कोरोना खोप नलगाई परीक्षामा सामेल हुन सक्दैनाै : मेडिकल विद्यार्थीहरु
काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले कोरोनाका कारण यसअघि स्थगित गरेको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असार २१ गतेदेखि सञ्चालन गर्ने भएको छ । तर विद्यार्थीहरुले कोरोना खोप नलगाई परीक्षामा सामेल हुननसक्ने बताएका छन् ।
एमबीबीएस तृतिय फेज पाचौं वर्षको परीक्षा साउन १० गतेदेखि हुदैछ तर विद्यार्थीहरुले परीक्षा सकिएलगत्तै प्रयोगात्मक परीक्षाका लागि अस्पताल जानपर्ने भएकाले खोप बिना परीक्षा दिन नसक्ने अडान लिएका छन् ।
अबको एक दुई महिनाभित्र इन्टर्नका लागि अस्पतालहरुमा बिरामी जाँच्न जानपर्ने भएकाले आफुहरुलाई पनि खोपको प्राथमिकतामा राख्न सरकारलाई पटक - पटक अनुरोध गर्दै आएको गण्डकी मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी प्रविण गौतमले जानकारी दिनुभयो ।
सुरुमा नेपालमा कोरोना खोप भित्रिएदेखि नै आफुहरुलाई प्राथमिकतामा राख्न आग्रह गरिएपनि केही दिन अगाडिमात्रै आफुहरुले पहिलो मात्रा खोप पाएको दुखेसो उहाँले गर्नुभयो । आफु सरह एउटै तहमा अध्ययनरत उपत्यकाका मेडिकल कलेजका साथीहरुले दोस्रो खोप पाइसक्दा उपत्यकाबाहिरका धेरै विद्यार्थीहरुले पहिलो मात्रा खोपसमेत नपाएको भनाइ उहाँको छ ।
कोरोनाको पहिलो लहर सकिएको केही समयपछि खोप नलगाई अस्पतालमा ४ महिना पोष्टिङ ड्युटीमा खटिएको भएपनि आइओएम पदाधिकारीहरुले आफुहरुलाई खोप लगाउने विषयमा पहल नगरेको गुनासो उहाँले गर्नुभयो ।
‘हामी त एक दुई महिनामै इन्टर्नमा अस्पतालमा जानपर्छ, तेस्रो लहरको चर्चा चलिरहेको छ त्यतिबेला हामी ड्युटीमा खटिएको हुनपर्छ तर हामीले खोप पाएका छैनौं गौतमले भन्नुभयो, त्यसैले हामी भनिरहेका छौं परीक्षा अगावै सबै विद्यार्थीले दुबै मात्रा खोप पाउनैपर्छ ।
,उहाँका अनुसार उपत्यकाबाहिर नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजका विद्यार्थीहरुमध्ये केहीले पहिलो मात्रा खोप पाएका छन् भने केहीले एक मात्रा पनि खोप पाएका छैनन् ।
यसअघि एमबीबीएस अन्तिम वर्षको परीक्षा असार २१ गते तोकिएको थियो तर निषेधाज्ञाका कारण आइओएमले परीक्षा स्थगित गरेको थियो । एमबीबीएसका ६२६ जना विद्यार्थीमाझ हालै गरिएको एक सर्वेमा ३४ प्रतिशत विद्यार्थीले दुबैमात्रा र ३३ प्रतिशतले पहिलो मात्रा खोप पाएका छन् । यस अवस्थामा ९० प्रतिशत विद्यार्थीले परीक्षामा सहभागी हुन नसक्ने बताएका छन् ।
पहिलो मात्रा खोप पाउनेमा गण्डकी मेडिकल कलेज र नेशनल मेडिकल कलेजका विद्यार्थीहरु रहेका छन् । गण्डकी र नेशनलका विद्यार्थीहरुले सम्भवत परीक्षा अगाडि नै दोस्रो मात्रा खोप पाउने देखिएपनि एक मात्रा खोपसमेत नलगाएका विद्यार्थीहरुलाई तुरुन्तै खोपको व्यवस्था गर्नपर्ने माग विद्यार्थीहरुको रहेको छ ।
‘परीक्षा दिन आँउदा पीसीआर रिपोर्ट लेराऊ भन्ने, खोपको लागि पनि विद्यार्थी स्वयम्ले हारगुहार गर्नपर्ने अनि पदाधिकारीहरु कोर्स अनुसारभन्दै हतार - हतार परीक्षा तालिका निकाल्ने तर खोप नलगाएका विद्यार्थी कति छन् भनेर नसोच्ने यो अन्याय भएन ? गौतमले प्रश्न गर्नुभयो ।’
हेल्थपाटी
तपाईँको अभिमत