स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन : स्वास्थ्य क्षेत्र सुधारमा सहयोगी
काठमाडौंमा जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनमा भाग लिन संघ, प्रदेश, स्थानिय निकायका प्रतिनिधीहरु काठमाडौं आएका छन् । सम्मेलनमा वैज्ञानिक, अनुसन्धानकर्ता, विषय विज्ञ गरि एक हजारभन्दा बढीको सहभागिता रहेको आयाेजकले जनाएकाे छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हिजो देखि शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन आज भयो । सम्मेलन स्वास्थ्य क्षेत्रको विकासका लागि उपयोगी हुने विश्वास लिइएको छ ।
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सम्मेलनकाे उद्घाटन कार्यक्रममा अनुसन्धानत्मक कार्यलाई अघि बढाउन आफ्नो प्रदेश तयार रहेको भन्दै अनुसन्धानका लागि वजेट र कानुनी व्यवस्था गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले सम्मेलनमा सहभागी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको बहसले स्वास्थ्य सेवा सुधारका लागि तथ्यगत निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । ‘अनुसन्धानमा भएको खर्चलाई फजुल मानिन्छ, डाक्टरले होलबडी चेकअफ गराएर फजुल खर्च गराए भन्ने सोच बिरामीको रहन्छ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, अनुसन्धान नगरि रोग पत्ता लाग्दैन ।’

वैज्ञानिक,अनुसन्धानकर्ता, विषय विज्ञ उपस्थित भएको कार्यक्रममा आफु सहभागी हुन पाउँदा भाग्यमानी महसुस भएको पाण्डेले बताउनुभयो ।
यसैगरी स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले उच्चस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले वैज्ञानिकहरुको सम्मेलनले अनुसन्धानका लागि थप वातावरण मिलाउने र स्वास्थ्य सुधारका लागि सुझाव दिने आशा व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समान स्वास्थ्य पहुँच आफ्नो प्राथमिकता रहेको बताउनुभयो । स्वास्थ्य अनुसन्धानमा वजेट बढाउनपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । सोही कार्यक्रममा उहाँले बागमती प्रदेशमा कोरोना विरुद्धको दुई मात्रा खोप लगाउने संख्या शतप्रतिशत रहेको जानकारी दिनुभयो ।
यस्तै विश्व स्वास्थ्य संगठनका प्रमुख डा.अधानोम टेड्रोसले कोभिडको समयमा नेपालले देखाएको सक्रियताको प्रशंशा गर्दै सम्मेलनको सफलताको शुभकामना दिनुभयो । परिषद्का मानार्थ अध्यक्ष मृगेन्द्रराज पाण्डेले काउन्सिल स्थापना गर्दाको संघर्षको चर्चा गर्नुभयो ।
सम्मेलनमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले लगानी सही ठाँउमा गर्नपर्नेमा जोड दिदै परिषद्सँग सहकार्य गरेर स्वास्थ्य अनुसन्धानमा आफ्नाे प्रदेश सहभागी हुन तयार रहेको बताउनुभयो । उहाँले सम्मेलनको निष्कर्षले स्वास्थ्य नीति निर्माण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संसदको स्वास्थ्य शिक्षा समिति सदस्य योगेश भट्टराईले स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारको क्षेत्रमा कुनै पनि राजनीतिक दलको बिमती हुन नहुने बताउनुभयो । आधारभुत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबै लाग्नुपर्ने उहाँको जोड छ । नीति बनाउँदा कार्यान्वयन गर्न सकिने खालको बनाउनपर्ने भन्दै वैज्ञानिकहरुको सम्मेलन नीति निर्माणमा सहयोगी बन्ने भट्टराईले बताउनुभयो ।
योजना आयोगका सदस्य डा.उमाशंकर प्रसादले नेपालको स्वास्थ्य क्षेत्रमा स्रोत साधन, पूर्वाधारको कमी रहेको बताउनुभयो । सम्मेलनमा हुने वृहत छलफलले वजेट तर्जुमा तथा योजना निर्माणमा मद्धत पुग्ने विश्वास उहाँको छ ।

परिषद्का सदस्य सचिव एव कार्यकारी कार्यकारी प्रमुख डा.प्रदिप ज्ञवालीले सम्मेलनमा जनस्वास्थ्य, वातावरणीय विज्ञान, मानसिक स्वास्थ्य, मातृशिशु, औषधि उत्पादन लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँले विज्ञानका कुरालाई नीतिमा कसरी समावेश गराउन सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।
सम्मेलन भोलि सकिनेछ । सम्मेलनमा भर्चुअल माध्यममार्फत देश विदेशबाट वैज्ञानिक, अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत