कलेजोका बिरामी बढ्दो,७ वर्षमा २२ जनाको मात्रै प्रत्यारोपण किन ?
कलेजो बिग्रनुमा प्रमुख कारण मदिरा

नेपालमा वर्षेनी कम्तिमा १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांकले देखाउँछ। विभिन्न अस्पतालमा आएका बिरामीको तथ्यांकअनुसार वर्षमा कलेजो फेल भएका १ हजार जना बिरामीको प्रत्यारोपण गर्नुपर्ने हुन्छ । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने बिरामीको प्रत्यारोपण हुन नसके उनीहरु बढीमा २ वर्षमात्रै बाँच्ने चिकित्सकहरू बताउँछन् ।
१ हजार जना प्रत्यारोपण गर्नपर्ने अवस्थाका बिरामी देखिएपनि अहिले नेपालमा वर्षमा मुस्किलले ३ जनाको मात्रै प्रत्यारोपण हुने गरेको छ । उपचारमा देखिएको माग र आपूर्तिको यो ठूलो अन्तरले बिरामीलाई अर्कालमै मारिरहेको प्रष्टै देख्न सकिन्छ ।
रोगको निदानको क्रम बढेसँगै कलेजो रोगका बिरामीको संख्या पनि बढिरहेको छ । अस्पतालहरुमा दैनिक ओपिडीमा १० देखि १५ जना कलेजोका बिरामी पुग्ने गर्छन् । जसमध्ये आधाभन्दा बढीको कलेजोले काम नगर्ने अवस्थाका हुन्छन र उनीहरुलाई कलेजो प्रत्यारोपणको सुझाव दिइन्छ । तर, डाक्टरको परामर्श लिएर घर गएका बिरामीहरु प्रत्यारोपणका लागि फेरि अस्पताल आउँदैनन् । केही बिरामी सिकिस्तै भएपछि अस्पताल भर्ना हुन आउने गरेको चिकित्सकहरु बताउँछन् ।
उहाँहरुका अनुसार प्रत्यारोपण नगरेका बिरामीहरु प्रत्येक २ हप्तामा अस्पताल भर्ना भएकै हुन्छन् । प्रत्यारोपणको पालो पर्खेर बसेका केही बिरामीले भने दाता र खर्च अभावमा मृत्युवरण गर्नुपरेको तितो यथार्थ सुनाउँछन् चिकित्सकहरु ।
कलेजो प्रत्यारोपणका लागि हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र चितवन मेडिकल कलेज सिएमसी चितवनले अनुमति पाएको छ । भक्तपुरमा ८, शिक्षण अस्पतालमा ८ र सीएससीमा ६ गरि जम्मा २२ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ ।
नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको ७ वर्षमा २२ जनाको मात्रै प्रत्यारोपण भएको हो ।

कलेजो खराब हुने सबैजसो बिरामीमा मदिराको लत
डा.सागर पौडेल, पेट तथा कलेजो प्रत्यारोपण फिजिसियन चितवन मेडिकल कलेज
डा.पौडेल ३ वर्षदेखि पेट तथा कलेजो प्रत्यारोपण फिजिसियनका रुपमा चितवन मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । धेरैजसो बिरामीहरु सबैभन्दा पहिला फिजिसियन कहाँ पुग्ने गर्छन् । डा.पौडेलले दैनिक ओपिडीमा १५ जनाजति कलेजो सम्बन्धि समस्या लिएर आएका बिरामीको जाँच गर्दै आउनुभएको छ ।
जसमा ५ देखि १० जना महिला बिरामी हुने गर्छन् भने १५ जनामध्ये कम्तिमा ५ जनाको कलेजोले कामै नगर्ने अवस्था हुन्छ । जसको प्रत्यारोपण नगरी हुँदैन । उक्त अस्पतालमा आएका बिरामीमध्ये वर्षमा करिब ७०० जना जत्तिको कलेजो प्रत्यारोपण गर्नैपर्ने देखिन्छ ।
कलेजोको समस्या लिएर अस्पताल पुगेकामध्ये सबैजसो बिरामीमा मदिराको लत रहेको उहाँले पाउनुभएको छ । प्रत्यारोपणका लागि बिरामी र आफन्त तयार भएपनि, पछि उनीहरू सम्पर्कमा आउँदैनन् । प्रत्यारोपणको परामर्श दिइएकामध्ये अत्यन्तै निकै कम मात्प्ररै त्यारोपणमा आउने गरेको उहाँले सुनाउनुभयो । हालसम्म आफूले करिब ५०० जनालाई प्रत्यारोणको परामर्श दिएकोमा ७ जना मात्रै आएको पौडेल बताउनुहुन्छ ।
डा.पौडेलका अनुसार सिएमसीमा प्रत्येक दिन कलेजोसँग सम्बन्धित २० जना बिरामी भर्ना हुने गर्छन् । भर्ना भएकामध्ये अधिंकांशको कलेजोमा समस्या देखिनुमा कारण मदिरा नै हुन्छ । सिरोसिसका १० जना बिरामीमध्ये ८ जना मदिराको लत लागेका व्यक्तिहरु हुने गरेको पाइएको उहाँले बताउनुभयो ।
रोगपत्ता लागेकाले बिरामी बढेको देखियो
डा.रमेशसिंह भण्डारी, पेट तथा कलेजो प्रत्यारोपण सर्जन, शिक्षण अस्पताल
जनसंख्या बढेसँगै कलेजो सम्बन्धी रोग बढिरहेको त्रिवि शिक्षण अस्पतालका पेट तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी बताउनुहुन्छ ।
रोग पत्ता लाग्ने क्रम बढ्दा बिरामीको संख्या पनि बढेको उहाँको ठम्याइ छ । कलेजो फेल भएका बिरामीको चाप बढेको देख्नु भएका भण्डारीले नेपालमा अझैपनि कलेजो ट्रान्सप्लान्टका लागि बिरामी तथा आफन्त तयार भइनसकेको आँकलन गर्नुहुन्छ । विगत ३ वर्षदेखि ट्रान्सप्लान्ट सुरु भएको शिक्षण अस्पतालमा अहिलेसम्म एकजना बालकसहित ८ जनाको प्रत्यारोपण भएको छ ।

प्रत्यारोपणका लागि सल्लाह दिइएका बिरामीमध्ये नगन्यले मात्रै उक्त उपचार गर्ने गरेको उहाँले देख्नुभएको छ। शिक्षण अस्पतलामा प्रत्येक १० जनामा बढीमा ३ जना बिरामी मात्रै प्रत्यारोपणका लागि चिकित्सकले तोकेको समयमा अस्पताल आउने गरेको उहाँ बताउनुहुन्छ ।
डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपणका लागि कम्तिमा २० लाख रुपैंया लाग्ने भएकाले खर्चको अभावले धेरै बिरामी उपचारमै आउदैनन् । दाता नपाउनु अर्काे समस्या छ । नजिकका नाताले मात्रै कलेजो दान गर्न पाउने कानुनी व्यवस्था रहेकाले यदि कलेजो दिन आफन्त तयार भइहाले पनि उनीहरुको क्रसम्याच नमिल्दा प्रत्यारोपण हुन सक्दैन । कतिपय अवस्थामा क्रसम्याच मिलेका दातामा स्वास्थ्य समस्या देखिँदा पनि प्रत्यरोपण अगाडि बढाउन सकिदैन ।
कलेजो दाता र रकमको जाेहाे गर्नमै समय बित्दा शिक्षण अस्पतालमा ट्रान्सप्लान्टलाई पालाे पर्खेका १२ जना बिरामीको मृत्यु भएको दुखान्न्त भण्डारीले सुनाउनुभयो ।
८० प्रतिशत बिरामीको कलेजो बिग्रनुको कारण मदिरा
डा. एकानन्द सिंह, कलेजो प्रत्यारोपण सर्जन ग्राण्डी इन्टरनेशनल हस्पिटल
महिला होस् वा पुरुष कलेजो बिग्रनुमाल्कोहल नै कारक देखिएको छ । मदिरा प्राय पुरुषले बढि खाने गरेकाले नेपालमा कलेजो बिग्रने समस्या पुरुषलाई नै धेरै देखिएको छ ।
अस्पतालमा आउने बिरामीको आँकडा हेर्दा नेपालमा ८० प्रतिशत बिरामीको कलेजो बिग्रनुको कारण अल्कोहल नै छ । ३५ देखि ४० वर्ष माथिका व्यक्तिलाई कलेजाेकाे समस्या देखिरहेकाे छ ।
डा.सिहका अनुसार अल्कोहलले क्रमिक रुपमा कलेजोलाई सुन्नाउँदै लैजान्छ र हेपाटाइटिस र कलेजोको सेलमा संक्रमण गराउँछ । त्यसपछि फाइब्रोसिस र सिरोसिस हुन्छ । फाइब्रोसिस भनेको कलेजो कत्तिको कडा भएको छ त्यो जाँच गर्ने प्रक्रिया हो । कलेजो नरम हुन्छ ।
भारत, म्यानमार लगायत पश्चिमा देशहरुबाट पनि परीक्षणका लागि आउने गर्छन् । उनीहरुमा भने हेपाटाइटिस बी र सी कै कारण कलेजो बिग्रने गरेको पाइयाे तर नेपालमा मदिराका कारण कलेजाे बिग्रिरहेकाे छ, याे चिन्ताकाे विषय हाे ।
सिएमसीमा आएका बिरामीकाे समस्या पनि उही
रकम अभावमा प्रत्यारोपण नगरेका बिरामीहरु प्रत्येक २ हप्तामा भर्ना हुन चितवन मेडिकल कलेज अस्पताल (सिएमसी) आउने गरेको डा. पौडेल देख्नुहुन्छ । 'त्यसरी पटक-पटक भर्ना भएर उपचार गर्दा प्रत्यारोपणमा लाग्नेभन्दा धेरै खर्च भइसकेको हुन्छ' डा.पौडेल भन्नुहुन्छ, 'त्यसैले प्रत्यारोपण गर्नुनै स्वास्थ्य र आर्थिक दुवै हिसावले उत्तम हो।'
बिरामीको गुणस्तरीय जीवनयापनका लागि प्रत्यारोपणका लागि प्रोत्साहित गर्न सरकारले सहयोग गर्नपर्ने सुझाव डा. भण्डारी र पौडेलको छ ।

कलेजो प्रत्यारोपणमा नेपाल सक्षम
शिक्षण अस्पतालमा वर्षेनी १२ देखि १४ जनाको प्रत्यारोपण गर्ने योजना रहेकोमा कोभिडले गर्दा असर गरेको भण्डारीको भनाइ छ । अझैपनि बिरामीहरु प्रत्यारोपणका लागि भारत सहित छिमेकी देशहरुमा जान्छन् । अहिले पनि बिरामीले नेपाली चिकित्सक र यहाँको उपचारमा विश्वास नगरी हालेको अवस्था रहेको भण्डारी बताउनुहुन्छ ।
सुरुमा बिरामीको बुझाई जुन देशमा पनि यस्तै हुन्छ, उहाँले भन्नुभयो, कलेजो प्रत्यारोपणका लागि अब नेपालकै चिकित्सक सक्षम भइसके भने यहाँको उपचार विधि पनि गुणस्तरीय छ । नेपाल प्रत्यारोपण गर्न सक्ने भइसकेको विद्यमान अवस्थामा कलेजो प्रत्यारोपणमा पनि सरकारले केही सहयोग गरे बिरामीहरुले स्वदेशमै उपचार लिन पाउने र प्रत्यारोपण गराउनेको संख्या पनि बढ्ने उहाँको दाबी छ ।
कलेजो प्रत्यारोपण जटिल
भण्डारीका अनुसार कलेजो लिने दिने दुवै प्रक्रिया जोखिमपूर्ण छ । लिने र दिने दुवै व्यक्तिको शल्यक्रिया गर्न ७/८ घण्टा लाग्छ । कलेजो भनेको शरीर सञ्चालन गर्ने कारखाना हो । सर्जिकल प्रक्रिया नै जटिल हुन्छ । सर्जरीमा सामान तथा औषधिहरु धेरै प्रयोग हुने भएकाले पनि यो खर्चिलो छ भने प्रत्यरोपणका सम्पन्न गर्न धेरै जनशक्ति चाहिन्छ ।
कति मदिरा सेवन गर्दा कलेजो बिगिन्छ ?
चिकित्सकहरुका अनुसार दैनिक ७० देखि ८० ग्राम रक्सी खाने व्यक्तिको कलेजो ८ देखि १० वर्षमा कलेजोमा समस्या देखिन थाल्छ । यदि यही मात्रामा १५ देखि २० वर्षसम्म मदिरा खाइरहे लिभर सिरोसिस हुन्छ ।
त्यस्ता बिरामीहरुमा जण्डिस देखिने, छाला कालो हुने, पेटमा पानी जम्ने, रगत वान्ता हुने र दिसा कालो हुने लक्षण देखा पर्छन् ।
पश्चिमा देशहरुमा भने कलेजो बिग्रनुमा मदिरा नभई हेपाटाइटिस बी र सी बढी कारक हुन्छन् । साथै हालैका गरिएका अध्यनले मोटोपना, मधुमेह, कोलेस्टेरोलका बिरामीमा कलेजो बिग्रने जोखिम उच्च रहने चेतावनी दिइरहेका छन् ।
हेपाटाइटिस बी र सीले कलेजोमा संक्रमण गराँउछ। यो मुख्यत संक्रमित व्यक्तिको रगत अन्य व्यक्तिको सम्पर्कमा आएमा संक्रमण हुन्छ । यदि गर्भवती आमालाई हेपाटाइटिस बी र सी छ भने बच्चालाई पनि संक्रमण् हुने जोखिम धेरै रहन्छ ।
१५ देखि २० वर्षसम्म संक्रमण गराएर कलेजोको सिरोसिस गराएर कामै नलाग्ने बनाउँछ । हेपाटाइटिस बी र सीका बारेमा बिरामीलाई थाहै हुँदैन । यसलाई साइलेन्स किलर पनि भनिन्छ । बिरामीमा १५ देखि २० वर्षसम्म थाहै हुँदैन । शरीरले थेग्नै नसक्ने अवस्थमा पुगेपछि पेटमा पानी जम्ने, जण्डिस,रगत वान्ता गर्ने लक्षण देखिन्छन्।
कलेजो बिग्रिएको पनि ४ वटा अवस्था हुन्छने । स्टेज १, २ यो अवस्था भनेको शरीरले थेग्न सक्ने अवस्थाका हुन् । ३ र ४ स्टेज भनेको अन्तिम स्टेज हो जसलाई शरीरले धान्नै नसक्ने हुन्छ र उनीहरुलाई प्रत्यारोपण अन्तिम विकल्प हुन्छ।
अनियन्त्रित मोटोपना, कोलस्टोरोल पनि कलेजो बिग्रनुको कारक बन्दै
२०३० सम्ममा कलेजो बिग्रनुको प्रमुख कारणमा अनियन्त्रित मोटोपना, कोलस्टोरोल तथा मधुमेह आउँछ भन्ने अनुसन्धानहरुले देखाइसकेको छ । त्यसैले खानपीन र जीवनशैलीलाई सन्तुलन राख्नपर्ने विज्ञहरुको सुझाव छ ।
तपाईँको अभिमत