वीर अस्पतालका कर्मचारी नेतालाई ५० लाखको तनाव, मदिरा पिएर दिउँसै बबाल
कार्यालय समयमै मदिरा सेवन गरी होहल्ला गर्ने वीर अस्पतालका कर्मचारी पक्राउ परेका छन् । छैटौँ तह अहेब पदमा कार्यरत दीपक मुडभरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
नेपाली कांग्रेसनिकट कर्मचारीका नेता समेत रहेका मुडभरी वीर अस्पताल कर्मचारी युनियनका सचिव हुन्। खटाएको काम नगर्ने र राजनीति मात्रै गर्ने गरेको आरोप उनीमाथि छ ।
वीर अस्पतालका एक कर्मचारीले दिएको जानकारी अनुसार मुडभरीले कार्यालय समयमा मदिरा सेवन गर्नु सामान्य हो । अन्य दिनमा पनि उनी कार्यालय समयमै मदिरा सेवन गरी झ्याप हुने गरेका थिए । आज भने कर्मचारी युनियनको कोठामा आएर धेरै हल्लाखल्ला गरेपछि प्रहरी बोलाएर जिम्मा लगाइएको हो ।
अस्पताल प्रशासनले खबर गरेपछि दिउँसो ३ बजेतिर महानगरीय प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको थियो । अस्पतालले खबर गरेपछि प्रहरीले कार्यालयमा लिएर आएको प्रहरीको भनाइ छ।
प्रहरी नियन्त्रणमा रहेका मुडभरीलाई स्वास्थ्य परीक्षण गरेर परिवारका सदस्यको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ।
अहिले राति साढे ९ बजे जनसेवाका ड्युटी अफिसरले दिएको जानकारी अनुसार केहीबेर अघि मात्रै उनलाई प्रहरी कार्यालयबाट छाडिएको छ।
वीर अस्पतालका एक अधिकारीले दिएको जानकारी अनुसार मुडभरी अस्पताल प्रशासनले खटाएको ठाउँमा हाजिरी गर्न समेत गएका छैनन् । करिब २ महिनाअघि नै उनलाई दुवाकोटस्थित वीर अस्पतालले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य केन्द्रमा खटाइएको थियो ।
तर अहिलेसम्म उनी त्यहाँ गएका छैनन् । ‘खटाएको जिम्मेवारीमा नजाने, उल्टै रक्सी पिएर बबाल गर्न मिल्छ ?’ वीर अस्पतालका एक कर्मचारी भन्छन् ।
पुरानो मुद्दाले तनाव
उनी जोडिएको एक पुरानो केसका कारण समेत मुडभरी तनावमा भएको उनीबारे राम्रो जानकारी राख्ने अस्पतालका एक कर्मचारीले सुनाए।
२०७१ सालमा एमडी अध्ययनका लागि न्याम्समा प्रवेश परीक्षा दिएका एक डाक्टरसँग पैसा लिएको विषयमा मुडभरी जोडिएका थिए ।
मुडभरीसहित ४ जनाको मिलेमतोमा डा.मनोजकुमार साहबाट ५५ लाख लिएको खुलेको थियो ।
साहले २०७१ सालमा एमडी अध्ययनका लागि न्याम्समा प्रवेश परीक्षा दिएका थिए। अनुतीर्ण भएका शाहसँग मुडभरीको टिमले ५५ लाख लिएको पुष्टि भएको थियो । ठगिएका शाहले प्रहरीमा उजुरी दिएपछि प्रहरीले पैसा लिने दिपक मुडभरी र बिचौलियाको काम गर्ने अन्य दुई जनालाई २०७१ माघमा पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरी जेल सजायँ तोकेपछि मुडभरी जेलमा समेत परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०७३ जेठ ३२ गते ५ वर्ष कैद र ७ लाख जरिवाना सुनाएको थियो।
दीपक मुडभरी २०७४ असोजमा उच्च अदालत पाटनले पैसा तिर्ने सर्तमा छाडेपछि जेलबाट छुटेका थिए । ती डाक्टरले भने अहिलेसम्म उक्त पैसा अहिले सम्म पाउन सकेका छैनन् । २०७४ साल कार्तिक १७ गते उच्च अदालत पाटनले पैसा नदिएमा मुडभरीको सम्पतिबाट असुलउपर गर्ने सक्ने फैसला सुनाएको थियो । सोही फैसलाको कार्यान्वयन गर्ने क्रममा अहिले उनको घरजग्गा लिलामीको क्रममा छ ।
नुवाकोट जिल्ला अदालतले पटक–पटक उनको घरजग्गा लिलामका लागि सूचना जारी गरेपनि लिलाम हुन सकेको छैन । अदालतको फैसलाअनुसार मुडभरीले शाहलाई ४५ लाख र सोको १० प्रतिशत ब्याजसमेत तिर्नुपर्ने हुन्छ । करिब ५० लाखमा मुडभरीको जायजेथा लिलामीमा लिन कोही तयार नभएपछि पीडित शाहले अहिलेसम्म रकम पाउन सकेका छैनन् ।
यिनै विभिन्न तनावले पनि उनले पछिल्ला दिनमा दिउँसै मदिरा सेवन गरिरहेको उनका एक सहकर्मीको भनाइ छ।
तपाईँको अभिमत