एकै स्थानीय तहका ४०० जनामा मोतिबिन्दु, ३०१ को नि:शुल्क शल्यक्रिया
सुर्खेतको मेहलकुना नगरपालिकामा ४०० जनाको आँखामा मोतिविन्दु समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म आँखा शिविर सञ्चालन गरिएको थियो।
उक्त शिविरमा आँखा जाँच गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या पहिचान गरिएको थियो। जसमा ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।
नगरपालिकाको वडास्तरमै गएर आँखा परीक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको नेपाल नेत्र ज्योति संघले जानकारी दिएको छ।
संघका अनुसार शिविरमा २ हजार ८४० जनाको आँखा परीक्षण गरिएको थियो । आखा परीक्षण गरेर मोतियाबिन्दु पहिचान भएपनि ९९ जना भने शल्यक्रियाका लागि आएनन् । निशुल्क उपचार हुन्छ भन्दा पनि शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुक मान बहादुर कुँवर बताउनुहुन्छ।
करिब १ घण्टामा अस्पताल पुग्न सकिने ठाउँमा पनि यति धेरै मोतिबिन्दुका बिरामी रहनु गम्भीर कुरा रहेको कुँवर बताउनुहुन्छ।
‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि यस्तो छ कुँवर भन्नुहुन्छ, 'उहाँहरुलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन अहिले हाम्रो प्रमुख चुनौती नै यहि हो।'
सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकामा ४०० जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र बताउनुहुन्छ।
‘यसबाट अहिले पनि नागरिकहरुलाई आँखा उपचारको आवश्यकता महसुस नै भएको छैन भन्ने देखिन्छ' मिश्र भन्नुहुन्छ, 'हामीले नागरिकमा आँखा स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्न जरुरी छ।'
राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा.शुरेश रसाइलीको नेतृत्वको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो ।
नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित नेपाल एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रममार्फत हालसम्म प्रदेशका ६ हजार भन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिसकिएको कुँवरले जानकारी दिनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत