सिभिल अस्पतालका डाक्टर, नर्ससहित कर्मचारीले पाएनन् कोभिड भत्ता
निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल)का डाक्टर नर्ससहित स्वास्थ्यकर्मीहरूले कोभिड भत्ता नपाएको गुनासो गरेका छन् । कोरोना महामारी सुरु भएयता बेलादेखिकै भत्ता नपाएको उनीहरुको गुनासो छ ।
कोभिडको समयमा ज्यान जोखिममा राखेर लगातार ४८ घण्टासम्म ड्युटी गरेको भएपनि आफूहरुले भत्ता नपाएको त्यहाँ कार्यरत एक डाक्टरले जानकारी दिनुभयो । 'हामी कोभिडमा दिनरात नभनी खट्यौँ, सरकारले नै दिने भनेको सुविधा मागेका हौँ' डाक्टर भन्नुहुन्छ, 'तर पहिलो, दोस्रो, तेस्रो लहरको कुनै पनि भत्ता पाएनौँ।'
जोखिम भत्ता ५० प्रतिशत उपलब्ध गराउने भनेपछि निकै जोखिम मोलेर स्वास्थ्य उपचारमा खटिए पनि सरकारले स्वास्थकर्मीको दुख: बुझ्न नसकेको गुनासो उनीहरूको छ।
सिभिलमा अधिकांश डाक्टर, नर्स ज्यालादारीमा कार्यरत छन् । ज्यालादारीमा काम गर्नुपर्ने भएकाले पाउनुपर्ने भत्तासमेत नपाउँदा निकै पीडित बनेको अर्का डाक्टरले दुखेसो पोख्नुभयो । उहाँका अनुसार सिभिल १६ जना मेडिकल अफिसर, मेडिसिन कन्सल्टेन्ट १०, सरसफाइकर्मी ८ सहित अन्य स्वास्थ्यकर्मी तथा सुरक्षा गार्डले कोभिड भत्ता पाएका छैनन् ।
कोभिडको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहित र उत्साहित गराउन सरकारले घोषणा गरेको कोभिड भत्ताले नै स्वास्थ्यकर्मीलाई निराश र हतोत्साहित बनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत