'स्तनपान' शिशुको पहिलो खोप
'स्तनपान गरौँ' , काम गरौँ’ भन्ने नारासहित आजदेखि ७ दिनसम्म विश्व स्तनपान सप्ताह २०८० मनाइँदैछ ।
कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको हो ।
स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालमा शहरका आमाहरुले कार्यव्यस्तताका कारण आफ्ना शिशुलाई स्तनपान गराउने क्रम घट्दै गएको छ ।
स्तनपान भन्नाले शिशुलाई जन्म दिएपछि आमाले आफ्नो स्तनबाट निस्किने प्राकृतिक दूध खुवाउनु हो । शिशु जन्मेको जतिसक्दो चाँडो १ घण्टा भित्र आमाको दूध खुवाउन सुरु गर्नुपर्छ । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दूध मात्र खुवाउनु पर्छ, पानी पनि खुवाउनु हुँदैन जसलाई पूर्ण स्तनपान भनिन्छ । शिशुलाई कम्तीमा २ वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ ।
स्तनपानको महत्व
आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । बच्चा जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ ।
त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ । आमाको बिगौती दूधले भविष्यमा बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा सकारात्मक असर पार्दछ ।
शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्दछ । बच्चा जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथैसाथै कम्तिमा २ वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्दछ ।
हेल्थपाटी
तपाईँको अभिमत