चुरोट, सूर्ती सेवन गर्ने आधा मान्छे यसकै कारणले मर्छन्
हरेक वर्षको मे ३१ मा विभिन्न चेतनामुलक कार्यक्रमहरू गरी विश्व सूर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिन्छ ।
नेपालमा पनि ‘सूर्तिजन्य पदार्थ त्यागौँ स्वास्थ्य र वातावरण जोगाऔं’ भन्ने नाराका साथ यो दिवस मनाइदैँछ । विज्ञका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष २७ हजार र विश्वमा ८० लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।
सूर्तिजन्य पदार्थ खानाले क्यान्सर लगायत अन्य २५ किसिमका रोग लाग्न सक्छ । सूर्तिजन्य पदार्थले फोक्सो, श्वासनली, मुख, मष्तिष्क, आँखा, मुटु, कलेजोमा नराम्रो असर गर्दछ । मुटु, फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगको प्रमुख कारक धुम्रपान रहेको अध्ययनहरूले देखाएका छन् ।
सूर्तिजन्य पदार्थ रहित दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले सोमबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा वक्ताहरूले प्रस्तुत गर्नुभएका अभिव्यक्तिको संपादित अंश प्रस्तुत गरेका छौँ ।
चुरोटका नाममा हामीले विष खाइरहेका छौँ

डा.सन्ध्या चापागाईँ, सहप्राध्यापक न्याम्स एवं क्यान्सररोग विशषेज्ञ
सूर्तिजन्य पदार्थले क्यान्सर मात्रै नभई अन्य नसर्ने रोग बढाउन पनि सहयोग गरिरहेको छ । २०१८ को एक तथ्यांक अनुसार ९७ लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थको प्रयोगसँग सम्बन्धित छ । साथै, २०१८ कै विश्व स्वास्थ्य संगठनको अर्काे तथ्यांकले फोक्सोको क्यान्सरबाट हुने मृत्युमा ८५ प्रतिशत कारण सूर्तिजन्य पदार्थ रहेको देखायो ।
यो मृत्युलाई हामीले रोक्न सक्छौँ, यदि सचेत भयौँ भने । नेपालमा हुने गरेको मृत्युमध्ये २३ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने गरेको छ ।नेपालमा १८ प्रतिशत पुरुष र करिब ८ प्रतिशत महिलालाई फोक्सोको क्यान्सर देखिने गरेको छ । उनीहरूमा देखिने फोक्सोको क्यान्सरको कारक धुम्रपान नै रहेको छ ।
चुरोटमा ६०० किसिमका केमिकल तत्वको प्रयोग गरिएका हुन्छन् । त्यो केमिकललाई सल्काएर बालेपछि रियाक्सन हुँदै ६०० बाट ७ हजार किसिमका केमिकल बन्न जान्छन् । धूँवामार्फत आउने विषले शारीरिक र मानसिक स्वास्थ्यमा असर देखिन थाल्छ ।
मुसा मार्ने विषको प्याकेटमा सावधानी सन्देश लेखिएको हुन्छ । यदि यो खाएमा मरिन्छ र यसलाई बच्चाको पहुँचबाट टाढा राख्नुहोला भन्ने सन्देश लेखिएकाे हुन्छ। तर चुरोटमा किन लेखिदैन ? चुरोट त किनेर खाइन्छ । यो पनि त मान्छे मार्ने विष हाे । याे महत्वपूर्ण कुरा हामी सबैले बुझ्न जरुरी छ ।
चुरोटमा एसिटोन तत्व पाइन्छ । यो नेल पोलिस रिमुभरमा प्रयोग गरिएकाे पाइन्छ । नङमा लगाइएको पालिस मेट्ने बेला हामी मुखमा परियला कि भनेर डराउँछौ । अर्काे एमोनिया, जुन घर सफा गर्ने बेला प्रयोग गरिने विभिन्न किसिमका फिनाइलहरूमा पाइन्छ ।
फिनाइल, झुक्किएर मुखमा पर्याे भने हामी आत्तिन्छौँ तर यी लगायत हजाराै हानिकारक केमिकल तत्व पाइने चुरोट बालेर खाइरहेका छाैँ। अब कल्पना गरौँ, स्वास्थ्यलाई कति असर गर्छ ? चुराेटमा निकाेटिन पाइन्छ । निकोटिनले चुराेटकाे लत बसाउँछ । यसले चुरोट खान थप सहयाेग गराउँछ । र केही समयपछि निकोटिनले रगतको नलीलाई बाक्लो बनाउँदै लैजान्छ, रगत नली मोटो हुँदै जान्छ । यसले उच्च रक्तचा'प हुने , मुटु तथा फोक्सोमा समस्या उत्पनन् गराउँछ।
चुरोटमा पाइने अर्काे हानिकारक तत्व भनेको टार हो। टारले क्यान्सर गराउँछ। टार भनेको लेदो वस्तु हो। जसले फोक्सोमा असर पुर्याउँछ। त्यसैले चुराेट खानेलाई मात्रै होइन धुवाँको वरिपरि बस्नेलाई समेत असर गरिरहेको हुन्छ । अध्ययनका अनुसार चुरोटको लत लागेका १० जना व्यक्तिलाई लतबाट छुटाउन सक्यौँ भने ९ जनालाई क्यान्सर हुनबाट जोगाउन सक्छौंँ।
चुरोट छोड्नुस् भन्दा बिरामी उपचार गर्नै आउँदैनन्

डा.रवि शाक्य, निर्देशक पाटन अस्पताल
बिरामीलाई हामी चुरोट नखानुहाेस् भन्छौँ तर चुरोट छोड्भन्दा उनीहरू अस्पताल नै आउन छाड्छन् । सूर्तिजन्य पदार्थको लत लागेका व्यक्तिमध्ये ८० प्रतिशत व्यक्तिले लत छोड्न चाहन्छन् तर त्यसबाट मुक्त हुनै सक्दैनन् ।
सूर्तिजन्य पदार्थ खान छोडिएन भने आफू र आफ्नो परिवारलाई असर गर्छ भन्ने कुरा ती बिरामीलाई थाहा भएकै हुन्छ । तर उनीहरूले चाहेर पनि छाड्न सकिरहेका हुँदैनन् । यसलाई हामी एक प्रकारको रोग भन्छौँ । कुनैपनि बिरामीकाे रोग निदान भएपछि त्यसको उपचार गर्नुपर्छ ।चुरोट छाड्नुहाेस् भनेर उनीहरूले छाेड्नै सक्दैनन् त्यसका लागि औषधि गर्नुपर्छ ।
मदिराको लत लागेकालाई छुटाउन औषधि पाइन्छ तर चुरोट तथा सूर्तिजन्य पदार्थको लत छुटाउने औषधिको प्रयोगको चलन नेपालमा अझै आइसकेको छैन तर अब जरुरी भइसकेको छ ।
सूर्तिजन्य पदार्थको लत लागेकालाई पनि विशेषज्ञ सेवाको आवश्यक पर्छ तर नेपालमा त्यसको अभ्यास थालनी भएको छैन । पाटन अस्पतालमा मानसिक स्वास्थ्यको पनि उपचार हुने भएकाले मानसिक समस्या देखिएका बिरामी पनि हुन्छन् । मानसिक समस्या देखिएका बिरामीलाई भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ ।
मानसिक स्वास्थ्य र मदिरा तथा चुरोटको लतको सम्बन्ध हुन्छ । कसरी भने मानसिक समस्या देखिन थालेपछि उसले चुरोट या मदिरा खाने बानीको विकास गर्न थाल्छ । मानसिक समस्या भएकालाई भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ । तर चुरोटको तलतलले गर्दा बिरामी भाग्छन् । चुरोट खान नपाउने पीरले उनीहरू भाग्न खोज्छन् ।
चुरोटको तलतलले उसले सबैकुरा बिर्सिन्छ र चुरोट खानकै लागि अस्पतालबाट भाग्न खोज्छ । चुरोटको लत हटाउने औषधि नेपालमा प्रयोगमा नभएकाले बिरामीको उपचारका लागि हामी कहिलेकाँही उनीहरूलाई सूर्ति खान अनुमति दिन बाध्य हुन्छौ, उनीहरूलाई भन्ने गर्छाै, हामी आँखा चिम्लिन्छौँ सूर्ति खानुहोस् ।
मानसिक स्वास्थ्यका बिरामीको केसमा मात्रै होइन अन्य बिरामीमा पनि त्यस्तै समस्या देखिएको छ । उपचार भइरहेको हुन्छ तर उनीहरूलाई चुरोटको तलतलले कहिले अस्पतालबाट जाऊ जस्तो बनाइरहेको हुन्छ, । कतिपय बिरामीले त ट्वाइलेटमा, भर्याङका कुनाहरूमा पनि लुकेर सूर्तिजज्य पदार्थको प्रयोग गरेको पनि पाइयो ।
चुरोटको विषले मेरा आमा, बुबालाई अकालमा मार्यो

सीताराम हाछेंथु,नगर प्रहरी प्रमुख, ललितपुर
मेरो आमा क्यान्सर भएर ४२ वर्षको उमेरमा बित्नुभयो। आमालाई क्यान्सर हुनुमा सूर्तिजन्य पदार्थ कारक रहेको डाक्टरहरूले सुनाएपछि परिवारमा खैलाबैला मच्चियो । किनकी, आमाले कहिले पनि चुरोट एवं सूर्तिजन्य पदार्थ खाएको हामीले देखेका थिएनौ । यसबारे पत्तो पनि भएन ।
यथार्थमा, आमाले सूर्तिजन्य पदार्थको प्रयोग गर्नु भएकै थिएन । तर बुबाले चुरोट खानुहुन्थ्यो । बुबाले चुरोट सल्काउन आमालाई भन्ने गरेको हामीले देख्ने गर्थ्यौं । बुबालाई चुरोट सक्लाएर दिँदादिदै चुरोटको विषयुक्त धुँवाले आमाको फोक्सोमा असर गरेछ । चुरोटको धुँवाले चुरोट खानेलाई मात्रै होइन वरिपरि बस्नेलाईसमेत असर गर्छ भन्ने कुरा हामीले आमाको उपचारका क्रममा डाक्टरले भनेर थाहा पायौँ। अथक प्रयास गर्दा पनि हामीले आमालाई बचाउन सकेनौ । उपचारका क्रममा आमाको निधन भयो । आमा बित्नुभएको २ वर्षपछि बुबा पनि क्यान्सरकै कारण बित्नुभयो । उहाँलाई क्यान्सर लाग्नुकाे कारक चुरोटको प्रयोग थियो ।
चुरोटको धुँवाले मेरो आमा र बुबालाई जलायो । चुरोट विष हाे, यसले मेरो आमा बुबालाई अर्कालमै मार्यो । चुरोटकै कारण आमा बुबालाई गुमाएको मैले सोही बेलादेखि चुरोट एवं सूर्तिजन्य पदार्थ छुँदै नछुने प्रण गर्दै सूर्तिजन्य पदार्थको विरोधी बनेँ । ललितपुर नगरको घर - घरमा गएर म सूर्तिजन्य पदार्थ खान हुन्न भन्ने अभियान थालेको छु । यसमा मलाई नगरप्रमुख एवं मेरा सहकर्मीहरूको सहयोग छ । यही अभियानकै लागि मैले आफ्नो हातमा नो स्मोकिङ भनेर ट्याटु नै खोपेको छु । अभियान आजदेखि सुरु हुँदैछ ।
सूर्तीजन्य पदार्थ नियन्त्रणका कार्यक्रममा जाँदा सो ट्याटु देखाएर मानिसहरूलाई बुझाउन सजिलो हुने मैले विश्वास लिएको छु । घरघरमा गएर भन्नेछु चुरोट विष हो, यसले आफू र अर्काेलाईसमेत मार्छ । मेरो अनुरोध के छ भने २० रुपैंया तिरेर एक खिल्ली चुरोट खाँनुका साटो आफ्नो बच्चालाई लेख्न एउटा कपी किन्नुहोस् नानीबाबुले ज्ञानका कुरा लेख्नेछन् ।
नोट ः हाछेथुले ललितपुरमा सार्वजनिक स्थल तथा सार्वजनिक गाडीहरूमा समेत नो स्मोकिङ लेखिएका स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आउनुभएको छ ।
चुरोट उद्योगहरूको सहयोग नलिऔँ

आनन्दबहादुर चन्द, अध्यक्ष, एक्सन नेपाल
अध्ययनहरूका अनुसार विश्वमा सूर्तिजन्य पदार्थको प्रयोग गरेकामध्ये ५० प्रतिशत उपभोगकर्तालाई सूर्तिजन्य पदार्थले मार्छ । कोभिडले हालसम्म नेपालमा ११ हजार ९५२ जनाको मृत्यु भएको छ तर प्रत्येक वर्ष २७ हजार व्यक्तिको मृत्यु सूर्तिजन्य पदार्थकै कारण भइरहेको छ।
लत लागिसकेकालाई छुटाउने र अर्काे पुस्तालाई सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाउनु मुख्य कुरा हाे । यसका लागि चुरोटको खिल्ली विक्रि वितरणमा रोक लगाउनुपर्छ । यदि यसमा रोक लगाउन सके स्कुले विद्यार्थीहरूले बट्टै किनेर चुरोट खान पाउँदैनन् र उनीहरू चुरोटको लतमा फस्दैनन् । अर्काे कुरा जब-जब महामारी आउँछ सामाजिक कार्यका नाममा चुरोट उद्योगहरूले सहयोगका नाममा सहयोग गर्ने गर्छन् । कुनै चुरोट उद्योगहरूको सहयोग नलिन म सबैलाई अनुरोध गर्दछु ।
तुलसा घिमिरे
तपाईँको अभिमत