भूकम्पले भत्किएको घरबाट बच्चीको जीवितै उद्धार, आमासँगै जोडिए थियो नाभी

सिरियामा सोमबारको भूकम्पले भत्किएको भवनभित्र एक भर्खरै जन्मिएका शिशु जीवितै फेला परेका छन्।
टर्कीको गाजियन्टेप प्रान्तस्थित नुरदागी शहरनजिकै केन्द्रविन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।
यो भूकम्पले सिरियामा समेत ठूलो क्षति पुर्याएको छ।
समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै दी गार्जियन्सले दिएको खबर अनुसार भूकम्पमा बच्चीलाई जीवित अवस्थामा उद्धार गरियो। उनकी आमाको भूकम्पमा परी मृत्यु भयो। बच्चीको नाभी आमासँगै जोडिएकै अवस्थामा फेला परेको थियो।
ती बच्चीको परिवारमा उनी मात्रै जीवित रहेको उनका नातेदार खलील अल–सुवादीले एएफपीलाई बताएका छन्।
भत्किएको भवनको भग्नावशेष खन्ने क्रममा बच्ची जीवित भेटेको सुवादीले जानकारी दिएका छन्।
‘खन्ने क्रममा हामीले आवाज सुन्यौँ' सुवादीले एएफपीलाई भने, ‘हामीले धुलो सफा गर्यौँ। बच्चीको नाभी आमासँगै जोडिएको अवस्थामा थियो। हामीले त्यो काट्यौँ। मेरो भाइ(काकाको छोरा)ले अस्पताल लगे।’
उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोमा देखिन्छ कि–एक व्यक्ति भवनको भग्नावेशबाट धुलोले ढाकिएको बच्चालाई निकालेर सिढीबाट तलतिर दौडिरहेको छ। अर्काे व्यक्ति बच्चालाई ओडाउनका लागि हातमा कम्बल लिएर बच्चा बोकेको व्यक्तितर्फ दौडिन्छ। अर्काे व्यक्तिले बच्चालाई अस्पताल लैजान गाडीका लागि चिच्चाउँछ।
बच्चीलाई उपचारका लागि नजिकैको अफ्रिन शहरमा लगिएको थियो। केही घण्टापछि त्यही भवनको भग्नावशेषबाट बच्चीका बुबा अब्दुल्ला, आमा अफरा, चार दाजुभाइ र एक काकीको शव निकालियो।
यो बिद्रोहीको नियन्त्रणमा रहेको शहर हो। एएफपी संवाददाताका अनुसार भूकम्पले ध्वस्त पारिएका ५० घर मध्ये यो एक थियो।
यो परिवार सरकार नियन्त्रित शहर देयर इजोरबाट यहाँ आएको थियो।
भूकम्प परी सिरियामा १६०० भन्दा धेरैको मृत्यु भएको छ।
तपाईँको अभिमत