डेङ्गी तथा विपद् व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरपालिकाले विपद् र डेङ्गी नियन्त्रण गर्न २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । मंगलबारदेखि सेवा सुरु गरेको मेयर बालेन साहले जानकारी दिएका छन् ।
यसअघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।
महानगरको स्वास्थ्य सेवा विभागबाट डेङ्गी, हैजालगायतका रोगको उपचारका लागि परामर्श सेवा तथा समन्वय हुने बताइएको छ । त्यस्तै नियमित बर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।
सेवाका लागि महानगरले तीन वटा नम्बर उपलब्ध गराएको छ । कार्यालय समयमा १६६००१०५५१ मा फोन गर्न सकिन्छ । त्यस्तै हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिन्छ ।
कार्यालय समय भन्दा अन्य समयमा ११८० मा फोन गरी प्राप्त निर्देशनपछि ९ थिच्नुपर्छ । स्वास्थ्यकर्मीले फोन उठाएपछि आफ्नो समस्या राख्न सकिने महानगरले जनाएको छ । एकैपटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेङ्गी हुन सक्छ । तारन्तार पातलो दिशा भइरहेमा हैजा हुन सक्छ ।
यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत