एक्कासी किन बढे ज्वरो, रुघाखोकीका बिरामी ?
नेपालमा केहीदिन यता कोभिड–१९ सँग मिल्दा लक्षण भएका बिरामी बढिरहेका छन् । ज्वरो, रुघाखोकी, जिउ दुख्ने जस्ता लक्षणसहितका बिरामी परेको कुरा धेरैले सामाजिक सञ्चालमार्फत सेयर गरिरहेका छन् ।
ज्वरो, रुघाखोकीसहितको समस्या देखिएर केहीदिन घरमै आराम गर्नुभएका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल बुधबार अस्पताल भर्ना हुनुभयो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि रुघा खोकीको समस्या देखिएको छ ।
शुक्रबार पार्टीको विधान महाधिवेशन उद्घाटन कार्यक्रममा ओलीले आफ्नो लिखित सम्बोधन पूरा पढ्न सक्नुभएन । रुघाखोकीले गाह्रो भएको भन्दै बीचैमा रोकिएर पार्टीका नेता शंकर पोखरेललाई लिखित भाषण पढ्न लगाउनुभयो ।
अहिले काठमाडौं उपत्यकाम धेरै बालबालिका ज्वरो रुघाखोकीका कारण बिरामी परिरहेका छन्। यस्ता समस्या देखिने अधिकांशलाई कोभिड संक्रमण भने देखिएको छैन।
भएको के हो त ?
त्रिवि शिक्षण अस्पालका छातीरोग विशेषज्ञ डा.निरज बम पछिल्ला दिनमा अस्पतालमा ज्वरो र रुघाखोका बिरामी धेरै बढेको बताउनुहुन्छ । ‘विशेष गरी १४ वर्षभन्दा माथि उमेरका किशोर–किशोरीहरू आएका छन्’ डा. बम भन्नुहुन्छ ‘ज्वरो आउने, रुघाखोकी, बान्ता आउने जस्ता लक्षणका बिरामी धेरै छन्।'
डा. बमका अनुसार यस्ता लक्षणका साथ अस्पताल आउने अधिकांशमा इन्फ्लुएन्जा ए देखिएको छ ।
अहिले मौसममा छिनमै पानी पर्ने, घाम लाग्ने भइरहेको छ । वातावरण सुख्खा हुँदा, धुँवाका कणहरू हावामा बढ्दैछन् । यही कारणले श्वासप्रश्वासको माध्यमबाट धेरैमा यो सरेको डा. बमको भनाइ छ । ‘वातावरणमा भाइरसका कणहरू घुमिरहेकाले यस्तो समस्या देखिएको हो’ डा बम भन्नुहुन्छ, ‘प्रत्येक वर्ष यो समयमा मौसमी रुघाखोकीका बिरामी बढी देखिन्छन् ।’
कोभिड संक्रमणको जोखिम कम भएको भन्दै पछिल्ला दिनमा विद्यालय खुलाएका कारण पनि स्कुल जाने उमेरका धेरै बालबालिका मौसमी रुघाखोकी समस्या बढी देखिएको डा. बम बताउनुहुन्छ ।
कुनै नयाँ रोग नभर नभएर यो सिजन फ्लू नै भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाको भनाइ छ।
अहिले हावामा सुक्खापन बढेको, धूलो बढ्नुका साथै चिसो पनि बढेकाले चिसो र धूलोको एजर्लीका कारण पनि धेरैलाई समस्या देखिएको उहाँको भनाइ छ । टेकु अस्तपालमा पनि मौसमी रुघाखोकीका बिरामीहरू परीक्षणका लागि आइरकेको डा.बास्तोलाले जानकारी दिनुभयो ।
कोभिड नेगेटिभ इन्फ्लुएन्जा पोजेटिभ
असोज लागेयता कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरू धेरै बढेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । यस्ता लक्षण देखिएका बिरामीको जाँच गर्दा कोभिड नेगेटिभ तर इन्फ्लुएन्जा पोजेटिभ देखिएको गुप्ता बताउनुहुन्छ ।
‘गतवर्षको तुलनामा यसवर्ष एन्फ्लुएन्जाका बिरामी धेरै देखिएका छन्’ गुप्ता भन्नुहुन्छ, ‘गतवर्ष कोरोना धेरै थियो अहिले एन्फ्लुएन्जा ए को एच३ टाइप देखिएको छ ।’ नमुना ल्याइएकामध्ये दैनिक करिब ५ जनालाई इन्फ्लुएन्जा पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।
इन्फ्लुएन्जाले मानिसको मृत्यु नभएपनि सिकिस्त बनाउँछ । सुरुका ३ देखि ४ दिनसम्म ज्वरो आउँछ । मुख सुख्खा हुने, खोकी लाग्ने, शरीर दुख्ने, बेस्सरी टाउको दुख्ने हुन्छ । चिकित्सकहरूका अनुसार यो निको हुन करिब २ हप्ता लाग्छ ।
एन्फ्लुएन्जा भएका व्यक्तिहरूबाट अन्यमा व्यक्तिलाई छिटो र सजिलै सर्ने भएकाले यस्ता लक्षण देखिएका व्यक्तिहरू छुट्टै बस्नुपर्छ । मास्क लगाउने, हात धुने गर्नुपर्छ । बालबालिकालाई छिट्टै संक्रमण हुने भएकाले यस्ता लक्षण देखिए बालबालिकाबाट टाढै रहनुपर्छ ।
इन्फ्लुएन्जा बढिजसो असार र असोज महिनामा देखिने चिकित्सहरूको भनाइ छ । टेकुमा एन्फ्लुएन्जाको परीक्षण निशुल्क भइरहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत