निःशुल्क उपचार पाएपछि जलनपीडितले स्वास्थ्य मन्त्रीलाई दिए धन्यवाद
बेग्लै वार्ड तथा निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् ।
मन्त्रालयमै पुगेर जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई दिएका हुन् ।
जलनपीडित सांसद कंशाकारले भन्नुभयो, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरें । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले स्वास्थ्य मन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलनपीडितका पक्षमा निर्णय गरिदनुभयो । यहाँलाई धन्यवाद ।’
जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताउनुभयो ।
उहाँले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने धारणा राख्नुभयो ।
तनहुँका श्याममणि आचार्यले आफू जलनको पीडामा हुँदा विगतमा पनि मन्त्री पौडेलले साथ दिएको स्मरण गर्दै अहिले भएको निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताउनुभयो ।
झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महँगो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै पीडितको समस्या देखेको भन्दै भोली कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताउनुभयो ।
उहाँले अब विद्युतका कारण हुने जलनमा विद्युत प्राधिकरणबाट उपचार वा बीमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताउँदै मन्त्री पौडेलले कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्न अनुगमन र नियमन गर्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत