेरिकाको उत्तरी भर्जिनियामा हिमालयन फ्री क्लिनिक स्थापना गरिएपछि नेपाली आप्रवासीहरूको उपचारमा सहज भएको छ ।
आर्थिक कठिनाइ झेलिरहेका तथा स्वास्थ्य बीमाबाट वञ्चित नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको यस क्लिनिकले अमेरिकामा रहेका नेपाली समुदायलाई महत्त्वपूर्ण सहयोग पुर्याइरहेको छ ।
नेपाली समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सन् २०२२ मा स्थापित यस क्लिनिकबाट नेपालीहरूले प्रत्येक महिना निशुल्क उपचार पाइरहेका छन् ।
नेपाली चिकित्सक र नर्सहरूको नेतृत्व तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरूको सामूहिक र आत्मीय प्रयासबाट सुरु भएको यो क्लिनिकमा नेपाली डाक्टर, नर्स एवं अन्य पेशाका गरि ३६ जना स्वयमसेवक आवद्ध रहेका छन् ।
क्लिनिककी कार्यकारी निर्देशक रजिष्टर्ड नर्स मञ्जुकार्की संग्रौलाले स्वास्थ्य बीमाबाट वञ्चित नेपालीहरूलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले क्लिनिकको स्थापना गरिएको जानकारी दिनुभयो ।
नेपाली डाक्टर, नर्ससँग आफ्नै भाषामा आफ्नो स्वास्थ्य समस्या बताएर उपचार पाउँदा डाक्टर र नर्स, बिरामी खुशी हुने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार प्रत्येक महिनाको पहिलो शनिवार सञ्चालन हुने फ्रि क्लिनिकमा नियमित स्वास्थ्य परीक्षणदेखि दीर्घरोग व्यवस्थापन, मानसिक स्वास्थ्य परामर्श र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छन् ।
नेपाली चिकित्सक, नर्स तथा विभिन्न पेशामा आबद्ध ३६ जना स्वयंसेवकहरूको सामूहिक प्रयासबाट सञ्चालित यस क्लिनिकमा उपचारसँगै आत्मीयता, माया र समझदारीको अनुभूति गर्न पाइन्छ ।
’स्वास्थ्य सेवा सबैका लागि हो’ भन्ने दृढ अठोटसहित ’तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता’ भन्ने भाव बोकेको यो अभियानले छोटो अवधिमै सयौं आर्थिक कठिनाइ झेलिरहेका र स्वास्थ्य बीमाबाट वञ्चित नेपाली आप्रवासीहरूको उपचार गरेर समुदायभित्र ठूलो राहत र एकताको भावना जगाएको क्लिनिककी स्वयंमसेवक एवं रजिष्टर्ड नर्स मिना पाण्डे बताउनुहुन्छ ।
आफ्नै भाषामा आफ्नै स्वास्थ्यकर्मीसँग मनको कुरा गर्न पाउँदा बिरामीको अनुहारमा मुस्कान त छाउँछ नै, हामी चिकित्सक र नर्सहरू पनि नेपाली दाजुभाइ–दिदीबहिनीको सेवा गर्न पाउँदा निकै खुसी र गौरवान्वित हुन्छौँ,” हिमालयन फ्री क्लिनिकका स्वयंसेवक तथा इनोभा हस्पिटल फेयरफ्याक्सस्थित किड्नी ट्रान्सप्लान्ट कार्यक्रमका मेडिकल डाइरेक्टर, वरिष्ठ युरोलोजिष्ट डा. अनिल रेग्मी भन्नुहुन्छ ।
यो अभियानले प्रवासमा पनि नेपालीपनको अनुभूति फैलाउँदै नेपाली समुदायलाई भावनात्मक रूपमा जोड्न प्रयत्न गरिरहेको छ । क्लिनिकका स्वयंसेवक तथा अर्थशास्त्री प्रेम संग्रौलाले यस अभियानले प्रवासी नेपालीहरूबीच सेवा, सहयोग र आत्मीयताको अनुपम उदाहरण प्रस्तुत गरेको बताउनुहुन्छ ।
अमेरिकास्थित नेपाली दुतावासका अनुसार अमेरिकामा करीब अढाई लाख नेपाली बसोबास गरिरहेका छन् । यद्यपी धेरै नेपाली तथ्यांक बाहिर रहेकाले ५ लाख भन्दा बढी अमेरिकामा रहेको आँकलन छ । उत्तरी भर्जिनियामा ५० हजारभन्दा बढी नेपाली रहेको बताइएको छ ।



तपाईँको अभिमत