स्वास्थ्यकर्मीलाई कठालो समातेर लछारपछार गरेपछि टोखामा खोप कार्यक्रम स्थगित
खोपकेन्द्रमा स्वास्थ्यकर्मी माथि आक्रमण
काठमाडौं टोखा नगरपालिकामा कोरोना विरुद्धको खोप भेराेसेलकाे पहिलाे मात्रा लगाउन ३ वटा केन्द्र तोकिएका छन् । टोखामा नगरमा हिजोदेखि भोलिसम्म खोप लगाउने मिति तय भएको छ । तीनवटा खोपकेन्द्रमध्ये ग्राण्डी अस्पताल एक हो । यस अस्पतालमा खोप लगाउन आउनेहरुको चहलपहल विहान ३/ ४ बजेदेखि नै देख्न सकिन्छ ।
आज पनि विहान ३ / ४ बजेदेखि नै उक्त अस्पतालमा खोप लगाउन टोकन लिनेहरुको लाइन सुरु भइसकेको थियो । टोखा नगरपालिकाका खोप फोकल पर्सन हेल्थ असिस्टेन्ट बसन्त गैरे विहान सवा ६ बजे ग्राण्डी पुग्दा करीब दुईसय जना जत्ति लाइनमा थिए । खोपको टोकन विहान ७ बजेदेखि बाँडिन्छ ।
ग्राण्डीमा आज ५० वर्षमाथिका व्यक्ति, चालक सहचालक र शिक्षकका लागि मात्रै खोप लगाउने कार्यक्रम थियो । यो जानकारी ब्यानरमा पनि लेखिएको थियो ।
लाइनमा बसेका सबैले खोप नपाउने भएकाले फोेकल पर्सन गैरेले आज खोपको प्राथमिकतामा पर्नुभएका व्यक्तिहरुमात्रै परिचपपत्र लिएर लाइनमा बस्नुहोला, अन्य महानुभावहरु लाइनमा बसेर भीड नगरिदिनुहोला, लक्षित वर्गभन्दा बाहिरका कसैले पनि टोकन पाउनुहुन्न दुख पाउनुहोला भन्दै हुनुन्थ्यो , पछाडिबाट एक व्यक्तिले एक्कासी कठालो समातेर के भनिस् रे ? बढी बोल्छस् ? तँ को हो भनेर दुर्व्यवहार गरे ।
स्वास्थ्यकर्मी गैरेलाई दुव्यवहार गर्ने व्यक्ति स्थानीय रामकाजी थापा हुनुन्थ्यो । ४८ वर्षका उहाँसँग अरु ७/ ८ जनाकाे समूह थिए, लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुले खोप नपाउने बताएलगत्तै दुर्व्यवहारमा पर्नुभएका गैरेले आफुले भागेर ज्यान जोगाएको हेल्थपाटीलाई बताउनुभयो । यो घटना शनिबार (आज) विहान करीब सवा ६ बजेको हो ।
‘म विहान चियासमेत नखाइ खोपकेन्द्र पुगेको थिँए, मैले यसअघि पनि लक्षित समुहमात्रै लाइनमा बस्नुहोला भन्ने गर्थेँ, आज पनि ब्यानरमा लेखिएका अनुसारको लक्षित समूहमात्रै लाइनमा बसिदिनुहोला भन्दै थिए मलाई कठालो समातेर हुत्ताइयो,’ गैरेले भन्नुभयाे ।
‘हामीलाई काम गर्न डर भयो हुल बाँधेर आक्रमण गर्न थालेपछि म भागे र प्रहरीलाई फोन गरेँ, ’ गैरेले सुनाउनुभयो । रामकाजी थापा अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ । तर रामकाजी आफुलाई नभई अरु व्यक्तिलाई खोप लगाइदिन त्यहाँ पुग्नु भएको खुल्न आएको छ ।
थापाले गत साउन ७ गते ग्राण्डीमा नै जोनसनको खोप लगाइसक्नु भएको छ । उहाँले ११०१८७०५ व्याच नम्वरको जाेनसनकाे खोप लगाउनु भएको रेकर्ड खोप तालिकामा देखिन्छ ।
एक स्थानियका अनुसार थापाले आज प्राथमिकतामा नपरेका केही व्यक्तिहरुलाई खोप लगाउन त्यहाँ ल्याउनु भएको थियो । उक्त घटनापछि खोपकेन्द्रमा हो हल्ला मच्चियो र खोपका लागि खटिएका स्वास्थ्यकर्मीहरुले असुरक्षाको महसुस गर्दै खोप कार्यक्रम स्थगित गरेका छन् ।
ग्राण्डीमा मात्रै नभई टोखाका ३ वटै खोप केन्द्रमा खोप कार्यक्रम रोकिएको छ । स्वास्थ्यकर्मीले दोषीलाई कारबाही गर्नुपर्ने र सरकारले आफुहरुको सुरक्षाका ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ । काठमाडौं जिल्लामा पनि उमेर समूहअनुसार खोपको प्राथमिकता निर्धारण गरि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम चलिरहेको छ । खोप केन्द्रमा भीड नहोस् भन्नाका लागि वडा - वडामा खोप केन्द्रको व्यवस्था मिलाइएको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत