महिनावारीको विषयलाई राष्ट्रियकरण गर्नुपर्नेमा उपसभामुखको जोड
उपसभामुख इन्दिरा राना मगरले महिनावारीको विषयलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले महिनावारी विभेदलाई तोड्नुपर्ने बताउनुभएको हो ।
महिनावारी विभेद अन्त्य गर्न महिलामात्र सजग भएर नपुग्ने बताउदै उहाँले यो अभियानमा पुरुषहरुले पनि साथ दिनुपर्ने बताउनुभयो । उहाँले छोरा र छोरीको विभेद अन्त्य गर्न सके मात्रै पनि महिलाहरुले भोग्नुपर्ने विभेदको अन्त्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको सहज उपलब्धता गराउन सरकारलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक स्थल, विद्यालयहरुमा पनि सहज रुपमा सेनेटरी प्याड नपाएको सुनिन्छ अन्तको त कुरै छोडौ संसद भवनकै महिला शौचालयमा पनि सेनेटरी प्याड नभएको गुनासो आउछ । महिला सांसदहरुले गुनासो लिएर आउनुभयो मैले प्याडको व्यवस्था गर्न निर्देशन पनि दिइसकेँ ।’
उहाँले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह समेत गर्नुभयो । राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालका संयोजक गुणराज श्रेष्ठले २०१९ को तथ्याङ्क अनुसार नेपालको महिलाको कुल जनसंख्या मध्ये २ दशमलव ९ प्रतिशत जनसंख्या महिनावारीको समयमा छाउगोठमा बस्न बाध्य भएको जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार २ दशमलव ३ प्रतिशत महिला गाइगोठमा बस्नेगरेको अध्ययनले देखाएको छ । यस्तै २ दशमलव ८ प्रतिशत महिलाहरुले महिनावारीको समयमा खानेकुरा समेत बार्ने गरेको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।
यस्तै २ दशमलव ३ प्रतिशत महिला महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै २५ प्रतिशत महिलाहरु महिनावारी हुँदाको समयमा छुट्टै कोठामा बस्ने गरेको देखाएको छ । यस्तै ८ दशमलव ८ प्रतिशत जनसंख्याले महिनावारी हुँदा छुटै बाथरुम प्रयोग गर्ने देखाएको छ भने ५७ दशमलव ६ प्रतिशत महिलाहरुले महिनावारीको समयमा धार्मिक तथा सामाजिक कार्यमा प्रतिबन्ध खेप्नुपरेको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।
तपाईँको अभिमत