मङ्कीपक्स उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकिए
नेपालमा पहिलो पटक मङ्कीपक्स ( एमपक्स) भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालामा १४ जनालाई फोकल पर्सन तोकेको छ । मङ्कीपक्स भेटिएकोबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको छ ।
यसैगरी मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ ।
कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन मन्त्रालयले अनुरोध गरेको छ ।
मंकीपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने सरुवा रोग हो। विदेशबाट नेपाल आउनुभएकी एक ६० वर्षकी विदेशी महिलामा यो रोगको संक्रमण देखिएको छ। मंकीपक्स विश्वमा १११ देशमा फैलिसकेको छ।
यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।
विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।
कसरी सर्छ ?
एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा,बिबिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ ९जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
लक्षण
एमपक्स संक्रमण हुँदा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।
रोकथाम
यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्नुपर्दछ ।
संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत