औषधि खानुअघि बिस्कुट खानु हानिकारक, अस्पतालमै बढी प्रयाेग

तपाईं हामी धेरैले चिया बिस्कुट खाएर औषधि खाने गरेका छौँ । रोग निको पार्न औषधि खाँदैगर्दा बिस्कुट खाएर औषधि खाने बानीले अर्काे नयाँ रोगको जन्म गराउने विज्ञहरू बताउछन्।
औषधि खानुभन्दा अगाडि बिस्कुट खानु स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरूको ठहर छ ।
बिस्कुट स्वस्थकर खानेकुरा होइन। डा. अरुणा उप्रेतीको भाषामा बिस्कुट पत्रुखाना हो । मैदा र ट्रान्स फ्याट (अति खराब चिल्लो पदार्थ) मिसाएर बनाइएको बिस्कुट कयौँ दिनदेखिको बासी हुन्छ।
बिरामी भेट्न जाँदा पनि बिस्कुट, जुस हर्लिक्स बोकेर जाने चलन छ । यस्ता खानेकुराले थप अर्काे रोग निम्तने र स्वस्थ छु भन्ने अरु सामान्य व्यक्तिलाई पनि रोगी बनाउने विज्ञहरू बताउँछन् ।
बिस्कुट खानेहरूमा मोटोपन, मधुमेह, मुटुका समस्याहरू देखिन सक्छ ।
सामान्यतया, २ अवस्थामा खाने गरी डाक्टरले औषधि प्रिस्क्राइब गर्छन् । एक खाली पेटमा र दोस्रो खानापछि । विशेषगरी खानापछि खानुपर्ने औषधि भन्दा अगाडि चिया र बिस्कुटको प्रयोग अत्याधिक भएको पाइन्छ ।
घरमा मात्रै होइन बिरामी भएर अस्पताल भर्ना हुँदा खाली पेटमा खान नहुने भनिएको औषधि खानुपर्यो भने सजिलोका लागि चिया बिस्कुट खाएर खान्छौँ । डाक्टर नर्सले पनि बिरामीलाई चिया बिस्कुट खाएर औषधि खान सल्लाह दिएको पाइन्छ।
आइसीयुका बिरामीलाई पनि चिया र बिस्कुट नै मगाइन्छ ।
हेटौँडाकी कमलालाई नर्सले आइसीयुमा रहेका छोराका लागि कालो चिया र बिस्कुट ल्याउन भन्नुभयो । नर्सले कमलालाई मात्रै होइन आइसीयुमा रहेका अरु बिरामीका आफन्तलाई पनि कालो चिया र बिस्कुट मगाउनुभयो ।
छोराको घाँटीमा पेनको बिर्काे अड्किएपछि कमलाले कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्रमा ल्याउनुभयो । बिर्काे फोक्सोमा पुगिसकेकाले स्वास्थ्य अवस्था थप जटिल हुन नदिन चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताए । कमलाको १२ वर्षका छोराको अवस्था अहिले सामान्य छ । ५ दिन अगाडि आइसियुमा भर्ना गरिएका कमलाकाे छाेरा अहिले डिस्चार्ज भइसक्नु भएकाे छ ।
आइसियुमा रहेका अरु बिरामीका आफन्तलाई पनि कालो चिया र बिस्कुट ल्याउन भनिरहेका थिए । अस्पतालमा रहँदा औषधि खाँदा चिया र बिस्कुटको लत अन्य समयमा बसेको कतिपय बताउँछन् ।
डाक्टर, नर्सले नै बिस्कुट खान भनेपछि अरु बेलामा पनि बिस्कुट खान प्रेरित गरेको पनि भेटिए । काठमाडौं ताहाँचालकी मोनालाई अस्पतालमा चिया र बिस्कुट खान थालेपछि घरमा पनि उही बानी लाग्यो । उहाँका श्रीमान उच्च रत्तचाप र मधुमेहका बिरामी हुनुहुन्छ । औषधि खाइरहनु पर्ने भएकाले मोनाका श्रीमानको झोलामा सधैंजसो बिस्कुट भेटिन्छ ।
बिरामी भएपछि बिस्कुट खानुपर्छ भन्ने मानसिकताको विकास भएको मोना बताउनुहुन्छ । स्वास्थ्यकर्मीको निगरानीमा रहेका बेला खाने गरेको बिस्कुटको बानी घरमा गएर पनि सिक्ने गरेको मोनाले देख्नुभएको छ ।
कान्तिबाल अस्पतालमा ५ वर्षका छोरालाई बिस्कुट खुवाइरहेको अवस्थामा सृजनालाई भेट्यौँ । ज्वरो र खोकीले ग्रस्त भएपछि नुवाकोटबाट छोरालाई इमरजेन्सीमा ल्याउनुभएकी सृजनाले छोरालाई औषधि खुवाउनपर्ने भएकाले बिस्कुट खुवाएको बताउनुभयो । उहाँले घरमा अन्य समयमा पनि औषधि खुवाउँदा धेरैजसो बेला दुध बिस्कुट नै दिने गरेको सुनाउनुभयो ।
बिस्कुट बिरामीलाई थप बिरामी बनाउन सक्छ : प्रा.डा. मनसा थापा
पोषणविद् प्रा.डा. मनसा थापा रोग अनुसार बिरामीलाई पोषणको आवश्यक पर्ने बताउँनुहुन्छ । विस्कुट स्वास्थ्यका लागि फाइदाजनक नभएकाले बिरामीले खान नहुने डा.थापाको भनाइ छ । ज्ञान नभएकै कारण धेरैले औषधि खुवाउनुअघि विस्कुट खाने गरेको ठहर उहाँकाे छ ।
‘खाली पेटमा औषधि खाँदा ग्याष्ट्रिक र एसिडिटी हुन्छ भनेर डाक्टरले केही खानेकुरा खाएर औषधि खाऊ भन्नुभएको हुन्छुु' प्रा.डा. थापा भन्नुहुन्छ, 'कुन खानेकुरा कस्तो हुन्छ भन्ने कुरा सर्वसाधरणलाई थाहा नहुन सक्छ।'
मैदाबाट बनेको बिस्कुटमा क्यालोरी भन्दा अरु केही पोषणतत्व नपाइने भएकाले बिस्कुट स्वास्थ्यका लागि फाइदाजनक नरहेको उहाँले स्पष्ट पार्नुभयो।
मैदाले ग्याष्ट्रिक र एसिडिटी मात्रै होइन मोटोपना पनि बढाउने उहाँ बताउनुहुन्छ । बिरामीलाई औषधिले प्रभावकारी काम गर्न पोषिलो खानेकुरा महत्वपूर्ण हुने तर्क उहाँको छ ।
औषधिले शरीरमा राम्रो प्रतिक्रिया दिन पोषिलो र सही खानेकुराको छनौट हुनपर्ने डा.थापा बताउनहुन्छ।
'औषधि खानुअघि पेटमा केही खानेकुरा पर्नुपर्यो भन्ने अवधारणा छ । बिस्कुट, पाउरोटी, दुनोट, पप लगायतका अस्वस्थकर खानेकुरा खाने गरेको पाइन्छ । यसले बिरामीलाई थप बिरामी बनाइरहेको पत्तो हुँदैन' उहाँ भन्नुहुन्छ।
बिस्कुटको ठाउँमा पोषिलो सर्वाेत्तम पिठो खान सकिने डा.थापाको सुझाव छ । मकै, गहुँ, चना मिसिएको सर्वाेत्तम पिठो पिठो दुध र पानीमा घोलेर खाँदा बिरामीलाई फाइदा पुग्ने र पोसिलो पनि हुने उहाँ बताउनुहुन्छ।
सुगर फ्रि बिस्कुट भन्ने पनि गरिन्छ । पोषविद् थापाका अनुसार बिस्कुट कहिल्यै सुगर फ्रि हुँदैन । बिस्कुट मैदाबाट बन्ने भएकाले त्यो खाएर पचेपछि चिनीमै परिणत हुन्छ । मैदाले मुटुरोगी, मधुमेह, साधारण स्वस्थ व्यक्तिलाई फाइदा गर्दैन । विश्व स्वास्थ्य संगठनले मैदाको सट्टा गहुँको पिठो अथवा रेसादार खानेकुरालाई सुझाव दिएको छ ।
'अस्पतालमा खान थालेपछि घरमा पनि खानुपर्ने रहेछ भनेर बिरामीले सिक्छन् । बानी नबसोस् । घरमा गएर गहुँको रोटी, फापर, कोदो दहीसँग खाए अति राम्रो' थापा भन्नुहुन्छ।
सुविधाजनक र तुरुन्तै पाइने भएकाले अस्पतालमा बिस्कुटको प्रयोग अधिक हुने गरेको उहाँ बताउनुहुन्छ । मधुमेहको बिरामी छ भने चिया र बिस्कुट फाइदाजनक होइन । बिरामीलाई कुन किसिमको खानेकुरा उपयुक्त हुन्छ भन्ने सवालमा चिकित्सकले पोषणविद्लाई रिफर गर्नुपर्ने तर्क गर्नुहुन्छ थापा । तर नेपालमा यस्तो परिपाटी अत्यन्तै कम छ ।
जसरी चिकित्सकले मानव शरीरको अङ्गअङ्ग जानेका हुन्छन्, बिग्रिएका अङ्ग बनाउछन् । त्यसरी नै पोषणविद्ले खानेकुरा शरीरभित्र प्रवेश गरेपछि शरीरका हरेक अङ्गलाई कसरी पोषित बनाउने भन्ने जिम्मा लिएका हुन्छन् । थापा तर्क गर्नुहुन्छ, हाम्रो कमजोर मानसिकता र त्रुटीपूर्ण बानीले बिरामीलाई खानपानबारे जानकारी दिन सकिएको छैन ।
बिरामी भेट्न जाँदा घरमै बनाएको खानेकुरा लैजानुपर्छ : डा.अरुणा उप्रेती
जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती अस्पतालमै पत्रु खानाको प्रयोग धेरै हुनु दुखद् रहेको बताउनुहुन्छ । कतिपयले पत्रु खानेकुरा खाएरै औषधि खान्छन् ।
बिस्कुट, जुस, पाउरोटीको प्रयोग अस्पतालमा अधिक हुने गरेको डा.अरुणाको बुझाइ छ । चिनीको जाँच गराउन स्वास्थ्यसंस्था पुग्ने गरेका मधुमेहका बिरामीलाई स्वास्थ्यकर्मीले नै बिस्कुट, पाउरोटी, फलफूलको जुस खानुस् भन्ने गरेको आफूले भेटेको उहाँ बताउनुहुन्छ ।
डा.अरुणाका अनुसार लामो समयसम्म खानेकुरालाई सुरक्षित राख्न प्रयोग गरिएको चिल्लो पदार्थले बिस्कुटलाई अस्वस्थकर बनाउँछ । बिस्कुटको सट्टा हलुवा, खीर, जाउलो दिँदा उत्तम हुने सुझाव उहाँको छ ।
'पहिला पहिला बिस्कुट नहुँदा पनि बिरामीलाई गिलो रोटी, हलुवा दिने गर्थ्यौँ' डा.अरुणा भन्नुहुन्छ, 'बिरामी भेट्न जानेहरूले पनि घरकै खानेकुरा लान सकिन्छ । प्रसुती अस्पतालमा सुत्केरी भेट्न जाँदा धेरैले ज्वानो झोल बोकेर जाने चलन छ।' बजारीकरण बढ्दै जाँदा ती पौष्टिक आहार विस्थापित भएको तर्क उप्रेतीको छ ।
त्यहाँको प्रशासनले क्यान्टिनमा ज्वानोको झोलको व्यवस्था गर्न लगाएको उदाहरण दिंदै अरुणा भन्नुहुन्छ, 'क्यान्टिनमा बिरामीले खान मिल्ने खानेकुराको व्यवस्था अस्पताल प्रशासनले गराउन मिल्ने र प्रशासनले चाहे तुरुन्तै अस्पतालमा पत्रु खानामा रोक सकिन्छ।'
जतिसुकै ब्रान्डेड भनिए पनि बिस्कुट स्वस्थकर हाेइन: डा.प्रकाशराज रेग्मी
मैदाका अलावा ट्रान्स फ्याट पनि हुने भएकाले बिस्कुट अस्वस्थकर खानेकुरा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउनुहुन्छ ।
प्रशोधित काब्रोहाइडेट र अति खराब चिल्लो पदार्थबाट बिस्कुट बनेको हुन्छ । जस्तोसुकै ब्रान्डकोे भए पनि प्याकेटमा तयारी गरिएको बिस्कुट स्वास्थ्यका लागि हानिकारक नै हुने उहाँले स्पष्ट पार्नुभयो ।
कतिपयले औषधि खानु अगाडि बिस्कुटको प्रयोग गर्ने गरेको आफूले देखेको र यो खराब तरिका भएको डा. रेग्मी बताउनुहुन्छ।
डा. रेग्मी भन्नुहुन्छ-कहिलेकाँही एक दुई वटा बिस्कुट खानु छुट्टै परिवेश हो तर धेरैले बिस्कुट खाने बानी लागिसकेको थाहा पाउँदैनन् । औषधि खानकै लागि उनीहरू बिस्कुट खान्छन् । यो स्वस्थ बानी होइन।
बिस्कुटले औषधिलाई नबिगारे पनि अरु रोग निम्त्याउने डा.रेग्मीको भनाइ छ । 'बिस्कुट भनेको जङ्कफुड हो, बिरामीले औषधि खाँदा जङ्कफुड खाइरहेका छन्, जङ्कफुडले स्वास्थ्यलाई हानी मात्रै गर्ने हो' उहाँ भन्नुहुन्छ।
कृत्रिम स्रोतबाट प्रप्त हुने अर्थात खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्सफ्याट स्वास्थयका लागि अत्यन्तै हानिकारक रहेको रेग्मीले जानकारी दिनुभयो।
रेग्मीका अनुसार ट्रान्स फ्याट धेरै भएको खानाका कारण कालेस्टोरोल बढ्ने, मोटोपना, उच्च रक्तचाप, मधुमेह लगायतका समस्यादेखि हृदयघात, मष्तिष्कघात र क्यान्सर जस्ता रोगहरू लाग्ने सक्छ । यस्ता राेगबाट निम्न र मध्यम आय भएका राष्ट्रहरूमा वर्षेनी ५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
जतिसुकै ब्रान्डेड भनिए पनि बिस्कुट स्वस्थकर नरहेको उहाँ जिकिर गर्नुहुन्छ । औषधि खाँदा नियमित रुपमा बिस्कुट खाँदा अरु रोगहरू निम्तन सक्छन् ।
बिस्कुट खाएर औषधि खाने संस्कारको विकास भइसकेको डा रेग्मी स्वीकार गर्नुहुन्छ । यसलाई रोक्न प्रत्येक व्यक्तिको भूमिका बराबर रहेको उहाँ बताउनहुन्छ ।
तपाईँको अभिमत