'नर्सको काम त पुछ्ने, गुहु-मुत सोहोर्ने हो भनेको सुन्दा दु:ख लाग्छ'(भिडियो)
नर्स जेनिशा राई ओखलढुंगा सामुदायिक अस्पतालमा कार्यरत छिन् । परिवारमा आमा, मामालगायत स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले नर्स बन्न प्रेरणा मिलेको उनी सुनाउँछिन्।
जेनिशा एसईई सक्काएर बसेकी थिइन् । त्यही समय ओखलढुंगा सामुदायिक अस्पतालले नर्सिङ पढाइ सुरु गर्ने भयो । घरमै बसेर नर्सिङ पढ्न पाउने अवसर आएपछि उनले दायाँबायाँ नसोचिकन स्टाफ नर्स पढ्न भर्ना भइन् ।
सुरुमा त मोटा–मोटा किताब देख्दा पढ्न गाह्रो हुन्छ कि जस्तो लागेको थियो, तर सोचेजस्तो गाह्रो भने नभएको उनी सुनाउँछिन् । ‘पढ्न त्यति सजिलो पनि होइन’, जेनिशा भन्छिन्, ‘तर चासो भएको विषय भयो भने गाह्रो नहुने रहेछ, प्राक्टिकलसँग जोडेर हेर्दै पढ्यो भने बुझ्न सजिलो हुने रहेछ।’
पढिसकेपछि जागिर पाउन निकै कठिन भएको जेनिशा सुनाउँछिन् । सुरु–सुरुमा जागिरका लागि परीक्षा दिन, अन्तरवार्ता दिन जाँदा निकै डर लागेको उनको अनुभव छ ।
टाढा–टाढाबाट आएका बुढापाकाहरूलाई उपचार गरेर निको बनाउन पाउँदा धेरै खुसी लाग्ने जेनिशा बताउँछिन् । कतिपयले नर्सिङ पेशालाई नराम्रो रूपमा बुझ्ने गरेको पनि उनले सुनेकी छिन्।
‘नर्सको काम भनेको त पुछ्ने हो गु, मुत सोहोर्ने हो भन्ने पनि हुन्छन्, त्यस्तो सुनाउँदा नराम्रो लाग्छ’ जेनिशा भन्छिन्।
महिला सुत्केरी हुँदा र उनीहरूका बच्चा घाममा राखेर तेल लगाइदिँदा, कपडा लगाइ दिँदा रमाइलो लाग्छ उनलाई । यसरी सेवा गर्दा 'पछिलाई सजिलो हुन्छ' भनेर जिस्क्याउने पनि त्यत्तिकै हुन्छन् । ‘तिमीहरूलाई त अहिल्यै यस्तो अनुभव भयो पछिलाई धेरै सजिलो हुने भयो बच्चा हुँदा भन्नुहुन्छ’, जेनिशा भन्छिन् ।

हेल्थपाटी
तपाईँको अभिमत