स्वास्थ्यमन्त्रीको स्टन्ट : सेतोकोट दिवस वर्षमा कति पटक मनाउने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदबहाली गरेको १०० दिनको उपलक्ष्यमा मनाउन लागिएको सेतोकोट दिवस विवादित बन्न पुगेको छ ।
मन्त्री बस्नेतले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाएर सेतोकोट दिवस समारोह आयोजना गर्नुभएको छ ।
आफ्नो कार्यकालको १०० दिनलाई दिवस भनी मनाउन लागेपछि चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले यसमा प्रश्न उठाएका छन् ।
सरकारी सेवामा आवद्ध चिकित्सक स्वास्थ्यकर्मीलाई सेतो एप्रोनसहित कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ । आज २ बजे कार्यक्रम हुँदैछ ।
एमालेनिकट चिकित्सकहरुले त यो अनैतिक कार्य भएको र स्वास्थ्य मन्त्रालयले त्यसरी बाध्य पार्न नहुने तर्क गरेका छन् ।
अन्य चिकित्सकहरुले पनि यो विषय असान्दर्भिक भएको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवाको उच्च तहमा आवद्ध एक चिकित्सकले यसलाई स्वास्थ्य मन्त्रीको अनावश्यक स्टन्टको संज्ञा दिनुभयो ।
‘मन्त्रीको पदबहाली भएको १०० दिनलाई दिवस मनाउने कुरा कति सान्दर्भिक हुन्छ आफैँ मूल्यांकन गर्नु न ?’ ती चिकित्सक प्रश्न गर्नुहुन्छ, ‘हरेक मन्त्री आउँदा यसरी नै मनाउने होकि हरेक वर्ष यही दिनलाई सेतोकोट दिवस मान्ने हो ?’
सुरुमा सेतोकोट दिवस भन्ने केही कुरा थिएन । १०० दिनको कार्यक्रममा आउनू, सेतोकोट लगाएर आउनु भन्ने मात्रै थियो । पछि सच्याएर सेतोकोट दिवसको कुरा आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीको भनाइ छ ।
सेतो कोट कहाँ लगाउने कहाँ नलगाउने भन्नेमा मेडिकल काउन्सिलको आचारसंहितामा केही उल्लेख नभएको काउन्सिलका एक अधिकारी बताउनुहुन्छ । त्यो कहाँ लगाउने कहाँ नलगाउने भन्ने कुरा व्यक्तिको इच्छाको कुरा भएको उहाँको भनाइ छ ।
त्यो प्रहरीकाे बर्दीजस्तै भएकाले त्यसको दुरुपयोग नहोस् भन्नेमा भने स्वास्थ्यकर्मी स्वयं सचेत हुनुपर्ने सुझाव काउन्सिलका अधिकारीले दिनुभयो ।
‘सेतोकोटलाई आम व्यक्तिले सम्मान गर्छन, एउटा विश्वास छ, त्यो मर्न दिनुभएन। जहाँ पायो त्यही लगाएर हिड्नु भएन सेतो कोट त कुकले पनि लगाउँछ नि ।’ उहाँ भन्नुहुन्छ।
आफ्नो १०० दिनलाई तामझामसँग मनाएर मन्त्रीले आफू नै राज्य हो भन्ने दम्भ देखाउन खोजेको आरोप एक वरिष्ठ चिकित्सकले लगाउनुभयो ।
‘उहाँको सामन्ती पारा देखियो’ ती चिकित्सक भन्नुहुन्छ, ‘१०० दिनको कार्यक्रम यति तामझामसँग मनाउनु नैतिक काम होइन । अझ यही दिनलाई सेतोकोट दिवस भनेर मनाउनु झन नसुहाउने विषय हो ।’
एप्रोनसहित मन्त्रीको स्वागतमा आउनू भन्ने उर्दीले पञ्चायत कालको झल्को दिएको उहाँ बताउनुहुन्छ । पञ्चायत कालमा शासकहरुले आफ्नो स्वागतमा ड्रेसहित कर्मचारी उतार्ने, स्कुल ड्रेससहित विद्यार्थी उतार्ने चलन रहेको ती चिकित्सकले स्मरण गराउनुभयो ।
स्वास्थ्य क्षेत्रका महत्वपूर्ण कुनै परिघटना भएको दिनलाई आधार मानेर सेतोकोट दिवस मनाएको भए सान्दर्भिक हुने ती चिकित्सिकको तर्क छ ।‘हाम्रो जस्तो मन्त्री परिवर्तन भइरहने मुलुकमा मन्त्रीको १०० दिनलाई दिवस मनाउदा वर्षमा कति पटक एउटै दिवस मनाउने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।
पछिल्लो वर्षलाई हेर्ने हो भने पनि एक वर्षमा ३ जना स्वास्थ्य मन्त्री परिवर्तन भएको देखिन्छ । अघिल्लो वर्ष असारमा विरोध खतिवडालाई विस्तापित गर्दै भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएको थियो ।
त्यसपछि २०७९ माघ ३ गते पदम गिरी स्वास्थ्य मन्त्री नियुक्त हुनुभयो । गिरीले आफ्नो कार्यकाल १०० दिन पु¥याउन पाउनुभएन । फागुन १५ गते उहाँले पदबाट राजीनामा दिनुभयो ।
२ महिना स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन थियो । बैशाख २१ गते मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो ।
यस्तो अवस्थामा के लाई आधार मानेर सेतोकोट दिवस मनाउने भन्ने प्रश्न उठ्ने ती वरिष्ठ चिकित्सक तर्क गर्नुहुन्छ ।
एउटा मन्त्रीको कार्यकाल १०० दिन पुगेको दिनलाई नै विशेष दिन मानेर अर्काे मन्त्रीले सोही दिन त्यो दिवस हरेक वर्ष मनाउला त ? उहाँ प्रश्न गर्नुहुन्छ’ हरेक मन्त्रीले १०० दिनमा यो दिवस मनाउने हो भने, मन्त्री केही वर्ष टिकेको खण्डमा कति वर्षको फरकमा यो मनाउने ?’
लहड र अन्याैलपूर्ण कुरालाई दिवसको रुप दिएर पेशाकर्मीलाई लज्जित बनाउने काम भएको आरोप उहाँको छ । नाममा प्रचारकाे लाेभमा मन्त्री बस्नेत अनावश्यक उद्घाटन र अस्पताल अनुगमनमा समय व्यतित गरिरहेकाे स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु बताउँछन् । अनुगमनमा सँगसगै हिड्नपर्दा मन्त्रालयकाे दैनिक काममासमेत असर पर्न थालेकाे एक अधिकारीले बताउनुभयाे ।
अनुगमनमा मन्त्रालय, विभागका अधिकारीहरुलाई सँगसँगै लिउर हिड्दा दैनीक कामकाजमा असर पुगिरहेको ती अधिकारीको भनाइ छ मन्त्री प्रचारमूखी काममा व्यस्त हुँदा आफूहरु हैरान भएकाे अर्का कर्मचारीले बताउनुभयाे ।
डेंगी र आँखा (आँखा पाक्ने समस्या) सक्रमण बढिरहँदा मन्त्रीले यसबारे खासै चासो नदेखाएको गुनासो पनि आउन थालेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत