योगा, व्यायामले महिलाको बुढ्यौलीपन कम गर्छ(भिडियो)
अहिलेको जीवनशैली फेरिएकाले महिलाहरुले अनिवार्य रुपमा व्यायम गर्नुपर्ने जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ। व्यायमले शारीरिक, मानसिक रुपमा स्वस्थ राख्ने मात्रै नभएर बुढ्यौलीपन कम गर्न समेत मद्दत गर्ने डा. उप्रेतीको भनाइ छ।
३५–४० वर्ष भएपछि महिलाको महिवारी हुने प्रक्रियामा कम हुने भएकाले त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्यालाई कम गर्न पनि व्यायाम तथा योगाले मद्दत गर्ने डा.उप्रेतीले बताउनुभयो।
भान्सामा नियमित काम गरेको छ भन्दैमा व्यायाय गर्नुपर्दैन भन्ने सोच केही महिलामा रहेपनि त्यो सही नभएको उहाँको भनाइ छ। दिनमा कुनैपनि बेला समय निकालेर १५–२० मिनेट व्यायाम गर्न डा.उप्रेतीको सुझाव छ।
महिलालाई किन व्यायाम आवश्यक भन्ने विषयमा जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसँग हेल्थपाटीले कुराकानी गरेको छ।
डा.उप्रेतीको भनाइ तल प्रस्तुत छ।
हामीहरु पहिले–पहिले समुदायमा, गाउँमा धेरै काम गरिन्थ्यो। धेरै हिड्नुपर्थ्यो थाहा नै नपाएर व्यायाम हुन्थ्यो।
अहिले जीवन सहज भएको छ। घन्टौँ हिड्नु पर्ने ठाउँमा गाडीले १० मिनेटमै पुर्याउँछ। पहिला गह्रुँगो कामहरु गर्नुपर्ने टाढा–टाढाबाट पानी ल्याउनुपर्ने हुन्थ्यो। अहिले धारानजिकै आएको छ।
घरमै काम गर्दा सिलौटा, जाँतोमा पिस्ने गर्नुपर्थ्यो। अहिले पर्दैन। अहिले हामीसँग समय पनि छ। जीवन सहज भएको छ। हामी प्रशस्त मात्रामा खानेकुरा खान्छौँ। तर हाम्रो शारीरिक गतिविधि एकदम कम भएको छ। यो एक प्रकारको अस्वस्थ जीवनशैली हो। त्यस प्रकारले योगासन व्यायामलाई महत्व दिएको कारण यही हो।
कतिजना महिलाहरुले के भन्छन् भने मेरो त घरमै कत्ति काम हुन्छ, भान्सामा धेरै काम गर्छु, यो कारणले योग गर्नुपर्दैन भन्छन्। वास्तवमा त्यो होइन। घरमा भान्सामा काम गर्ने मानिसले पनि योगासन, व्यायम गर्यो भने छिट्टै बुढो हुने प्रक्रियालाई रोक्छ।
व्यायाम गर्दा शरीरबाट निस्कने विशेष किमसका हर्माेनले मानसिक रुपमा पनि स्वस्थ बनाउँछ। तनाव कम गर्नमा मद्दत गर्छ। विद्यार्थी, गृहणी जागिर जसले पनि समय मिलाएर व्यायम गर्नुपर्छ। कम्तिमा १५–२० मिनेट व्यायम गर्नुहोस्। योगासन गर्न भिन्नै म्याट, विशेष किमिसको लुगा पनि चाहिन्छ भन्छन्। तर त्यस्तो चाहिँदैन। सामान्य खालको लुगाले हुन्छ।
व्यायाम गरेपछि मैले के अनुभव गर्छु भने ४० वर्षको हुँदा मलाई दिनभरी काम गरेपछि थकाइ लागेर बेलुका गएर कतिबेला सुतौँ जस्तो हुन्थ्यो। व्यायम सुरु गर्न थालेपछि मलाई त्यो हुन छाडेको छ।
लामो लामो हिँड्दा मानसिक रुपमा थकाइ कम महसुस भएकाले मैले भेटेका सबैलाई यसको महत्व बुझाउने गरेको छु। ३५–४० वर्ष पुगेपछि महिलामा महिनावारी हुने प्रक्रिया कम हुँदै जान्छ। यो हुँदा हाम्रो शरीरका हर्माेनहरु कम हुँदै जान्छन्। यसो हुँदा विभिन्न किसिमका समस्याहरु हुन्छ। त्यो सम्भावनालाई न्यून गर्न पनि व्यायमले भूमिका खेल्छ।
अर्काे ३५–४० वर्ष पुगेपछि शरीरको हड्डी बिस्तारै फुस्फसिने हुन्छ। त्यो काम होस भन्नका लागि पनि हामीले व्यायाम, विभिन्न किसिमका योगानस गर्नुपर्ने हुन्छ।
अरु केही पनि गर्न सकिएन भने हिँड्न त जहिले पनि सकिन्छ। हामीहरुको व्यायमहरु भनेको व्यायाम शालामा गर्ने मात्रै होइन। उदाहरणका लागि हामी पाचौँ, छैटौँ तलामा बस्छौँ भने लिफ्ट प्रयोग नगरेर हिँड्दा पनि व्यायम हुन्छ। यसले हाम्रो मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ। जुन व्यायमले मुटुको स्वास्थ्यलाई राम्रो राख्छ, त्यसले कलेजो, मिर्गाैला सबैको स्वास्थ्यलाई राम्रो गर्छ।
व्यायम गर्दा शरीरमा मांसपेशी बलियो भइराख्छ। शरीरमा मोटोपन हुन पाउँदैन। मोटोपन नहुँदा धेरै समस्याहरु हुँदैनन्। फेरि व्यायम गरिसकेपछि मैले जे खाए पनि हुन्छ भन्ने सोच्नु गलत विचार हो। स्वास्थ्य रहनका लागि व्यायमसँगै स्वस्त खानेकुरामा पनि ध्यान दिनुपर्छ
योगासन स्वास्थकर खानेकुराको विकल्प हुनसक्दैन। व्यायाम नगरीकन स्वस्थकर खानेकुरा मात्रै खाने मान्छेलाई पनि समस्या हुनसक्छ।
कतिपय मानिस दिनभरी काम गरेर घर आयो। थाकिएको हुन्छ। फ्यात्त बसेर टिभी हेर्ने हुन्छ। त्यो राम्रो बानी होइन। यसले गर्दा शरीर मोटो हुनथाल्छ।
१०–११ वर्षको बच्चाहरुलाई पनि व्यायाम आवश्यक छ। बच्चाहरुको व्यायाम भनेको दौडने, उफ्रने खेल्ने हो। तर शहरका बच्चामा ठाउँ पनि नहुने भएकाले घरमै बस्ने हुन्छ। यसले गर्दा बच्चाहरुले स्वास्थ्यमा समस्या पर्छ। व्यायाम, योगासन भनेको बच्चादेखि, वृद्धसम्म सबैलाई स्वस्थ रहन धेरे मघत गर्छ।

हेल्थपाटी
तपाईँको अभिमत