यी हुन् बालबालिकामा देखिने मानसिक समस्या र लक्षणहरू (भिडियो)
झट्ट हेर्दा सामान्य व्यवहार जस्तो लाग्ने तर मानसिक समस्या
मानसिक स्वास्थ्यको समस्या कुनै पनि उमेर समूहलाई हुनसक्छ । बालबालिका, वृद्धवृद्धा, वयस्क सबैलाई मानसिक स्वास्थ्यकाे समस्या देखिन्छ । कान्तिबाल अस्पतालमा कार्यरत बाल मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार बालबालिकामा उमेर अनुसार मानसिक स्वास्थ्यमा असरहरु फरक - फरक देखिन सक्छन् ।
६ वर्षभन्दा मुनिका बालबालिकाहरुमा न्यूरो डेभलपमेन्टल डिसअर्डर (विकास सम्बन्धि अवस्था) धेरै देखिने उहाँले बताउनुभयाे । ७ देखि ८ वर्षका बालबालिकाहरुमा वयस्कमा देखिने मनोरोग एन्जाइटी, डिप्रेसिप डिसअर्डर, व्यवहार सम्बन्धी समस्या, पठनपाठनमा समस्या, अत्याधिक कडा या गम्भिर मानसिक समस्या साइकोसिस, आत्महत्या सोच जस्ता समस्या बालबालिका र किशोरकिशोरावस्थामा पनि देखिन सक्छ ।
उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोर किशोरीहरुको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ।
वयस्क अवस्थामा हुने डिप्रेसिभ डिसअर्डरको तुलनामा, बालबालिकामा चिडचिडापन, चकचक, धेरै रिसाउने जस्ता समस्या देखिने गरेकाे उहाँ बताउनुहुन्छ ।
झट्ट हेर्दा सामान्य व्यवहार जस्तो लाग्ने तर मानसिक समस्या
बालबालिकाहरुमा एन्जाइटी डिसअर्डरकाे समस्या पनि धेरै हुन्छ । कान्ति बाल अस्पतालको मनोरोग विभागमा जचाउन ल्याइने बालबालिकामध्ये झण्डै ५० प्रतिशत बालबालिका ६ वर्षमुनिका हुने र धेरैजसोमा यिनै समस्या देखिने कार्कीले जानकारी दिनुभयाे ।
उनीहरुमा बोली विकासमा ढिलाइ, आत्तिने, डरसम्बन्धि, रिसाउने, चिडचिडाहापन, भनेको नमान्ने लगायतका समस्या देखिएर अभिभावहरुले ल्याउने गरेका छन् । बालबालिकाहरुमा यी लक्षणहरु झट्ट हेर्दा सामान्य व्यवहार जस्तो लाग्नेपनि याे असामान्य रहेकाे उहाँको भनाइ छ ।
६ वर्षमुनिका बालबालिकामा देखिने समस्यामध्ये अत्याधिक चकचके, पालो कुर्न नसक्ने स्थिर नहुने (एडीएचडी) जस्ता धेरै देखिन्छ । एडीएचडी जन्मजात हुन्छ तर यसको लक्षण ३, ४, ५ वर्षकाे उमेरमा देखिन्छ । साथै उनीहरुमा अटिजम पनि देखिन्छ । याे पनि जन्मजातनै हुन्छ । तर यसकाे लक्षण भने डेढ देखि २ वर्षदेखि मात्रै पहिचान हुन्छ ।
‘चकचक गर्ने, भनेको नटेर्ने लक्षण प्राय बालबालिकामा हुन्छ तर घरमा मात्र सिमित छ की, बाहिर पनि उस्तै व्यवहार देखाउछर यसले उसको दैनिक गतिविधिमा असर गर्याेकी भन्ने कुरामा अभिभावकहरु सचेत हुनपर्छ,’कार्कीले भन्नुभयो, यस्तो अवस्थामा अभिभावहरुले मनोचिकित्सक समक्ष जचाउँन लैजानपर्छ ।
मनोरोगका कारण तथा लक्षणहरु
जैविक कारण - (न्युरोट्रान्समिटरको असन्तुलन) याे जन्मजात देखिने समस्या हाे । याे समस्या परिवारका कुनै सदस्यमा देखिएमा आउने पुस्ताहरुमा पनि देखिन सक्छ । बच्चा जन्मिदानै ढिलो बोल्ने र अटीजमको वंशाणुगत (परिवारमा कसैलाई उदासिनता भएमा) ।
मनोवैज्ञानिक कारण - बच्चाको स्वभाव कस्तो छ? सानो - सानो कुरामा चित्त दुखाउँछ, आत्तिन्छ, लजाउँछ,समाजमा कसरी घुलमिल भइरहेको छ भन्ने विषय महत्वपूर्ण रहन्छ । यी कुराहरुमा अभिभावहरुले ध्यान दिनपर्छ ।
वातावरणीय र सामाजिक कारण - यस अन्तर्गत बच्चाको वरिपरिको वातावरण भन्ने बुझ्नपर्छ । घरको नकारात्मक वातावरण, विद्यालयमा साथीहरुले हेप्ने, होच्याउने, गिज्याउने, शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, दुर्व्यवहार भावनात्मक विषयहरु वातावरणीय र सामाजिक कारणमा पर्दछन् ।
उपचार
बोली र भाषाको विकासमा मात्रै ढिलाइ भएको हो भने त्यसकाे उपचार हुन्छ । उनीहरुलाई स्पिच थेरापी गरे पुरा निको हुन्छ र उनीहरु बोल्न सक्ने हुनसक्छन् । तर बौद्धिक विकास या क्षमतामा ह्रास आएकाे छ भने त्याे पूर्णरुपमा निको हुँदैन तर समस्यालाई कम गराउँदै लैजान सकिन्छ ।
एडीएचडीको समस्या भएका बालबालिकाहरुकाे उपचार औषधि, मेडिकेसन या परामर्शबाट गर्न सकिन्छ । याे शतप्रतिशत निको हुन्छ ।
बालबालिकामा देखिने मानसिक स्वास्थ्य समस्याबारे बालमनोचिकित्सक डा. उत्कर्ष कार्कीसँग गरिएको कुराकानी भिडियोमा ।
हेल्थपाटी
तपाईँको अभिमत