मदिराको लत लागेका व्यक्तिलाई सहानुभूति देखाएर उपचार गर्नुपर्छ (भिडियो)
मदिराको लत पनि डिप्रेसन, एन्जाइटीजस्तै मानसिक समस्या रहेको मनोचिकित्सक डा.अमित झा बताउनुहुन्छ। मदिराको लत लागेका व्यक्तिलाई पनि अन्य मानसिक समस्या भएको व्यक्तिलाई जस्तै सहानुभूति देखाएर उपचार गर्नुपर्ने डा.झाको भनाइ छ।
मदिराको लत भएका व्यक्तिलाई त्यसबाट मुक्त गराउन परामर्श र औषधि दिएर उपचार गरिने हेल्थपाटीसँगको कुराकानीमा डा.झाले जानकारी दिनुभयो।
बाल तथा किशोर किशोरी मनोचिकित्सक डा.झाका अनुसार कसैलाई मदिराको लत लागेको कुरा निश्चित गर्न केही मापदण्डहरु छन्।
–एउटा डिपेन्डेन्ट्स भन्ने हुन्छ। लत लागेका व्यक्तिले मदिराको मात्रा बढाउँदै जान्छ। जस्तो-हिजोको दिनमा एक प्याक मदिराले पुग्छ भने, आज त्यतिले नपुग्न सक्छ। बिस्तारै मात्रा बढिरहेको हुन्छ।
–मदिरा सेवन गर्न पाएन भने विभिन्न शारीरिक लक्षण देखिन थाल्छन्। छटपटी हुने, निद्रा कम लाग्ने, मुटु ढुकढुक हुने, अनुहार रातो हुने, पसिना आउने यिनीहरुलाई विथड्रल फिचर्स भन्छन्।
अर्काे लक्षण भनेको तलतल लाग्ने हुन्छ, खान पाइएन भने त्यसलाई नै खोजिराख्ने, बाटोमा हिँड्दा पनि कतै मदिराको पसल छ कि भनेर ध्यान त्यतै हुने, कतै मदिरा पसल देख्यो भने खाउँखाउँ लाग्ने यसलाई क्रेभिङ भनिन्छ।
लत लागेका व्यक्तिले आफूलाई मदिरा धेरै भइरहेको र कम गर्नुपर्छ भन्ने कुरा सोचिरहने डा.झा बताउनुहुन्छ।
यी सबै कुरा एक वर्ष वा सो भन्दा बढी समयदेखि भइरहेको छ भने उसलाई मदिराको लत वा अल्कोहल डिपेन्डेन्ट्स सिन्ड्रोम भएको मानिन्छ।
मदिराको लत हटाउन उपचार कसरी हुन्छ त ?
डिप्रेसन र एन्जाइटीको जस्तै म अल्कोहल डिपेन्डेन्ट्स सिन्ड्रोमको पनि उपचार हुने डा.झाले जानकारी दिनुभयो।
यसका लागि परामर्श पनि हुन्छ। औषधि उपचार पनि हुन्छ। डिप्रेसन, एन्जाइटीका बिरामीलाई हामीले जसरी सहानुभूति देखाउँछौँ मदिराको लत भएका व्यक्तिलाई पनि त्यही खालको सहानुभूति देखाउनुपर्ने भएपनि व्यवहारमा त्यो नदेखिएको उहाँ बताउनुहुन्छ।
लत छाड्न चाहने व्यक्ति उपचारका लागि आएपछि सुरुमा त्यसबाट हुने हानीबारे सचेत गराइने डा.झाले जानकारी दिनुभयो। 'स्वास्थ्यमा हुने हानी , परिवारमा हुने हानी, अरु के-केमा हानी हुन्छ त्यो बुझाउने' डा.झाले भन्नुभयो।
मदिराको लत भएको व्यक्तिलाई एकै पटक मदिरा छाड्यो माथि उल्लेख गरिएजस्तै 'वीथड्रल फिचर्स' को समस्या आउने भएकाले त्यो नहुने औषधि दिनपर्ने उहाँले जानकारी दिनुभयो।
'त्यसलाई व्यवस्थापन गर्न बेजोडाइविपेन दिन्छौँ। यो भनेको एक खालको औषधिको प्रकार हो' डा.झा भन्नुहुन्छ, '७ दिन १० दिनसम्म यही औषधि दिइन्छ। सुरुमा धेरै मात्रा दिने र बिस्तारै घटाउँदै जाने गर्छौँ। डोज कति दिने भन्ने कुरा बिरामीले मदिरा कुन मात्रामा लिइरहेको छ त्यो आधारमा हुन्छ।'
उहाँका अनुसार मदिरा लिइराख्ने मान्छेलाई भिटामिन बी १ को कमी हुन्छ। यो पूर्ति गर्नका लागि भिटामिन बी खानुपर्छ। मदिरा लिने मान्छेलाई प्राय यास्ट्राइटिस हुन्छ, त्यसका लागि औषधि पनि ५-७ दिनसम्म औषधि लिनुपर्छ।
'१० दिनसम्म सबै कुरा गरेपछि हामी अप्सन दिन्छौँ' डा.झाले सुनाउनुभयो, 'एउटा औषधि हुन्छ। जसलाई डाइसल्फीराम भनिन्छ। डाइसल्फीरामले औषधिले के गर्छ भने, यो औषधि खाएपछि त्यसमा मदिरा लियो भने एलर्जिक प्रतिक्रिया देखाउँछ।
शरीरमा छलपटी हुने श्वास बढ्ने जस्ता लक्षण देखिन्छ। यो औषधि लिइरहेको छ भने मानिसले स्वास्थ्यमा गलत प्रतिक्रिया देखाउछ भन्ने डरले मदिरा लिँदैन।'
यो औषधि एक वर्षसम्म दिइने उहाँले जानकारी दिनुभयो। एक वर्षसम्म औषधि लिइराख्यो, थेरापीमा आइराख्यो भने दोस्रो वर्षदेखि मदिरा सेवन गर्ने सम्भावना कम हुने डा.झाको भनाइ छ।
तलतल लाग्ने बानी नै कम गर्नका लागि भने त्यति राम्रो औषधि नभएको उहाँले सुनाउनुभयो।
'दुई, तीन वटा औषधि छन्। तिनीहरुले तलतललाई केही कमी गर्छ तर त्यति राम्रोसँग तलतल कम गर्दैन। चुरोटको तलतल कम गर्न पनि त्यति राम्रो औषधि छैन। परामर्श, औषधि र सँगैसँगै प्रेरणाले पनि लत छाड्न उपचार गरिन्छ' डा.झाले भन्नुभयो।
तनाव कम गर्ने भनेर मदिरा लिनु गलत बाटो भएको डा.झाले बताउनुभयो। तनावका कारण डिप्रेसन एन्जाइटी, साइकोसिस भए जस्तै यस्ता नसालु पर्दाथको लतमा फसेर मानसिक रोगी हुनसक्ने उहाँको भनाइ छ।
अल्कोहलले अस्थायी रुपमा मात्रै तनाव कमगर्ने भएकाले तनावको दीर्घकालीन समाधानमा लाग्ने उहाँको सुझाव छ। 'अल्कोहल लिँदा तनावलाई केही घण्टा त छल्न सकियो तर फेरि तनाव सुरु हुन्छ' डा.झा भन्नुहुन्छ, 'अल्कोहल लिएर तनाव कम गर्ने भन्दा पनि तनावको स्थायी समाधान तिर लाग्नुपर्छ। बिहानै उठ्ने, शारीरिक व्यायाम गर्ने, पोषिलो खानेकुा खाने, तनावक कम गनैकै लागि शारीरिक अभ्यास हुन्छ।'
आफूलाई भएको तनावबारे साथीभाइ, आफन्त, परिवासँग तनावलाई कसरी व्यवस्थापन गर्ने भनेर सल्लाह गर्दा राम्रो हुने डा.झा बताउनुहुन्छ । 'तनाव कम गर्ने सकारात्मक उपायतिर लाग्नुपर्छ। नत्र तनाव कम गर्न भन्दै आज पनि मदिरा लिने भोलि पनि लिने हुँदा लागू पदार्थको लतमा परिन्छ।'

हेल्थपाटी 
तपाईँको अभिमत