महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउका दुई फार्मेसी बन्द गरियो
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गरिएको छ ।
औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गरिएको हो ।
वीर अस्पतालको नयाँ भवन (सर्जिकल) छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो ।
विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र नीति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो ।
अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत स्वयम सहभागी हुनुभएको थियो। वीर लगायत अधिकांश सरकारी अस्पतालहरुले आफुले सञ्चालन गरेका फार्मेसीहरुमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महंगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरिक्षण गर्नु परेको मन्त्री बस्नेतले बताउनुभयो ।
अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो ।
सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्रीबितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्रीवितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिनुभयो । अन्य फार्मेसीहरुको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने ढकालले बताउनुभयो ।
तपाईँको अभिमत