मनसुनजन्य रोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले थाल्यो तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनजन्य स्वास्थ्य समस्या नियन्त्रण गर्न तयारी थालेको छ । मनसुनजन्य विपद् सुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालिएको हो ।
वर्षायाम सुरु हुने वेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्वतयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गर्नुभएको हो ।
मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुसमक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।
सोहीअनुसार विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग मन्त्री पौडेलले डाकेको बैठकले पूर्वतयारीको काम थालिहाल्ने निर्णय गरेको हो ।
अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ । साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रूत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउने बताउनुभयो । महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिम प्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गर्नेछ ।
यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय÷प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका कामहरु समेत अघि बढाइने भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत