दुई डेण्टल एसोसिएसन र सीटीइभीटीबीच ७ बुँदे सहमति
डेण्टल एसोसिएसनले उठाएका विभिन्न मागमा विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)सँग सहमति भएको छ ।
आज दिउँसो भएको वार्तामा ७ बुँदे सहमित भएको डेण्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिनुभयो ।
नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनले विभिन्न माग राख्दै यही साउन ७ गते सीटीइभीटीमा ज्ञापन पत्र बुझाएको थियो ।
डेण्टल विषय अध्यापन गराउने शैक्षिक संस्थामा गुणस्तर कायम हुनुपर्ने, कलेजहरुले लिने शुल्कमा एकरुपता हुनुपर्ने जस्ता माग राखेको थियो ।
उक्त विषयमा छलफल गर्न सीटीइभीटीले आज दुवै संस्थाका प्रतिनिधिलाई बोलाएको थियो । डेण्टल एसोसिएसनका प्रतिनिधि र सीटीइभीटीका अधिकारीहरु बीच ७ बुँदे सहमति भएको देवकोटाले बताउनुभयो ।
डेण्टल कलेजहरुको पूर्वाधार लगायतका विषयमा अध्ययन गर्न विज्ञहरुको अनुगमन टोली गठन गर्ने सहमति भएको छ । अनुगमनपछि मात्रै नयाँ भर्ना गरिने सहमति पनि भएको देवकोटाले जानकारी दिनुभयो ।
उत्पादित जनशक्तिको रोगगारीका लागि सहजिकरण गर्ने, शुल्कमा एकरुपता कायम गर्न शुल्क निर्धारण समिति बनाउने जस्ता विषयमा पनि सहमति भएको छ ।
डेण्टल सम्बन्धित प्रि–डिप्लोमा तथा छोटो अवधिका तालिमहरु बन्द गर्ने गराउने पनि सहमति गरिएको छ ।
हिजो एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटेर डेण्टल क्षेत्रका विभिन्न विषयमा ज्ञापनपत्र बुझाएको थियो।
तपाईँको अभिमत