नेपालमा पहिलोपटक बाथरोग र अटोइम्युन रोगको प्रारम्भिक पहिचान गर्ने मेसिन भित्रियो, परीक्षणका लागि नमुना विदेश पठाउनु नपर्ने
नेपालमा पहिलोपटक बाथरोग र अटोइम्युन रोगको प्रारम्भिक पहिचान गर्ने ल्याब मेसिन भित्रिएको छ । नेक्सजेन ल्याब सोलुसन्सले नेपालमा पहिलोपटक मेसिन भित्र्याएको हो ।
सोमबार सोलुसन्सले पत्रकार सम्मेलन गर्दै मेसिन सार्वजनिक गरेको हो ।
बाथरोग र अटोइम्युन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्ने निदानात्मक कीट एचएलए डिआर ४, एचएलए–बी ५१ र एचएलए–बी २७ जाँच गर्ने मेसिन ल्याइएको हो ।
यसले रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सक्ने भएकाले बिरामीलाई समयमै उपचार सुरु गर्न सहज बनाउने बताइएको छ ।
परीक्षण यसकार महत्त्वपूर्ण
नेपालमा विविध भौगोलिक क्षेत्रमा रहने जनसंख्या औषधोपचारको न्यून पहुँच भएका स्थानमा समेत अस्पताल पुग्न कठिन हुने भएकाले सुरुवाती चरणमै रोग पत्ता लगाएर निदान गर्न अति उपायोगी हुनसक्ने वरिष्ठ बाथरोग विशेषज्ञ तथा नेशनल बाथरोग सेन्टरका अध्यक्ष विनित वैद्यलय बताउनुभयो । आफूले १६ वर्ष पहिले भारतमा अध्ययन गर्ने क्रममा भिटामिन डीको परीक्षण नेपालमा मुस्किल भएको स्मरण गर्नुहुँदै उहाँले हाल आएर उक्त जाँच नेपालमा सहज भएको बताउनुभयो । त्यस्तै गरेर नयाँ सार्वजनिक गरिएको जाँच पनि भविष्यमा सहज हुने अपेक्षा गर्नुभयो ।
एचएलए–डीआर ४ को परीक्षण विश्वमै कम स्थानमा हुने भन्दै बाथरोग विशेषज्ञ डा. सुधीर कर्मचार्यले बाथरोग परीक्षणमा सार्वजनिक गरिएको मेसिन नेपालका लागि क्रान्ति नै भएको दाबी गर्नुभयो ।
यो परीक्षण भारतमा हुने परीक्षणभन्दा आधा रकम कममा गरिने नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताउनुभयो । उहाँका अनुसार देशभरको नमुना काठमाडौंमा ल्याएर ५,५०० मा परीक्षण गरिने छ ।
नेक्सजेन ल्याब सोलुसन्सका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार चिकित्सकहरूको सुझावअनुसार बाथरोग र अटोइम्युन रोगको सुरुआती अवस्थामा नै चिन्ह पहिचान गरी उपचारमा सहयोग पुग्ने उद्देश्यले यो प्रविधि नेपालमा जडान गरिएको हो । संस्थाले यसअघि प्रयोगमा रहेका अन्य प्रोफाइल टेस्टहरूसँगै अब नयाँ कीटमार्फत निदान सेवा विस्तार गरेको छ ।
दैनिक जाँच र जनशक्तिको अवस्था
बायोमेडिकल इन्जिनियर निरज सिलवालका अनुसार मेसिनमा एउटा परीक्षणका लागि दुई घण्टा लाग्नेछ । मेसिनमा एउटा ब्याचमा ८ वटा नमुनाको परीक्षण गर्न सकिनेछ । यस अनुसार दैनिक १० घण्टा मेसिन सञ्चालन भएमा पाँच ब्याच परीक्षण गर्न सकिनेछ ।
यसैगरी मेसिन सञ्चालनका लागि जनशक्तिको अभाव नहुने सिलवालको भनाइ छ । ल्याब टेक्निसियनलाई छोटो समयको तालिममै दक्ष बनाउन सकिने भएकाले जनशक्ति अभाव नहुने बताउनुभयो ।
मेसिन चेक रिपब्लिकबाट नेपाल ल्याइएको हो । सोलुसन्सले करिब डेढ करोड खर्चेर मेसिन ल्याएको प्रबन्ध निर्देशक नरेश पाण्डेले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत