पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १७ प्रतिशत उत्तीर्ण, किन भयो कमजोर नतिजा ?
प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ उत्तीर्ण भई लाइसेन्स परीक्षा (नाम दर्ता) मा सफल हुने नर्स निकै कम भएका छन् । लाइसेन्स परीक्षामा १७.४४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।
नेपाल नर्सिङ परिषद्ले १६ देखि १८ कात्तिकसम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७.४४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । यसपटक पीसीएल नर्सिङ परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए । त्यसमध्ये ६०२ जना सहभागी भएका थिए ।
परीक्षामा सहभागीमध्ये १०५ जना मात्रै उत्तीर्ण भएका हुन् ।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१७ जनाले फारम भरे पनि परीक्षाका बेला २१० जना उपस्थित थिए । ती मध्ये ९६ जना मात्रै पास भएका हुन् ।
यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ५६.१८ प्रतिशत उत्तीर्ण भएका छन् । सो परीक्षाका लागि कुल ९८ जनाले फारम भरेका थिए । ती मध्ये ८९ जना परीक्षामा सहभागी भए भने उत्तीर्ण ५० जना मात्रै भएका छन् ।
तर बीएमएस (व्याचलर अफ मिडवाइफ्री) मा भने नतिजा शत प्रतिशत आएको छ । परिषद्का अनुसार परीक्षाका लागि २८ जनाले फारम भरे पनि २७ जना परीक्षामा सहभागी थिए । परीक्षामा सहभागी भएका सबै उत्तीर्ण भएका हुन् ।
किन भयो कमजोर नतिजा ?
कमजोर नतिजा आउनुमा पुराना र धेरै पटक असफल परीक्षार्थी भएका कारण हुनसक्ने काउन्सिल स्रोतले बताएको छ । यसपटकको परीक्षामा फ्रेस विद्यार्थी सहभागी नभएको काउन्सिलले बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत