आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो मापदण्ड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवा नियमन गर्न मापदण्ड ल्याएको छ । पहिलोपटक “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको हो ।
मन्त्रालयका अनुसार विज्ञ, चिकित्सक, कानुनविद् र प्रजनन स्वास्थ्य विशेषज्ञहरूसँगको विस्तृत छलफलपछि तयार पारिएको यो मापदण्डले निःसन्तान उपचार सेवा दिने संस्थाहरूलाई कानुनी दायरामा ल्याउने, न्यूनतम भौतिक पूर्वाधार र दक्ष जनशक्ति सुनिश्चित गर्ने, सेवा शुल्क पारदर्शी बनाउने र सेवाग्राही तथा दाताको अधिकार सुरक्षित गर्ने व्यवस्था गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्ला वर्षहरूमा निःसन्तान उपचार गर्ने संस्थाको सेवा गुणस्तर र पारदर्शिताप्रति अनेक प्रश्न उठिरहेको बताउँदै धेरै दम्पती ठगिन सक्ने वा गलत उपचारका कारण जीवन नै जोखिममा पर्न सक्ने अवस्था देखिएकाले यो मापदण्ड समयानुकूल र आवश्यक कदम भएको बताउनुभयो ।
नवीन मापदण्डअनुसार आईयुऐ (IUI) वा आईभीएफ (IVF) जस्ता विशिष्ट सेवा सञ्चालन गर्न अब अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्टसहित दक्ष जनशक्ति उपलब्ध हुनुपर्ने प्रावधान राखिएको छ। त्यस्तै, भवन राष्ट्रिय भवन संहिता अनुरूपको हुनुपर्ने, विशिष्टीकृत प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
मापदण्डले प्रयोगशाला र शल्यकक्षमा भ्रूणको विकासमा असर पार्ने तापक्रम, आर्द्रता र हावाको गुणस्तरसहितको वातावरणीय मापदण्ड पनि तोकेको छ। सेवा शुल्क मन्त्रालयले निर्धारण गरेको दरमै लिनुपर्नेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा विपन्न वर्गका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसबाहेक, शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि पनि स्पष्ट मापदण्ड तोकिएको छ। दाताको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने, कुनै सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित गर्नुपर्ने र विवाहित भएमा दम्पती दुवैको लिखित सहमति अनिवार्य हुने व्यवस्था छ। साथै, एक व्यक्तिले दान गर्न सक्ने संख्यामा सीमा तोकिएको छ भने दाताको पहिचान पूर्ण रूपमा गोप्य राखिनुपर्नेछ। प्रलोभन देखाएर वा दबाबमा पारी दान गराउन भने पूर्ण रूपमा निषेध गरिएको छ।
पछिल्लो समय एक आईभीएफ सेन्टरमा किशोरीहरूबाट फकाएर डिम्ब दान गरिएको समाचार बाहिर आएपछि नियमनका लागि स्पष्ट मापदण्डको व्यवस्था गर्न दबाब बढेको थियो ।
निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” को मुख्य प्रावधानहरु
सेवा सञ्चालन प्रक्रिया तथा मापदण्ड
स्वास्थ्य संस्थाको स्तर, भौतिक पूर्वाधार र जनशक्तिको आधारमा प्रदान गरिने निःसन्तान व्यवस्थापन सम्बन्धी सेवाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीमा सबै स्वास्थ्य संस्थाले प्रदान गर्न सक्ने स्क्रिनिङ, निदान, परामर्श र प्रेषण जस्ता आधारभूत सेवाहरू पर्दछन्। दोस्रो र तेस्रो श्रेणीमा तालिम प्राप्त स्त्रीरोग विशेषज्ञबाट प्रदान गरिने क्रमशः औषधि तथा हर्मोनल उपचार र शल्यक्रिया सेवाहरू पर्दछन्। चौथो र पाँचौं श्रेणीमा विशेष मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र सञ्चालन गर्न पाउने क्रमशः आई.यु.आई. र आई.भी.एफ. जस्ता विशिष्ट सेवाहरू रहेका छन्। आई.भी.एफ. सेवा प्रदान गर्ने संस्थाले अन्य सबै तहका सेवाहरू पनि उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ।
आई.यु.आई. सेवा सञ्चालन मापदण्ड
आई.यु.आई. (Intra-Uterine Insemination) सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थाले तोकिएका निश्चित मापदण्डहरू पूरा गर्नुपर्नेछ। संस्थामा प्रसूति तथा स्त्रीरोग सम्बन्धी बहिरंग सेवा, एन्ड्रोलोजी प्रयोगशाला, कोल्ड चेन प्रणाली, फार्मेसी, आकस्मिक उपचार सेवा र न्यूनतम 'सी' वर्गको प्रयोगशाला अनिवार्य रूपमा हुनुपर्छ। यदि संस्थामा सघन उपचार कक्ष (ICU) उपलब्ध छैन भने आवश्यक परेमा यो सेवा प्रदान गर्न सक्ने अर्को स्वास्थ्य संस्थासँग सम्झौता गरेको हुनुपर्नेछ।
आई.यु.आई. सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्डहरू: परामर्श कक्ष, वीर्य संकलन कक्ष, एन्ड्रोलोजी प्रयोगशाला र आई.यु.आई. कक्ष जस्ता भौतिक पूर्वाधारहरूको क्षेत्रफल सहितको विवरण, अल्ट्रासोनोग्राफी मेसिन, लाइट माइक्रोस्कोप, थर्मो-रेगुलेटेड सेन्ट्रिफ्युज, र ल्यामिनार फ्लो जस्ता आवश्यक औजार-उपकरणहरूको सूची र आवश्यक पर्ने सामग्री (consumables) मापदण्डमा तोकिएको छ। साथै, यो सेवा सञ्चालन गर्न सम्बन्धित संस्थामा कम्तिमा एक जना तालिम प्राप्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, एक मेडिकल ल्याब टेक्नोलोजिष्ट, एक टेक्निसियन र एक स्टाफ नर्स सहितको जनशक्ति अनिवार्य हुनुपर्ने छ।
आई.भी.एफ. सेवा सञ्चालन मापदण्ड
आई.भी.एफ. (In-Vitro Fertilization) सेवा प्रदान गर्ने संस्थामा आई.यु.आई. सेवाका लागि चाहिने सबै पूर्वाधारका अतिरिक्त इम्ब्रायोलोजी प्रयोगशाला, आकस्मिक सेवा, सघन उपचार कक्ष र शल्यक्रिया सेवा अनिवार्य रूपमा हुनुपर्दछ। यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ।
आई.भी.एफ. सेवा सञ्चालनका लागि आवश्यक मापदण्डहरू: आई.यु.आई. का लागि चाहिने पूर्वाधारका अतिरिक्त शल्यक्रिया कक्ष (Operation Theater), रिकभरी कोठा र इम्ब्रायोलोजी प्रयोगशाला जस्ता थप भौतिक संरचनाहरू अनिवार्य हुनुपर्ने छ। औजार-उपकरणतर्फ आई.भी.एफ. वर्कस्टेसन, CO2 इन्क्युबेटर, क्रायो-ट्याङ्क र माइक्रो-म्यानुपुलेटर सहितको इन्भर्टेड माइक्रोस्कोप जस्ता अति विशिष्ट उपकरणहरू हुनुपर्ने छ। जनशक्तिको हकमा निःसन्तान रोग विशेषज्ञ (Infertility Specialist), इम्ब्रायोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट र विशेषज्ञ नर्स जस्ता विशेष योग्यता र अनुभव भएका जनशक्ति अनिवार्य हुनुपर्ने छ।
आई.यु.आई. र आई.भी.एफ. सम्बन्धी अन्य प्राविधिक मापदण्ड
यी विशिष्ट सेवाहरूको गुणस्तर सुनिश्चित गर्न विभिन्न प्राविधिक मापदण्डहरू तोकिएका छन्। यसअनुसार, वीर्य संकलन कक्ष, एन्ड्रोलोजी प्रयोगशाला र आई.यु.आई. कक्ष एक-आपसमा जोडिएको हुनुपर्छ। त्यसैगरी, शल्यक्रिया कक्ष र इम्ब्रायोलोजी प्रयोगशाला पनि सँगै जोडिएको र बीचमा 'पास बक्स' भएको हुनुपर्छ। यी कक्षहरूमा सूर्यको प्रकाश नछिर्ने, वातानुकूलित (HVAC प्रणाली जडित) र असम्बन्धित व्यक्तिहरूको प्रवेश निषेध गरिएको हुनुपर्छ। साथै, संस्थाले फोहोरमैला व्यवस्थापन, पार्किङ, शुद्ध खानेपानी र अविच्छिन्न विद्युत आपूर्ति जस्ता सुविधाहरूको पनि सुनिश्चितता गर्नुपर्नेछ।
भ्रूणको विकास र सफलता दरमा प्रत्यक्ष असर पार्ने इम्ब्रायोलोजी प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तर सम्बन्धी प्राविधिक मापदण्डहरू। संवेदनशील मानिने तापक्रम (Temperature), सापेक्षिक आर्द्रता (Relative Humidity), हावाको गुणस्तर (धुलोका कण र हानिकारक वाष्पशील जैविक यौगिकको मात्रा) र प्रति घण्टा हावा परिवर्तनको दर (Air Change Rate) जस्ता पक्षहरू मापदण्डमा तोकिएको छ।
भवन सम्बन्धी मापदण्ड
निःसन्तान व्यवस्थापन सेवा प्रदान गर्ने भवन राष्ट्रिय भवन संहिता अनुसार निर्माण भएको हुनुपर्छ। यो भवन प्रसूति तथा स्त्रीरोग सेवा दिइरहेको स्वास्थ्य संस्थाको परिसरभित्रै वा तोकिएको आवश्यक प्रक्रिया पूरा गरेर छुट्टै स्थानमा पनि सञ्चालन गर्न सकिनेछ। भवन अपाङ्गता-मैत्री हुनु अनिवार्य छ। यदि संस्थाको आफ्नो भवन छैन भने कम्तिमा ५ वर्षको घर भाडा सम्झौता भएको हुनुपर्नेछ।
आई.यु.आई. र आई.भी.एफ. सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थाको भौतिक संरचनाको तोकिए बमोजिमको नमुना नक्सा (फ्लोर प्लान) गरेको हुनुपर्ने छ। सेवा प्रवाहलाई व्यवस्थित, वैज्ञानिक र सहज बनाउन विभिन्न कक्षहरूको अवस्थिति र अन्तरसम्बन्धलाई मापदण्डअनुसारको पूर्वाधार निर्माण गर्नुपर्नेछ।
सेवा सञ्चालनको अनुमति लिनुपर्ने:
संस्था/कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, संस्थाको विधान, जनशक्तिको योग्यता र सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्र, भौतिक पूर्वाधार र उपकरणको विस्तृत विवरण र भवन निर्माण सम्पन्न प्रमाणपत्र लगायतका कानुनी, वित्तीय तथा प्राविधिक कागजातहरू सहित संचालनको अनुमति लिनुपर्ने छ।
गैरसरकारी वा निजी संस्थाको संचालन अनुमति तथा खारेजी
कुनै पनि गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले मन्त्रालय वा तोकिएको निकायबाट अनुमति नलिई आई.यु.आई. वा आई.भी.एफ. सेवा सञ्चालन गर्न पाउने छैन। अनुमतिका लागि तोकिएका कागजातसहित आवेदन दिनुपर्नेछ र मन्त्रालयको अनुगमन टोलीले स्थलगत निरीक्षण गरी मापदण्ड पूरा भएमा मात्र अनुमति प्रदान गर्नेछ। अनुमति प्राप्त संस्थाले नियमित नवीकरण गराउनुपर्नेछ। मापदण्ड पूरा नगर्ने, नवीकरण नगराउने वा निर्देशन पालना नगर्ने संस्थाको सेवा मन्त्रालयले बन्द गर्न वा अनुमति खारेज गर्न सक्नेछ।
सेवा शुल्क र अनुगमन
सेवा शुल्क स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार मन्त्रालयले तोकेबमोजिम मात्र लिन पाइनेछ। तोकिएको भन्दा बढी शुल्क लिने संस्थालाई कानुनबमोजिम कारबाही गरिनेछ। सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे अनुगमन गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखको संयोजकत्वमा एक अनुगमन समिति रहनेछ। समितिले वर्षमा कम्तिमा दुई पटक वा आवश्यकताअनुसार कुनै पनि समयमा अनुगमन गर्न सक्नेछ।
गोपनीयता, जनशक्ति उत्पादन र अभिलेख
स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी सबै जानकारी पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ। मन्त्रालयले आई.भी.एफ. विशेषज्ञ र इम्ब्रायोलोजिष्ट जस्ता आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक तथा फेलोसिप कार्यक्रमहरू सञ्चालन गर्न समन्वय गर्नेछ। सबै संस्थाहरूले प्रदान गरेको सेवाको अभिलेख व्यवस्थित गरी मासिक रूपमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा पठाउनुपर्नेछ। साथै, प्रत्येक संस्थाले गरिब तथा विपन्न नागरिकहरूलाई १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउनु पर्नेछ।
शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड
दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पती दुवैको लिखित मञ्जुरी हुनुपर्नेछ। दाताको परिचय पूर्ण रूपमा गोप्य राख्ने र एउटै व्यक्तिले निश्चित पटकभन्दा बढी दान गर्न पाउने छैन। दातालाई कुनै पनि प्रकारको प्रलोभनमा पार्न वा दबाब दिन पूर्ण रूपमा निषेध गरिएको छ भने कुनै पनि दाताले प्रलोभन वा प्रभाव वा दबाबमा परेर दान गर्न हुँदैन।
क) वीर्य दान (Semen Donor) गर्ने व्यक्तिले पुरा गर्नु पर्ने मापदण्ड
- एक डोनरले कम्तिमा १५ दिनको फरकमा दश पटक भन्दा बढी दान दिन नमिल्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरुबिच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने।
- डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
- डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने
- डोनरको शारिरीक परीक्षण तथा आवश्यक जाँचहरु प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने ।
- नागरिकता नं. तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने
- बिरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं. मार्फत रेकर्ड राख्नु पर्ने
- दान गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (CBC, RBS, RFT, LFT, GROUPING, SEROLOGY) हरुको रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने । र सेरोलोजी टेष्ट विगत तीन महिना भित्र Negative हुनु पर्ने
- वीर्य दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनु पर्ने
- विवाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको शुसुचित मन्जुरी हुनु पर्ने
- कुनैपनि व्यक्तिलाई प्रलोभनमा पारी दान दिन बाध्य पार्न पाइने छैन ।
- माथि उल्लेखित शर्तहरु पालना हुने गरी र दुरुपयोग नहुने गरी software निर्माण परी लागु गर्नुपर्ने ।
(ख) अण्डा दान (Oocyte Donor) गर्ने व्यक्तिले पुरा गर्नु पर्ने मापदण्ड
- एक डोनरले छ पटक भन्दा बढी दान दिन नमिल्ने, डोनेसनको अवधी कम्तिमा पनि तीन महिनाको फरक हुनु पर्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरु बिच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने।
- डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
- डोनरको उमेर २० देखि ३५ वर्षको हुनु पर्ने
- डोनरको शारिरीक परीक्षण तथा आवश्यक जाँचहरु प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने
- नागरिकता नं. तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने
- आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं. मार्फत रेकर्ड राख्नु पर्ने
- दान गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (CBC, RBS,RFT, LFT, GROUPING, SEROLOGY) हरुको रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने । र सेरोलोजी टेष्ट विगत तीन महिना भित्र Negative हुनु पर्ने
- अण्डा दान(Oocyte Donor) गर्ने व्यक्तिलाई बुझ्ने भाषामा तत्काल वा पछी आउन सक्ने जटिलताको बारेमा जानकारी गराएको हुनुपर्ने।
- अन्डा दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनुपर्ने ।
- विवाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको सुसुचित मन्जुरी हुनुपर्ने ।
- कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी दान दिन बाध्य पार्न पाइने छैन ।
- माथि उल्लेखित शर्तहरु पालना हुने गरी र दुरुपयोग नहुने गरी software निर्माण परी लागु गर्नुपर्ने ।
हेल्थपाटी
तपाईँको अभिमत