कम तौल र समयअगावै जन्मिएका शिशुका लागि 'मायाको अंगालो' किन ?
कम तौल र समय अगावै जन्मिने शिशुहरू(preterm babies) को संख्या विश्वभर र नेपालमा समेत बढ्दो रहेको विभिन्न अध्ययनले देखाएका छन्।
नवजात शिशु कक्षहरूमा यस्ता शिशुको संख्या उल्लेख्य पाइन्छ। यस प्रकारका शिशुहरूको मृत्यू नवजात शिशु तथा पाँच वर्षमुनिका बच्चा मृत्यूको प्रमुख कारण रहेको पनि अध्ययनले देखाएको छ।
समयअगावै जन्मेका शिशुहरू कम तौलका हुनुको साथै शरीर अपरिपक्क हुने हुनाले उनीहरूलाई आमाको दुध खुवाउने र न्यानो राख्ने चुनौती हुन्छ।
उनीहरूमा सामान्य शिुशुमा भन्दा जटिल स्वास्थ्य समस्या जस्तै:- श्वासप्रश्वास सम्बन्धी समस्या, संक्रमणको जोखिम धेरै हुन्छ। साथै मानसिक र शारीरिक अपांगताको जोखिम पनि रहन्छ।
यी समस्याहरूको व्यवस्थापनका लागि मायाको अंगालो अथवा 'कंगारू मदर केयर' अत्यन्त प्रभावकारी विधि भएको अनुसन्धानले प्रमाणित गरेका छन्।
मायाँको अंगालो भन्नाले आमाले आफ्नो नाङ्गो छातीमा नाङ्गो नवजात शिशुलाई टाँसेर राखी गरिने हेरचाह विधि हो।
कंगारुले आफ्नो बच्चालाई राखे जस्तै गरी छातीमा राखिने भएकोले यसलाई 'कंगारू मदर केयर' भनिएको हो। यो विधि अनुसार आमाले आफ्नो नवजात शिशुलाई सकेसम्म लामो समयसम्म छातीमा टाँसेर राख्ने र बेलाबेलामा आफ्नो दूध खुवाउनु पर्ने हुन्छ।
विशेषत २००० ग्राम भन्दा कमतौल र ३६ हप्ता वा सो भन्दा कम गर्भावधिमा जन्मिएका शिशुका लागि यो उत्तम हेरचाह विधि हो।
यो विधि अत्यन्त उपयोगी हुनुका साथै सुलभ, सस्तो र सजिलो पनि छ। यस्का निम्ति बच्चालाई छातीमा अड्याएर राख्नका लागि ३ मिटर सुति कपडा वा यस्तै किसिमको वच्चा अड्याउने 'ब्लाइन्डर' आवश्यक पर्छ। शिशुका लागि टोपी र मोजा अनि आमालाई छातीमा शिशुलाई राखेर लगाउन मिल्ने मौसम अनुसारको लुगा चाहिन्छ।
त्यसबाहेक शिशुलाई छातीमा राखेको बेलामा आरामसँग बस्नका लागि बिस्तारा वा कुर्सीको आवश्यकता पर्छ। लामो समय वच्चा लिएर वस्नु पर्ने भएकोले आमाको बसाई आरामदायी हुनुपर्छ । त्यसबाहेक, शान्त र गोप्य कोठाको व्यवस्था हुनु राम्रो हुन्छ।
कसरी सुरु भयो 'कंगारू मदर केयर' विधि ?
यो विधिको प्रयोग सन् १९७० मा कोलम्बियाको बोगटा भन्ने ठाउँबाट शुरु भएको हो। विस्तारै यसको प्रयोग विश्वभर फैलिएर प्रभावकारी हेरचाह विधिको रुपमा स्थापित भयो ।
यस्मा विभिन्न अध्ययन, अनुसन्धान पनि भएका छन्। अध्ययनहरू बिशेषत आमा र शिशुका लागि यसको उपयोगिता, प्रभावकारिता, अभ्यासको अवस्था र अभ्यासलाई प्रभाव पार्ने तत्वहरू, यसका फरक विधि जस्ता विषयमा केन्द्रीत छन्।
अहिले संसारमा अनेक आधुनिक प्रविधिहरूको आविष्कार भइसकेको छ। यति हुँदा हुँदै पनि विश्व स्वास्थ्य संगठनले कम तौल र समय अगावै जन्मेका शिशुको हेरचाहका लागि 'कंगारू मदर केयर' विधि अत्यन्त सरल, सुलभ र प्रभावकारी रहेको कुरालाई विशेष जोड दिएको छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२२ को कम तौल र समयअगावै जन्मेका नवजात शिशुहरूको उपचार निर्देशिकामा मायाँको अंगालोलाई अत्यन्त उपयोगी हेरचाह विधिको रुपमा प्रस्तुत गर्दै त्यस्ता शिशुहरूलाई जन्मनासाथ प्रयोग गर्ने सुझाव दिएको छ।
यसको प्रभावकारिताका लागि दिनमा कम्तिमा ८ घण्टा प्रयोग गर्नुपर्ने सुझाव दिएको छ।
ती शिशुहरू प्राय बिरामी हुनसक्ने र सघन वा बिरामी शिशु कक्षमा चिकित्सकीय सेवाका लागि भर्ना गर्नुपर्ने भएकोले आमासँग छुट्टै राख्नुपर्ने बाध्यता हुन्छ।
यस्तो अवस्थामा यो विधि प्रयोग गर्न अप्ठेरो पर्दछ। यसको लागि बिरामी शिशु र आमालाई सँगै राख्ने किसिमको शिशुकक्षको व्यवस्था गर्नु पर्ने हुन्छ।कतिपय विकसित मुलुक र छिमेकी देश भारतका केही अस्पतालमा सिकिस्त बिरामी बच्चालाई शुरु देखि आमाले 'कंगारू मदर केयर' राख्ने मिल्ने गरी आमा–बच्चा सहितको संघन र बिरामि शिशुकक्षको पूर्वाधार उपलब्ध छ। हाम्रोमा भने यो किसिमको पूर्वाधार विकास भएको छैन।
अस्पतालमा रहँदा मात्र नभएर शिशुलाई घर लगिसकेपछि पनि यसको निरन्तर प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ।
अस्पतालमा रहदा आमाले यो विधि प्रयोग गर्न सक्षम भएको अवस्थामा घरमा पनि प्रयोग गर्न सक्छन् । यो विधि प्रयोगका लागि आमाको मुख्य भूमिका भएपनि, बुबा र परिवारका अन्य सदस्यहरूले पनि आमालाई सहयोग र साथ दिनुपर्छ।
यो विधिको प्रयोगले हुने फाइदा
शिशुलाई विधिपूर्वक मायाको अंगालोमा राख्दा शिशुले जीवन धान्नकोा लागि नभई नहुने न्यानोपन र पोषण त प्राप्त गर्छ। यसबाहेक उसलाई नभई नहुने आमाको आनन्दमय स्पर्स, स्याहार, आत्मियता र वात्सल्य प्राप्त हुन्छ।
मायाको अंगालोे शिशुहरूका लागि शान्त सुरक्षित, न्यानो र आनन्दित खालको उत्तम वातावरण हो। जुन कम तौल र समयअगावै जन्मिने शिशुका लागि अत्यन्त उपयोगी हुन्छ। माँयाको अंगालोमा राखेका बेला शिशु राम्रोसँग निदाउँछ। साथै जागेको बेला आमालाई देख्न र सुन्न पाउँदा उस्को सुन्ने र हेर्ने क्षमताको विकास राम्रो हुन्छ।
यसको प्रयोगले आमा र शिशुको सम्बन्धलाई प्रगाढ बनाउँछ र शिशुको वृद्धि, विकाससँगै मस्तिष्क विकासमा पनि मद्धत गर्छ। त्यसैले यो विधिले हेरचाह गरेको शिशुमा तापक्रमको सन्तुलन रहन्छ। श्वास प्रश्वास र अन्य शारीरिक क्रियाकलाप पनि सामान्य रहन्छ। अनि संक्रमणको जोखिम पनि कम रहन्छ।
शिशु आमासँग रहेने हुनाले आमामा बात्सल्य हर्मोन सक्रिय भई दुध उत्पादन राम्रो हुनुका साथै दूध खुवाउन पनि सजिलो हुन्छ।
बेलाबेलामा आमाको दूध खान पाउँदा बच्चाको तौल वृद्धि हुन मद्दत पनि पुग्छ।
शिशुहरू बिरामी हुने जोखिम कम रहन्छ। यस्ले गर्दा उनीहरूमा मृत्यु सम्भावना पनि न्यून रहने अध्ययनहरूले देखाएको छ।
यो विधि अपनाउँदा एक आपसमा आमा-बच्चाको छालाको स्पर्सले गर्दा शिशुले अपूर्ब वात्सल्यको अनुभव प्राप्त हुन्छ। आमा र शिशुको माया र सम्बन्ध प्रगाढ हुदै जान्छ।
त्यो वात्सल्यको भावनाले आमाले आफ्नो शिशुको हेरचाहमा पनि धेरै मन लगाउने र शिशुको हेरचाहमा आत्मविश्वास विकास गर्दछ। आमासँग छुट्टै राखिएको अवस्थामा शिशुलाई मायाको अंगालोमा राख्ने मौका पाउँदा आमाहरू अत्यन्त हर्षित हुने र शिशुसम्बन्धि चिन्ता कम हुने कुरा लेखक स्वयंको अध्ययनले देखाएको छ।
नेपालमा यसको अभ्यास र चुनौति
नेपालमा पनि धेरै वर्ष अगाडिदेखि यसको प्रयोग भएको पाइन्छ। सन २०१६ मा प्रकाशित गरेको नवजात शिशुहरूको रणनीतिक कार्ययोजना 'Every Newbron Action Plan, 2016' मा मायाँको अंगालोको व्यापक प्रयोगलाई बढावा दिने बुँदा समावेश छ।
स्वास्थ्य मन्त्रालयद्धारा प्रकाशित 'अस्पतालको नवजात शिशु कक्षमा गरीने नवजात शिशु उपचार निर्देशिका' मा पनि यो विधि उल्लेख छ। साथै स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाद्धारा प्रकाशित 'National Medical Standard for Maternal and Neonatal Care / Preterm Infant Care Guidelines, 2020' मा यसो प्रयोगका लागि निर्देशन (Guidelines) समावेश छ।
यसको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय र सेभ द चिल्ड्रेनका साथै अन्य दातृ संस्थासँगको सहकार्यमा विभिन्न चरणमा स्वास्थ्यकर्मीहरूलाई सेवाकालीन तालिमहरू पनि सञ्चालन गरीएका छन्।
सेवापूर्व शिक्षणको पाठ्क्रममा यस्लाई समावेश गरी अध्यापनमा सक्रिय शिक्षकहरूलाई तालिम दिइएको छ्। आमा र बच्चाको स्वास्थ्य सम्बन्धि विभिन्न तालिमहरू जस्तै दक्ष प्रसुती सेवा सम्बन्धि तालिम, नवजात शिशु हेरचाह सम्बन्धि तालिम इत्यादीमा पनि यस्लाई समावेश गरिएको छ।
यी सबै कुरा हुँदाहुँदै पनि नेपालका स्वास्थ्य सस्थाहरूमा यसको निकै कम अभ्यास भएको अध्ययनहरूले देखाएका छन्।
लेखक स्वयंको अध्ययनमा पनि विभिन्न अस्पतालमा यसको फरक-फरक अभ्यास पाइएको थियो।
विशेष गरी जहाँ यसका लागि ठाउँ, आमाका लागि विशेष किसिमको कंगारू मदर केयर कुर्सी वा आमा र शिशु सँगै रहने शय्या उपलव्ध छ, त्यहाँ यसको उत्साहजनक अभ्यास भइरहेको पाइयो।
कुनै केन्द्रीय अस्पतालमा छुट्टै कोठा नभए पनि नवजात शिशु कक्षभित्र शिशुहरूको छेउमा 'कंगारू मदर केयर' कुर्सीको व्यवस्था गरेर २ देखि ३ घण्टाका लागि यसको राम्रै अभ्यास भएको पाइएको थियो।
केही अस्पतालहरूमा भने ठाउँ तथा शय्या तथा कुर्सीको व्यवस्था नहुँदा, स्वस्थ्यकर्मीलाई जानकारी हुँदाहुदै पनि यसको खासै अभ्यास थिएन।
कार्ययोजनामा प्राथमिकतामा भएर र दक्ष जनशक्ति हुँदा हुँदै पनि यसको प्रयोगमा उल्लेख्य प्रगति नहुनुका विभिन्न कारणहरू भेटिए।
एउटा कारण त स्रोत साधनको कमी हो भन्ने कुरा माथि उल्लेखित अध्ययनको अंशबाट पनि अनुमान गर्न सकिन्छ। हुनत यसका लागि महंगो उपकरण र साधन आवश्यक पर्दैन।
कतिपय अस्पतालमा यसका लागि ठाउँकै अभाव देखिन्छ। लेखक स्वयंले गरेको अध्ययनमा विशेषगरी उपत्यका बाहिरका केही अस्पतालमा नवजात शिशु कक्ष स्थापना गर्दा अरु प्रयोजनका लागि बनाइएको पूर्वाधारलाई नवजात शिशु कक्षको रुपमा प्रयोग गरिएको देखिन्थ्यो।
यस कारण त्यहाँ केही अत्यावश्यक पूर्वाधारजस्तै स्तनपान कक्ष, कंगारू मदर केयर, आमाबाबुका लागि परामर्श कक्ष इत्यादीको कमी देखिन्थ्यो।
अर्कोतिर असहज कुर्सी तथा बेडले पनि यसमा समस्या परेको देखियो। साधारण कुर्सीमा घण्टौँ बसेर कंगारू मदर केयर गर्नुपर्दा सुत्केरी आमालाई यो विधिप्रति अनिच्छा हुने कुरा लेखकका र अन्य अध्ययनहरूले देखाएका छन्। साथै मानिसहरूको खुल्ला आवतजावत हुने ठाउँमा पनि आमाहरूलाई यसको प्रयोगको लागि अप्ठेरो लाग्ने गरेको देखिन्छ।
नवाजात शिशु कक्षमा रहने स्वास्थ्यकर्मीको टोली (विशेष नर्सिङ् स्टाफ)को आमाहरूमा यसप्रति रुची जगाउन महत्वपूर्ण भूमिका रहन्छ।
सबैभन्दा पहिला जुन शिशुलाई कंगारू मदर केयर आवश्यकता छ, उसको आमाबुबालाई यसको आवश्यकता र महत्व, प्रयोग गर्ने विधिहरूको बारेमा राम्रोसँग वुझाउनु पर्ने हुन्छ। उहॉहरू यो विधि गर्न इच्छुक भएपछि, सिकाउँदै आमालाई यो विधि प्रयोग गर्न लगाउनु पर्छ।
शुरु-शुरुको अभ्यासमा आमालाई केही अप्ठेरो अनुभव हुनसक्छ। जसले गर्दा आमालाई यो विधि गर्न मन नलाग्न सक्छ। आमाले यसलाई सफलताका साथ निरन्तर प्रयोग गर्न शुरुकोे अवस्थामा स्वास्थ्यकर्मीले आमालाई ढाढस दिने, प्रोत्साहित गर्ने र विस्तारै बानी पर्दै जाने कुरामा जोड दिनुपर्ने हुन्छ।
आमाहरूको सफल र निरन्तर कंगारू मदर केयरका लागि स्वास्थ्यकर्मीको पनि महत्वर्ण भूमिका हुन्छ। स्वास्थ्यकर्मीले आमालाई आवश्यक सहयोग दिनकोे लागि पर्याप्त जनशक्तिको आवश्यक पर्दछ। तर हाम्रो परिवेशमा धेरैजसो नवजात शिशु कक्षमा मापदण्ड भन्दा धेरै कम स्वास्थ्यकर्मी उपलब्ध हुने हुनाले उनीहरू बिरामी शिशुहरूकको हेरचाहमा व्यस्त हुन्छन्। अध्ययनहरूले देखाएअनुसार आमालाई शुरुको अभ्यासका बेला स्वास्थ्यकर्मीको सहयोग र साथको कमी देखिन्छ।
कतिपय ठाँउहरूमा सम्बन्धित पदाधिकारीहरू जसको नेतृत्वमा यसको शुरुवात साथै अभ्यासमा निरन्तरता आउनुपर्ने हो उनीहरूको इच्छा शक्ति र उत्प्रेरणाको कमीका कारण शुरुमा सञ्चालन भए पनि निरन्तरता नपाएको देखिन्छ।
सम्भावना र अवसरहरू
मायाको अंगालोे शिशुका लागि लागि सरल, सुलभ साथै अत्यन्तै उपयोगी हेरचाह विधि भएको हुनाले, यसको प्रभावकारी अभ्यासलाई बढावा र बिस्तार गर्नु आवश्यक छ। यसको लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक हुन्छ।
सेवाको प्रबन्ध
आमाहरूले यो हेरचाह दिनका लागि स्वास्थ्यकर्मीहरूले सल्लाह दिनु, सिकाउनु र प्रोत्साहन गर्नु आवश्यक छ । यति मात्र नभई नवजात शिशु कक्षमा आमाहरूलाई अनुकुल वातावरण हुनु जरुरी हुन्छ।
आमा र शिशुलाई मिलेसम्म साथ राख्ने वातावरणको सिर्जना गर्नुपर्छ। त्यसैगरी शिशु अस्पताल भर्ना भएको समयमा सुत्केरी आमाका लागि खान, बस्न, शौचालय र स्नान कक्षको व्यवस्था हुनुपर्दछ।
हुन त अहिले आमासहितको शिशु सघन कक्ष (Maternal-Neonatal Intensive Care Unit) अथवा Couplet-Care Model नवजात शिशु संघन कक्षको अवधारणा हाम्रै छिमेकी मुलुकका केही अस्पतालमा आइसकेको छ।
जुन व्यवस्था हाम्रो देशमा पनि आउने आसा गर्न सकिन्छ। यसका साथै अस्पतालमा मात्र नभएर घरमा गएर पनि यस किसिमको हेरचाहलाई निरन्तरता दिनका लागि सुझाव दिनुपर्ने हुन्छ। विस्तारै घरमा गरिने मायाको अंगालो हेरचाहको अनुगमनको पनि व्यवस्था गर्नु पर्ने देखिन्छ।
पूर्वाधार, स्रोत साधनको व्यवस्था
यी शिशुहरूको लागि अरु सामान्य शिशुहरूलाई चाहिने स्रोत साधनबाहेक शिशुलाई आमाको छातीमा अड्याउनका लागि कपडा वा कपडाबाट तयार गरीएको दष्लमभच, आमाको लागि बच्चालाई छातीमा राख्दा लगाउन मौसम अनुसारको सजिलो खालको लुगाहरूको आवश्यकता पर्दछ। त्यसवाहेक बच्चालाई छातिमा राखेर लामो समय सजिलोसँग वस्नको लागि आमा लाई आरामदायी कुर्सी वा उपयुक्त कक्षको व्यवस्था गर्नु आवश्यक हुन्छ। यी सम्पूर्ण स्रोत साधनको व्यवस्थापनको लागि विशेषत नीति निर्माण तहदेखि ध्यान पु–याउनु पर्ने दखिन्छ।
जनशक्ति, तालिम र अनुगमन
स्वास्थ्यकर्मीहरूमा माँयाको अंगालो हेरचाह विधिको बारेमा ज्ञान शीपका साथै आमाहरूलाई कसरी सिकाउने र सहयोग गर्ने भन्ने दक्षता हुनु आवश्यक हुन्छ। त्यसबाहेक कम तौल र समयअगावै जन्मेका शिशुहरूमा स्तनपान, न्यानो राख्ने र अन्य हेरचाह पनि चुनौतिपूर्ण हुने भएकोले स्तनपान र हेरचाहका लागि पनि आमाहरूलाई सिकाउनु र सहयोग गर्नुपर्ने हुन्छ। यी सबै कुराका लागि नवजात शिशु कक्षमा मापदण्डबमोजिम जनशक्ति र उनीहरूमा भएको ज्ञान र शीपको पुर्नताजगीको लागि तालिमहरूको व्यवस्था गर्नु जरुरी हुन्छ।
यो विधिको प्रयोगको राम्रोसँग अभिलेख राखेको अवस्थामा शिशुहरू यो हेरचाह पाउन छुट्ने सम्भावना कम हुन्छ।
यो विधिकोे निरन्तर अभ्यासका लागि अनुगमन र सो अनुसारको राम्रो अभ्यासलाई पुरस्कृत वा हौसला दिने व्यवस्था गर्नु आवश्यक हुन्छ। नीति निर्माण तहदेखि स्वास्थ्य संस्थाहरूमा कार्यरत व्यवस्थापक, निर्देशकहरूले यो विधिको अभ्यासको निरन्तरतालाई जोड दिनुपर्ने हुन्छ।
स्वास्थ्यकर्मीको पाठ्यक्रममा पनि यस सम्बन्धी शीप जान्नै पर्ने शीपमा राख्नुपर्ने हुन्छ।
यसरी नितिनिर्माण कर्तादेखि सेवा प्रवाह गर्ने स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरूले आ–आफ्नो ठॉउबाट यी कुराहरूमा ध्यान दिन सकेको खण्डमा तीे शिशुहरूलाई मायाको अंगालोको सेवाउपलब्धतामा वृद्धि भई शिशुहरू लाभान्वित हुन सक्छन्।
तपाईँको अभिमत