कोरोना रिपोर्ट नेगेटिभ तर अहेब भरतको ज्यान गयो, २४ घण्टा टिकेन खुसी
कैलाली । कोरोना संक्रमण भई उपचाररत रहेका एक अहेबको कोरोना रिपोर्ट नेगेटिभ आएकै दिन मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई बैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहेब योगीले धनगढी बजार भन्दा नजिकै बेली भन्ने स्थानमा मेडिकल सञ्चालन गर्दै आउनु भएको थियो । त्यो ठाउँ अलि गाउँ क्षेत्र पर्छ । उहाँका आफन्तले दिएको जानकारी अनुसार त्यहाँ कोरोनासँगै मिल्दा लक्षण भएका धेरै बिरामी योगीको मेडिकलमा आएर जाँच गरी औषधि लिएर जान्थे ।
करिब २ साता अगाडि उहाँलाई खाना नरुच्ने लगायतका समस्या देखिएको थियो ।२–३ दिनजति त्यो समस्या देखिएपछि धनगढी बजार आएर अहेब योगी आफैँले एक मेडिकलमा अक्सिजन लेभल परीक्षण गराउनु भएको थियो ।
त्यसमा अक्सिजन लेभल ६७ देखाएपछि उहाँ तत्काल धनगढीकै सेती प्रादेशिक अस्पताल भर्ना हुनभएको थियो । परीक्षण गर्दा कोरोना संक्रमण देखियो । दोस्रो पटक पिसिआर परीक्षण गर्दा हिजो बिहान मात्रै उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि परिवार, आफन्तमा खुसीयाली छायो । तर परिवार र आफन्तको यो खुसी २४ घण्टा पनि टिक्न पाएन ।
गएराति १२ बजेतिर उहाँको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ ।
कोरोना भएर निमोनियाले ग्रस्त भइसकेपछि अस्पताल आएकाले बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताउनु भएको छ । कोरोनाले निमोनिया गराएर च्यापिसकेपछि रिपोर्ट पोजेटिभ वा नेगेटिभ आउनुले खासै अर्थ नराख्ने उहाँहरुको भनाइ छ ।
भरतले मेडिकलमा आएका बिरामी जाँच्ने क्रममा स्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कतामा राम्रो ध्यान नदिँदा संक्रमित भएको र यस्तो दुर्दशा भोग्नु परेको उहाँका परिवारको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत