सरकारको पछिल्लो निर्णयले चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई थप तनाव
सबै ठिकठाक भएको भए कपिलवस्तु कृष्णनगरका इमरान अहमद खान यतिबेला कुनै अस्पतालमा बिरामीको उपचार गर्दै हुनुहुने थियो ।
अबको एक वर्ष इन्टर्नशीप गरेपछि उहाँको नाम अगाडि डाक्टर पनि लेखिने थियो । ५ वर्ष चीनमा अध्ययन गर्नुभएका अहमद कोरोना महामारीका कारण अन्तिम वर्षको कोर्ष नगरीकन फर्कनु पर्यो।
चीनमा कोरोना महामारी सुरु भएर जनजीवन आतंकित बनेपछि सरकारले चीनबाट विद्यार्थीलाई उद्धार गरी ल्याएको थियो ।
इमरान लगायत विद्यार्थीलाई नेपाल ल्याउँदा यहाँ कोरोना संक्रमणको एउटा पनि केस थिएन । चीनबाहेकका अन्य मुलुकमा पनि खासै फैलिएको थिएन । त्यसपछि विस्तारै अन्य देशमा पनि महामारी सुरु भयो । नेपालमा पनि फाट्टफुट्ट केस देखिन थाल्यो । चीन–नेपाल नाका बन्द भयो । नेपाल आएका विद्यार्थी चीन फर्कन पाएनन्, पढाइ अलपत्र भयो ।
डाक्टरी पढ्न चीन लगायत अन्य विभिन्न देश गएका करिब ५०० विद्यार्थी नेपालबाट फर्कन पाएनन्। कलेज तथा विश्वविद्यालयमा गई अध्ययनलाई निरन्तरता दिन नपाएपछि उनीहरूको पढाइ यता न उता भयो ।
विदेशमा मात्रै होइन स्वदेशमै चिकित्सा शास्त्र पढिरहेका विद्यार्थीहरूले भौतिक उपस्थितिमा पढ्न नपाएपछि नेपाल मेडिकल काउन्सिलले एउटा सूचना निकाल्यो ।
२०७७ साल बैशाख २३ गते निकालेको उक्त सूचनामा भनिएको थियो, ‘स्वदेश तथा विदेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका तर महामारीका कारण नियमित पढाइ हुन नसकेका विद्यार्थीलाई सम्बन्धित कलेज तथा विश्व विद्यालयले व्यवस्था गरेअनुसार सैद्धान्तिक पढाइ हुन्छ । तर प्रयोगात्मक र अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा अस्पतालमै हाजिर हुनपर्नेछ।’
यो सूचनामा भर परेर चीनमा पढिरहेका सन् २०१५ र २०१६ ब्याचका नेपाली विद्यार्थीहरूले विश्व विद्यालयहरूलाई अनलाइन मार्फत पढाउन आग्रह गरे । ट्युसन फि बुझाएर नेपालबाटै अनलाइन मार्फत बाँकी एक वर्षको पढाइ सक्काएर इन्टर्नका लागि तयारी अवस्थामा बसे । तर काउन्सिलले मंसिर १० गते अर्काे सूचना निकाल्यो । जसले चीनमा एमबीबीएस गरिरहेका विद्यार्थीको भविष्यलाई अन्यौलमा पार्यो ।
झण्डै ८ महिनापछि काउन्सिलले निकालेको त्यो सूचना आफ्नो पुरानो निर्णयसँग बाँझिने खालको थियो ।सूचनाअनुसार इन्टर्नसिपका लागि अनलाइन क्लास मान्य हुने छैन ।

अन्तिम कोर्स अनलाइनमार्फत सक्काएका विद्यार्थीहरूले नेपालकै मेडिकल कलेजमा एक वर्ष पढ्नुपर्ने र त्यसपछि मात्रै इन्टर्नसिप गर्न पाउने जवाफ काउन्सिलले दियो ।
यो निर्णयले विद्यार्थीलाई निकै तनाव दिएको छ ।
काउन्सिलको निर्णयले आफूहरू अन्योलमा परेको र पढाइ पनि २ वर्ष पछाडि धकेलिने भएपछि मानसिक तनाव हुन थालेको इमरान अहमद बताउनु हुन्छ ।
समय त बर्बाद भयो भयो काउन्सिलको निर्णयले थप आर्थिक भारसमेत थपिने उहाँको दुखेसो छ ।
नियमित पढाइ हुँदा २६ वर्षमै डाक्टर बनिसक्ने अहमद २९ वर्ष भइसक्दा पनि के हुने हो भन्ने अन्योलमा हुनुहुन्छ ।
‘डाक्टर बन्न चीनमा ५ र नेपालमा १ वर्ष गरी ६ वर्ष मेहनत गरियो, चटक्कै छाडेर अरु कुनै काम गरौं कि भन्ने पनि लागेको थियो’ अहमद सुनाउनुहुन्छ, ‘अरु काम गर्न पनि अनुभव छैन न योग्यता छ । २०१४ मै प्लस टु पास गर्नुभएका अहमदको योग्यता अहिले पनि प्लस टु पास मात्रै मै सीमित छ ।

उहाँसँगै चीनमा पढेका अन्य देशका साथीहरूले गएको जुलाइदेखि इन्टर्न सुरु गरिसके । नेपालमा भन्दा चीनमा एमबीबीएस पढ्न धेरै सस्तो हुने देखेर जानुभएका अहमदलाई अहिले यो अध्ययन टोक्नु न बोक्नुको भएको छ। ‘पढेको छैन भन्दा ६ वर्ष डाक्टरी पढेको, पढेको छ भन्दा हातमा सर्टिफिकेट छैन’ अहमद दुखेसो पोख्नुहुन्छ ।
अहमदलाई डाक्टर बनाउने सपना उहाँको दाजुको थियो । डाक्टर बनेर परिवारको शान राख्ला भनेर डाक्टरी दाजुको ४० लाख रुपैया भाइको अध्ययनमा खर्च गरिसक्नुभयो ।
अब थप खर्च जुटाउन दाजुलाई सकस छ । अहमदका दाजुलाई आफ्ना भाइसँगै छोराछोरीको पनि हेरचाह र पढाइको जिम्मेवारी छ ।
दाजुका अगाडि अहमदलाई लाज लाग्छ । दाजुलाई भरथेग गर्नुपर्ने उमेरको भइसक्दा अझै दाजुसँगै पकेट खर्च माग्नुपर्ने बाध्यता रहेको अहमद सुनाउनुहुन्छ ।

कोभिडका बेला अस्पतालमा स्वास्थ्यकर्मी अभाव भए, आफू घरमै बस्नुपर्यो । सरकारले आफूहरूलाई उपयोग गर्न नसकेको उहाँको भनाइ छ । ‘स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको धेरै अभाव भयो, हामी २ वर्षदेखि घरैमा बेकाम बस्नु पर्यो हामीलाई प्रयोग गर्न सक्थ्यो नी’ अहमद गुनासो गर्नुहुन्छ ।
यसरी बस्नुपर्दा धेरै मानसिक तनाव झेल्नु परेको र आफू झण्डै डिप्रेसनमा गएको उहाँ बताउनुहुन्छ । यसरी तनाव खेप्न नसकेर एक डाक्टर विद्यार्थीले आत्महत्या गरेको उदाहारण समेत उहाँले दिनुभयो।
‘हामीलाई सामान्य स्वास्थ्यकर्मीको हैसियतमा अस्पतालमा काम दिएपनि खुसी हुन्थ्यौँ’ अहमद भन्नुहुन्छ ।
जग्गा बन्धकी राखेर ऋण
जग्गा बैंकमा बन्दकी राखेर चीनमा डाक्टरी पढ्न जानुभएका सिराहाका वीरेन्द्रकुमार रायको अवस्था पनि अहमदको जस्तै छ । ६ वर्षको अध्ययन सक्नुभएका उहाँ डाक्टर बन्नुपर्ने बेला बेकामे भएर घरमै बस्नु परेको छ ।
सरकारले उद्धार गरी नेपाल ल्याउँदा उहाँको सैद्धान्तिक पढाइ सकिन ३ सेमेस्टर बाँकी थियो । त्यसपछि उहाँले नेपालमै रहेर अनलाइनबाट पढाइ सकाउनु भयो । वीरेन्द्रको ५ महिना अगाडि नै इन्टर्नसिप सुरु हुनुपर्ने थियो ।
‘चीनमा उहाँको थ्योरीको मार्कसिट तयार भइसकेको छ । तर प्राक्टिकल हुन नसक्दा पढाइ अधुरो छ । वीरेन्द्रको परिवारमा खेती किसानीबाहेक अरु आयस्रोत छैन ।
नभएकाले जीविका चलाउनै धौधौ हुन थालिसक्यो । बैंकबाट लिएको ऋण घटेको छैन । ब्याज तिर्न नसक्ने अवस्था भइसक्यो ।
छिटै काम गरेर बैंकको ऋण तिर्ने योजना बनाउनु भएका वीरेन्द्रलाई पढाइ के हुने हो भन्ने अन्योलले निकै तनाव दिएको छ ।
सानैदेखि पढ्नमा अब्बल २०६४ सालमा सिराहाबाटै राम्रो अंक ल्याएर एलएलसी पास गर्नुभएको थियो । २०६७ सालमा जनकपुरमा १२ कक्षा सकाउनु भएका उहाँ २०७२ सालमा एमबीबीएस पढ्न चीन जानुभएको थियो ।
वीरेन्द्रको गाउँमा स्वास्थ्य संस्था थिएन । बिरामी भएपछि स्वास्थ्य संस्था पुग्न धेरै टाढा जानु पर्थ्यो । यो समस्याले उपचार नपाई कयौंको मृत्यु भएको घटना देखका वीरेन्द्रले डाक्टर बन्ने अठोट लिनुभएको थियो ।
सिएमए, एचएको भरमा अस्पताल चलेको देख्नुभएका वीरेन्द्रले डाक्टर बनेर दुर्गममा सेवा दिने सोच बनाउनु भएको थियो ।
यतिमात्रै होइन अस्पतालहरूले चर्काे शुल्क लिई बिरामीलाई टाट पल्टाउने विकृतिको अन्त्य गर्न पनि आफैँ डाक्टर बन्नुपर्छ भन्ने अठोट वीरेन्द्रको थियो ।
उहाँको यो लक्ष्य २०२० मै पूरा हुनपर्ने थियो । तर एक वर्ष बितिसक्दा पनि सरकारले ठोस निर्णय लिन नसक्दा वीरेन्द्रको सपना धकेलिँदै गएको छ ।
अहमद र विरेन्द्र जस्तै सन् २०१५ र २०१६ ब्याचका करिब १५३ जना इन्टर्न गर्न पाऊँ भन्दै विगत ७ महिनादेखि गुहार मागिरहेका छन् ।
अन्तिम परीक्षा २०२१ मे देखि २०२१ जुलाइसम्म सकेकाले आफूहरू इन्टर्नका लागि योग्य रहेको उनीहरूको भनाइ छ । तनाबले आफूहरू बिरामी पर्न थालेको उनीहरू बताउँछन् । समय र पैसा खर्च भइसक्यो तर योग्यता उस्तै छ । आर्थिक र पारिवारिक समस्या त छँदै छ तर सामाजिक प्रतिष्ठासमेत असर परिरहेकाले निकै तनाव र पीडा झेल्नु परेको विद्यार्थीहरूको गुनासो छ ।

आफूहरूको भविष्य अन्यौलमा पार्न गरिएको निर्णय भन्दै पशुपति आर्यघाटमा सरकारको निर्णय जलाउँदै विद्यार्थीहरू ।
६ वर्षको एमबीबीएसको पढाइलाई सरकारले १० वर्षको बनाउन खोजेको उनीहरूको गुनासो छ ।
मंसिर १७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको उपस्थितिमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा निर्देशक। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरू त्था डिन,नेपाल मेडिकल काउन्सिलका अध्यक्ष थता रजिष्ट्रार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सचिवहरूको बैठक बसेको थियो ।
त्यो बैठकले निकास निस्कनेमा विद्यार्थीहरू ढुक्क थिए तर उक्त बैठकले जहाँबाट पढाइ सुरु गरेको, त्यहीबाट सक्काउनुपर्ने निर्णय गर्यो । यो निर्णयले आफूहरू फेरि चीन फर्किएर भौतिक रुपमै पढ्नुपर्ने बाध्यता निम्त्याएको विद्यार्थीहरूको भनाइ छ ।
विद्यार्थीहरूको अध्ययनलाई सम्बन्धित विश्व विद्यालयमै उपस्थित भई अध्ययन निरन्तरता दिन उच्च स्तरमा पहल गर्ने निर्णय भएको छ । यो निर्णयले ७ महिनादेखिको समस्या ज्यूका त्यूँ राखी आफूहरूको भविष्यमा अन्यौलमा पार्न खोजेको विद्यार्थीहरू बताउँछन् ।
शुक्रबार शिक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा कहिलेसम्म कुटनीतिक पहल गर्ने, प्रक्रिया के हुने भन्ने प्रष्ट नभएको विद्यार्थीको भनाइ छ । यसमा सपष्ट नभएकाले कुटनीतिक पहल गर्न एकसाताको समय दिने विद्यार्थीहरूले बताएका छन् । एकसतामा पनि कुनै पहल नभए त्यसपछि तत्काल आफूहरूलाई एक वर्ष इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन उनीहरूको माग छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत