कोभिड कता जाँदैछ– प्यान्डेमिकमै वा ‘इन्डेमिक’तिर ?
लगभग दुई वर्षको महामारी अवधिपछि कतिपय मुलुकले कोभिड–१९ लाई मौसमी फ्लू जस्तै सामान्य रूपमा लिने अभिप्राय राख्न थालेका छन् ।
पछिल्लो समय कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहे पनि बेलायत र आयरल्यान्डले प्रतिबन्धहरू खुकुलो पारेका छन् । सर्वसाधारण सामान्य जीवनयापनतिर लाग्न थालेका छन् । ओमीक्रोन तीव्र रूपमा फैलिन सक्ने क्षमता भएपनि गम्भीर हुने दर कम भएको अध्ययनहरूले देखाएकाले पनि कतिपय मुलुकले सामान्य रूपमै लिने अभिप्राय देखाइरहेका हुन् ।
डेनमार्कले आगामी सातादेखि प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ लाई ‘अब लामो समयसम्म खतरा नहुने’ श्रेणीमा राखेर प्रतिबन्धहरू हटाउन लागेको हो ।
स्पेन, बेलायत लगायतका मुलुकका नेतृत्वकर्ताले स्पष्ट रूपमा अब समाज भाइरसँगै जिउन सिक्नुपर्ने सन्देश दिन थालेका छन् । ‘कोभिड सकिएर जाँदैन । यो हामीसँगै धेरै–धेरै वर्षसम्म जान सक्छ, सायद सदैव रहन्छ अनि हामी यसैसँग जिउन सिक्नुपर्छ’, बेलायतका स्वास्थ्यमन्त्री सजिद जाविदले भन्नुभएको छ, ‘मलाई लाग्छ युरोपमा हामीले प्यान्डेमिकदेखि यसको इन्डेमिकतिर जाने संक्रमणकालिन अवस्थाको नेतृत्व गरिरहेका छौँ र संसारलाई कोभिडसँग सँगै जिउने उदाहरण देखाइरहेका छौँ ।’
यद्यपि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने अहिले नै कोभिड–१९ लाई इन्डेमिकतिर गइरहेको महामारीका रूपमा नलिन सचेत गराइरहेको छ । यसको उत्परिवर्तित रूप कहाँ कतिखेर आउने हो ठेगान नहुने र त्यसले ठूलो रूपमा लिन सक्ने भन्दै चेतावनी दिँदै आइरहेको हो ।म
‘नयाँ चुनौती खडा गर्दै भाइरस चाँडो चाँडो उत्परिवर्तित भइरहने भइरहेको छ, यसले अझै भाइरस अन्त्यको अनिश्चितता देखाइरहेको छ’, युरोपका लागि डब्लूएचओका वरिष्ठ सघन उपचार अधिकारी क्याथरिन स्मलवुडले प्रेस ब्रिफिङमा भन्नुभयो, ‘हामी महामारीको अन्त्य हुने विन्दुमा पुग्यौँ भनेर भन्ने अवस्थामा पक्कै पुगेका छैनौँ ।’
ओमीक्रोन भेरियन्टको संक्रमण तीव्र बनेको छ, जसले जनस्वास्थ्य प्रणालीमै दबाब सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गएको साता २ करोड १० लाख मानिसमा कोरोना भाइरस संक्रमण भएको छ, जुन महामारी सुरु भएयता साता दिनमै संक्रमण भएको यो सबभन्दा धेरै हो । अमेरिकामा ८० लाख मानिसमा संक्रमण भएको थियो । यो संख्या पनि अमेरिकामा एक सातामै संक्रमित हुने संख्या सबभन्दा बढी हो ।
यसैबीच, विश्वका धेरैजसो मानिसले कोभिडविरुद्धको पूर्ण खोप लगाउन पाएका छैनन् । यसले उनीहरूमा गम्भीर अवस्था सिर्जना हुन सक्ने सम्भावना कायमै रहेको छ । खोप लगाउने दर धेरैजसो मुलुकमा कम भएकाले कोरोनाको नयाँ भेरियन्ट निम्तिन सक्ने सम्भावना अझै रहेको छ । यसै कारण कोभिड महामारी इन्डेमिकतिर जाने लिक बाहिर हुनसक्छ ।
‘इन्डेमिक’ को मतलब के हो ?
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार इन्डेमिक भनेको ‘भौगोलिक क्षेत्रभित्र कुनै रोग वा संक्रमण सामान्य वा एकै किसिमले निरन्तर रहनु’ हो । टोनी ब्लेयर इन्स्टिच्यूट फर ग्लोबल चेन्जका वरिष्ठ सल्लाहकार डा. इबेर ओकेरेकाका अनुसार इन्डेमिकलाई ‘अनुमान गर्न सकिने र स्थिर’ शब्दले बुझ्न सकिन्छ । यसबेला कुनै निश्चित भौगोलिक क्षेत्रभित्र अनुमान गरेअनुरूप संक्रमण संख्या हुने उहाँको भनाइ छ ।
त्यस्तै डब्लूएचओका कार्यकारी निर्देशक माइक र्यानका अनुसार इन्डेमिक आफैँमा ‘राम्रो’ भने होइन । यो ‘सधैँ यसैगरी रहने’ भन्ने मात्र हो ।
इपिडेमिक भन्नाले कुनै संक्रमण वा रोग धेरै जनसंख्या वा समुदायमा तथा क्षेत्रमा फैलिएको भन्ने बुझिन्छ । त्यस्तै इपिडेमिक चाहिँ धेरै मुलुकमा भएको भन्ने बुझिन्छ । इन्डेमिकमा रोगलाई नियन्त्रण गर्न प्यान्डेमिकमा प्रयोग भएका उपायहरू पनि अवलम्बन गर्न सकिन्छ । यद्यपि प्यान्डेमिकमा जस्तो भयानक भने हुँदैन । तर ती उपायहरू वा विधिहरू अनिवार्य भने हुँदैनन् ।
यसरी हेर्दा कतिपय मुलुकले अब कोभिडलाई नियन्त्रणका लागि अपनाइएका मास्क लगाउने, लकडाउन गर्ने, भौतिक दूरी कायम गर्ने, धेरै परीक्षण गर्नेलगायतका उपायहरू कम गराउँदै लैजाने देखिन्छ ।
के कोभिड–१९ इन्डेमिकतिर जाने संक्रमणकालिन अवस्थामा छ ?
मुलुकअनुसार संक्रमणकालिन अवस्था फरक हुन सक्छ । संक्रमणको फैलावट, सिमानाकाको अवस्था, समुदायको प्रतिरोधात्मक क्षमतालगायतले फरक पार्छ ।
संयुक्त राष्ट्र संघका अनुसार धनी राष्ट्रहरूमा तीन जनामध्ये दुई जनाले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् । जनवरी १९ सम्मको तथ्यांकका आधारमा कम आय भएका मुलुकमा नौ जनामध्ये एक जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् । ‘इपिडेमिकदेखि इन्डेमिकतिर कुनै रोग गएको भन्ने कुनै ‘हार्ड एन्ड फास्ट’ नियम छैन’, जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका विज्ञ डा. बमेश अडाल्जाले भन्नुभयो ।
यद्यपि उहाँले अस्पतालको अवस्थालाई हेरेर इन्डेमिकतिर गए÷नगएको कुरा बुझ्न सकिने बताउनुभयो । यसैगरी उहाँले कोभिड पनि इन्डेमिकमा पुग्ने अवश्यसम्भावी रहेको बताउनुभयो । उहाँका अनुसार खोपको प्रयोग, प्रतिरोधात्मक क्षमताको विकासलगायतका कारण कोभिडका कारण अस्पताल भर्ना हुने संख्या कम हुँदै जान्छन् । त्यसले कोभिडलाई इन्डेमिकतिर डो¥याउँछ ।
डा. अडाल्जाले ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तर यसकै कारण अस्पताल भर्ना हुने संख्या कम भएकाले निश्चित रूपमा ओमीक्रोनपछि इन्डेमिकमा पुग्ने दाबी गर्नुभयो ।
ओमीक्रोनको तथ्यांकले प्यान्डेमिकको कस्तो चित्र देखाएको छ त ?
तीव्र गतिमा फैलिन सक्ने क्षमता रहेको ओमीक्रोन दक्षिण अफ्रिकामा नोभम्बरको अन्त्यतिर देखिएको थियो । यसबाट संक्रमित भएका व्यक्तिमा पहिलेका भेरियन्टभन्दा सामान्य रहेको अध्ययनले देखाएको छ । त्यस्तै खोप लगाएका र नलगाएका व्यक्तिमा यसको लक्षण फरक देखिएको बताइएको छ । खोप लगाएकामा नलगाएकामा भन्दा लक्षण सामान्य रहेको अध्ययनले देखाएको हो ।
यसको तीव्र संक्रमण क्षमताकै कारण चुनौती थपिएको हो । कतिपय मुलुकमा संक्रमितको उपचारमा समस्या भइरहेको पनि बताइएको छ । ‘ओमीक्रोन अत्यन्तै तीव्र गतिमा फैलिसकेको छ र अस्पताल भर्ना हुने तथा मर्नेको संख्या पनि बढेको देखेका छौँ’, युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाको मिसाइल स्मिथ ल्याबोरेटेरिज एन्ड स्कूल अफ बायोमेडिकल इन्जिनियरिङकी सहायक प्राध्यापक डा. अन्ना ब्लेक्नी भन्नुभयो ।
हालको अवस्थाले संक्रमण फैलिने जोखिम कायमै रहेको तथा नयाँ भेरियन्टको सम्भावना रहिरहेकै कारण सुरक्षाका मापदण्ड अपनाइरहनुपर्नेमा ओकेरेकेले जोड दिनुभएको छ । उहाँका अनुसार खोप मात्र पूर्ण सुरक्षाको आधार होइन, यसले संक्रमण भएमा गम्भीर अवस्था हुने सम्भावनालाई घटाउने मात्र हो ।
‘हामीले सुरक्षाका मापदण्ड अपनाउनैपर्ने स्थिति रहेको ओमीक्रोन भेरियन्टले देखाएको छ’, उहाँले भन्नुभयो, ‘महामारीलाई व्यवस्थापन गर्ने हाम्रा जति उपायहरू छन्, तिनलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ ।’
विश्व प्यान्डेमिकबाट कसरी बाहिर आउन सक्छ ?
यो प्यान्डेमिक अन्त्यका लागि खोप तथा उपचार विश्वव्यापी रूपमा सहज बनाउनुपर्नेमा अधिकांश विज्ञहरू राय छ । यसका लागि खोप नै प्रमुख रहेको विज्ञहरूको भनाइ छ ।
विज्ञहरूले नयाँ खोप विकासलाई निरन्तरता दिनुपर्ने तथा त्यसको प्रतिरोधात्मक क्षमताको अवधि कति समयसम्म रहन्छ, अध्ययन गर्नुपर्ने सुझाएका छन् । त्यस्तै आफूसँग भएका उपायहरू खोप, परीक्षण, एन्टिबडी परीक्षणलगायतका उपायहरू व्यापक र सहज बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
तपाईँको अभिमत