जन्मजात बालमुटुरोग ‘एसीडी’ शल्यक्रिया र यसपछिको जीवन (भिडियो)
एन्ट्रिओभेन्ट्रिकुलर क्यानल डिफेक्टस् भनेको दुर्लभ बालमुटुरोग हो । यस्तो समस्या १० हजार जिवित जन्मिएका बच्चामध्ये दुई जनामा मात्र देखिन्छ । जन्मजात मुटुरोग भएर जन्मिएका शिशुमध्ये तीन प्रतिशतलाई यस किसिमको समस्या हुने गरेको पाइएको छ ।
मुटुमा दायाँ र बायाँ कोठा हुन्छन् । ती कोठा र तल माथिको कोठालाई छुट्याउने भाग राम्रोसँग बनेका हुँदैनन् । यस्तो अवस्थालाई नै हामी अङ्ग्रेजीमा एन्ट्रिओभेन्ट्रिकुलर क्यानल डिफेक्टस् भन्छौँ । यसले गर्दा फोक्सोमा रक्तसञ्चार बढी हुन्छ । यसरी बढी रक्तसञ्चार भएपछि मुटुमा जटिलता पनि चाँडो हुन्छ । त्यसैले सकेसम्म बच्चा जन्मिएको छ महिनाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । त्यो भन्दा ढिला भएमा अप्रेसनमा जटिलता थपिन सक्छ । बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर बढी हुन्छ । यस किसिमको मुटुको समस्या हुने बच्चामा ‘डाउनसिन्ड्रोम’ हुनसक्ने सम्भावना पनि रहन्छ ।
कसरी गरिन्छ शल्यक्रिया ?
यसका किसिमको शल्यक्रिया गर्दा तीन वटा मुख्य कुरा हुन्छन् । मुटुको तल्लो भागको प्वाल जसलाई भेन्ट्रिकुलर सेप्टल डिफेक्ट भन्छौँ, त्यसलाई बन्द गर्नुपर्ने हुन्छ । अर्को भनेको माथिल्लो र तल्लो कोठा छुट्याउने भागमा भल्भ हुन्छन् । तिनीहरूको बनावटमा विकृति हुन्छ । अर्थात् असामान्य बनावट हुन्छन् । तिनीहरू ‘लिक’ भइरहेका हुन्छन् । त्यहाँका भल्भलाई मर्मत गर्नुपर्ने हुन्छ । तेस्रो भाग भनेको चाहिँ माथिल्लो कोठा छुट्याउने प्वाल हो । त्यसलाई बन्द गर्नुपर्ने हुन्छ ।
कति जटिल हुन्छ ?
यो अप्रेसन जटिल नै हुन्छ । सबभन्दा जटिल भनेको चाहिँ भेन्ट्रिकुलर सेप्टल डिफेक्ट बन्द गर्ने बेलामा मुटुको सञ्चालन प्रणालीमा क्षति पुगेर बच्चाहरूको मुटु पूर्णतया बन्द नै हुने सम्भावना रहन्छ । यो निकै जोखिमपूर्ण अप्रेसन हो । साथै भविष्यमा बायाँपट्टिको भल्भ लिक हुने सम्भावना रहन्छ । यो अवस्था विश्वका सबै चिकित्सकले भोगेको समस्या हो । त्यसैले अप्रेसन पश्चात भल्भको निगरानी गरिरहनुपर्ने हुन्छ । बच्चा ठुलो भएपछि पनि लिक हुने सम्भावना हुन्छ । यदि त्यसरी लिक भएमा दोहो¥याएर अप्रेसन गर्नुपर्छ ।
भल्भ लिक चाहिँ २० प्रतिशत जतिमा देखिएको छ । यसरी लिक हुँदा मुटुमा दोहोरो चाप पर्न जान्छ । त्यसैले मुटुले त्यो चाप थेग्न सक्दैन । यो हुनाको कारण चाहिँ बच्चाको मुटु सानो हुने र त्यसमाथि नचलेको मुटुमा जाँच गर्दा ठिक हुन्छ, तर मुटु चल्न थालेपछि चाहिँ फरक परिस्थिति हुन्छ । त्यसले गर्दा अगाडि राम्रो भएको कुरा पछि असामान्य हुन्छ ।
अप्रेसन गरिएको बच्चा पूर्ण सामान्य हुन्छ ?
शतप्रतिशत नै सामान्य हुन चाहिँ कठिन छ । धेरै दौडिने, बढी कसरत गर्ने जस्ता कार्य गर्दा आफै रोकिनुपर्ने अवस्था आउँछ । उसलाई स्याँस्याँ हुने, मुटुको धड्कन बढ्ने जस्ता हुनसक्छन् । यदि सामान्य हिँड्डुल गर्दा नै त्यस्तो भएमा फेरि भल्भ मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था हुनसक्छ ।
चाँडै रोग कसरी पत्ता लगाउने ?
जन्मनेबित्तिकै मुटुरोग छ भनेर थाहा त नहोला । तर एउटा सजिलो उपाय चाहिँ छ ।
आजकल सामान्यतः अस्पतालमै बच्चा जन्माउने गरिन्छ । त्यसरी अस्पतालमा सुत्केरी गराउने स्वास्थ्यकर्मीले छाती सुनिदिए बच्चाको मुटुको अवस्थाबारे थाहा पाउन सकिन्छ । यदि मुटुमा यहाँ चर्चा गरिएको मुटुको समस्या भएमा अर्थात् भल्भमा समस्या भएमा एक किसिमको झ्यारझ्यार आवाज वा असामान्य आउँछ । त्यस्तो सुनिए बालमुटुरोग विशेषज्ञलाई रिफर गरेर जाँच गर्न सकिन्छ ।
यस्तो समस्या भएका बच्चा छिटो स्याँस्याँ हुने, दूध चुस्न नसक्ने जस्ता लक्षण देखिन्छन् । कहिलेकाहीँ पहिलो महिना सामान्य हुन्छ । अर्को महिनादेखि मुटुको धड्कन बढ्ने, स्याँस्याँ हुने, निमोनिया भइरहने हुन्छ । यसो भएमा अस्पतालमा इको गरेर रोगको निक्यौल गर्न सकिन्छ ।
खानेकुरा बार्नुपर्छ ?
सामान्यतः मुटुको समस्या भएका बिरामीलाई पानी र नुनको मात्रा कम गर्ने सल्लाह दिइन्छ । प्रत्येक दिन २३ ग्राम नुन उपयुक्त भन्ने गरिन्छ । तर त्यो भन्दा बढी नै खाने गरेको पाइन्छ । भल्भ मर्मत गरिएका वा फेरिएका बिरामीलाई केही खानेकुरामा बन्देज गरिन्छ । औषधिको प्रतिक्रिया फरक हुनसक्ने भएकाले बन्देज लगाइन्छ । बोसो भएको तथा गुलियो चिज धेरै खान मिल्दैन । यद्यपि त्यति धेरै ठुलो बन्देज चाहिँ छैन ।
सामान्य जीवनमा फर्काउने उद्देश्य
जन्मजात मुटुरोगको समस्या भएका बच्चालाई अप्रेसन गरेर सामान्य जीवनयापनका लागि तयार गर्ने चिकित्सकहरूको उद्देश्य हुन्छ । क्रियाकलाप र समयावधि दुवै तवरले सामान्य पार्ने उद्देश्य हुन्छ ।
(यो सामग्री शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग सर्जन डा. सिद्धार्थ प्रधानसँग गरिएको कुराकानीमा तयार पारिएको हो ।)
डा. सिद्धार्थ प्रधान
तपाईँको अभिमत