कलेजो प्रत्यारोपण गर्ने युवा डाक्टर

डाक्टर एकानन्द सिंह अहिले ३६ वर्षको हुनुभयो। नेपालमा कलेजो प्रत्यारोपण विशेषज्ञ निकै कम छन् त्यही समूहमा पर्नुहुन्छ उहाँ। यतिमात्रै होइन एकानन्द हेपाटोविलियरी सर्जरीमा विद्यावारिधि गर्ने नेपालको पहिलो डाक्टर पनि हुनुहुन्छ।
जटिल सर्जरी मानिने कलेजो प्रत्यारोपणमा अब्बल मान्दै उहाँलाई अन्तर्राष्ट्रिय कलेजो प्रत्यारोपण समाजले युवा कलेजो प्रत्यारोपण विशेषज्ञका रुपमा २०२० मा सम्मानित समेत गरेको थियो। अध्ययन अनुसन्धानमा रुची राख्ने एकानन्दका विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा लेखहरू प्रकाशित हुने गरेका छन्।
डाक्टर बन्ने रहर थिएन
सिरहामा जन्मनु भएका एकानन्दका बाबु सरकारी जागिरे, आमा गृहिणी हुनुहुन्थ्यो। मध्यम आयस्रोत भएको परिवारमा जन्मनुभएका एकानन्दलाई डाक्टर बन्ने रहर बाल्यकालमा थिएन। प्रमाणपत्र तहको पढाइ सकेपछि १८ वर्षअघि उहाँ एमबीबीएस अध्ययनका लागि उहाँ चीन जानुभयो। त्यसपछि सुरु भयो उहाँको मेडिकल शिक्षाको यात्रा।
चीनमा ५ वर्षको कोर्ष सक्काएर २००९ मा नेपाल फर्किएपछि उहाँको जीवनमा नयाँ यात्रा सुरुभयो। एक वर्षको इन्टर्नसिपका क्रममा आफू अब्बल सर्जन बन्ने संकल्प उहाँले लिनुभएको थियो।
प्राक्टिकल गर्दैगर्दा सिनियरहरूले घाउ चिरेर टाँका लगाएर बिरामीलाई खुसी बनाएको देख्दा उहाँलाई सर्जन बन्ने हौसला मिल्थ्यो।
एकानन्दले आफ्नो रुचीअनुसार जनरल सर्जरीमा एमडी गर्नुभयो। एकपछि अर्काे गरी उहाँको लक्ष्य पूरा हुँदै त गयो तर चिन्ता पनि थपिँदै गयो–यतिका वर्ष कडा मेहनत र दुख गरी डाक्टरी पढेको बेकामे पो भइने होकी भन्ने चिन्ता लाग्यो एकानन्दलाई। २०१६ जुलाईमा उहाँले पिएचडी सकाउँदासम्म नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको थिएन। जसका कारण डाक्टर र बिरामी दुवैले नेपालमा उपचार सेवा दिन र लिन सक्ने स्थिति थिएन।
कलेजो प्रत्यारोपणका सरकारबाट अनुमति पत्र लिनुपर्छ। त्यसका लागि पनि उहाँलाई एक वर्ष कलेजो प्रत्यारोपणको अनुभव चाहिन्थ्यो। यी कारणले स्वदेशमै बसेर कलेजोका बिरामीको उपचार गर्ने उहाँको धोको तत्काल पूरा हुन सकेन। नेपालमा २०१६ को डिसेम्वरमा पहिलोपटक भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो।
अध्ययन, अनुसन्धानमा चासो राख्ने भएकाले एकानन्द कलेजोरोग सम्बन्धि हुने सेमिनार, गोष्ठीहरू भनेपछि लोभिनुहुन्थ्यो। तिनमा नयाँ कुरा सिक्न पाइन्छ भन्ने आश उहाँको हुन्थ्यो। त्यही क्रममा दिल्लीस्थित एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञसँग उहाँको भेट भयो। योग्यता र दक्षताअनुसार कामगर्ने ठाँउ खोजिरहेका बेला ती विशेषज्ञसँगको भेटले उहाँलाई कामको अवसर जुर्यो। सन् २०१८ मा एकानन्दले एपोलो अस्पतालमा काम गर्न थाल्नुभयो। पिएचडी गरेपछिको २ वर्ष उहाँले वीर अस्पताल र जानकी मेडिकल कलेजमा काम गर्नुभयो।
एपोलोमा अधिकांश नेपालीहरू कलेजो पूर्ण बिग्रिएको अवस्थामा उपचारका लागि पुग्थे। उनीहरूको कलेजो काम नलाग्ने हुनुमा अल्कोहल प्रमुख कारण हुन्थ्यो। एपोलोमै काम गरिरहेका बेला उहाँले नेपालमै कलेजो प्रत्यारोपण भएको खबर सुन्नुभयो। भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा सुरु भएको कलेजो प्रत्यारोपणले एकानन्दलाई नेपालमै रही बिरामीको उपचार गर्न पाउने कुराले निकै खुसी तुल्यायो। त्यसपछि उहाँ भारतको बसाइ छोट्याउन लाग्नुभयो।
एकानन्द १० महिनाअघि नेपाल फर्कनुभयो। २०७७ साल चैत ४ गते उहाँले कलेजो प्रत्यारोपण सम्बन्धी गतिविधि गर्न नेपाल सरकारबाट इजाजत पत्र पाउनुभयो। चैत ४ गते इजाजत पत्र पाउनुभएका एकानन्दले चैत ८ गते नै चितवनमा कलेजो प्रत्यारोपण गर्नुभयो।
चितवन मेडिकल कलजेमा रहँदा उहाँको टिमले ४ जनाको सफल कलेजो प्रत्यारोपण गर्यो। उहाँ हालै काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा आवद्ध हुनुहुन्छ।
प्रत्यारोपण सेवा नै सुरु नभएको बेला अध्ययन सकाइसक्नुभएका एकानन्दलाई नेपालमै कलेजो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै निकै खुसी लागेको छ। तर चितवनमा रहँदा उहाँको अनुभवले के देखायो भने–नेपालमा रहेका कलेजोका बिरामीको तुलनामा प्रत्यारोपण एकदमै कम छ।
चितवनमा ओपिडिमा दिनहुँ सरदर १० जना कलेजोका बिरामी आउने गरेका थिए। ती मध्ये अधिकांशको कलेजो पूर्णरुपमा बिग्रिसकेको हुन्थ्यो। ‘एक अस्पतालमा आएका बिरामीकै अवस्थाले नेपालमा कलेजो बिरामीहरूको अवस्था भयावह रहेको अनुमान लगाउन सकिन्छ’ डा. एकानन्द भन्नुहुन्छ। नेपालमा वार्षिक कम्तिमा १ हजार जनाको कलेजो प्रत्यारोपण गनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।
सुख र दुखःका क्षण
एक जना सर्जन डाक्टरलाई सानो घाँउ या पिलोको उपचार गरेर बिरामी निको भएपनि त्यो खुसीको कुरा हो। कलेजो प्रत्यारोपण त निकै ठूलो अपरेसन हो।
एक जनाको कलेजोको टुक्रा अर्काे व्यक्तिको शरीरमा राखेर नयाँ जीवन दिन पाउनु चानचुने कुरा होइन। ‘कहिलेकाही सर्जरीमा डाक्टर, बिरामीले सोचेजस्ता नतिजा आउँदैनन जसका कारण बिरामीको अस्पताल बसाइ लम्बिन जान्छ’ उहाँ भन्नुहुन्छ, ‘त्यति बेला बिरामी दुःखी हुँदा हामीलाई पनि दुःख लाग्छ’
। एकानन्दले डिस्चार्ज भएका गएका बिरामीहरूलाई बेला–बेलामा फोन गर्नुहुन्छ। बिरामीहरूको स्वास्थ्य अवस्था वुझ्नुहुन्छ। त्यो फोनले बिरामी अति नै खुसी हुन्छन् । ‘ओहो ! अस्पतालबाट गइसकेको बिरामीलाई पनि फोन गरीगरी सोधीखोजी गर्ने डाक्टर हुँदा रैछन् ?’ बिरामीले यसो भन्दा आउने आनन्द र पाइने खुसी वर्णन गरिनसक्नुको हुने उहाँ सुनाउनुहुन्छ।
सधैँ मिल्दैन खुसी
एकानन्दले मेडिकल हजारौं बिरामीलाई हेरिसक्नु भएको छ। करिब २ हजार जनाको शल्यक्रिया नै गरिसक्नुभएको छ। यसका कुनै–कुनै घटना नरमाइला पनि हुन्छ।
अध्ययनकै क्रममा उहाँले उपचार गरेको एकजना बिरामी जसलाई क्यान्सर पनि थियो। यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नु आफैंमा जोखिमपर्ण हुन्छ। उहाँलाई कलेजो दिने व्यक्ति बल्लबल्ल मिल्यो सफल प्रत्यारोपण पनि भयो।
बिरामी खुसी भएर घर पनि जानुभयो तर दुर्भाग्य केही समयपछि उहाँलाई फेरि क्यान्सर फेरि दोहोरियो।
धेरै सकसपछि कलेजो दिने व्यक्ति भेटाउनुभएका ती बिरामीले दोस्रो पटक कलेजो दिने व्यक्ति पाउनुभएन। त्यसपछि उहाँको उपचार अगाडि बढ्न सकेन। एकानन्दलाई यो घटना सम्झँदा दुःखी बनाउँछ।
तपाईँको अभिमत