डब्ल्यूएचओ दक्षिणपूर्वी क्षेत्रीय समितिको बैठक भदौ २० गतेदेखि
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी क्षेत्रीय समितिको बैठक भदौ २० गतेदेखि भुटानमा हुँदैछ । समितिको पचहत्तरौँ बैठक भदौ २४ गतेसम्म चल्नेछ ।
कोरोना पछि पहिलो पटक भौतिक उपस्थितिमा हुन लागेको उक्त बैठकमा दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
डब्ल्यूएचओका अनुसार बैठकमा प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागितामार्फत मानसिक स्वास्थ्यको सम्बोधन, विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
“स्वस्थ जनसङ्ख्याका लागि स्वस्थ वातावरण” सम्बन्धी क्षेत्रीय योजना सहित यसअघिका क्षेत्रीय समितिका बैठकहरूमा अनुमोदन गरिएका सङ्कल्प प्रस्तावहरू उपर भएका प्रगतिहरूको पनि समीक्षा गरिनेछ जसमा, कुपोषणको दोहोरो बोझको सम्बोधन गर्नका लागि रणनीतिक योजना, रोकथाम गर्न सकिने मातृ, नवजात शिशु तथा बाल मृत्युको अन्त्य, सन् २०२३ सम्म दादुरा र रुबेलाको उन्मूलन र आपत्कालीन चिकित्सकिय टोलीको सुदृढीकरणको विषय पनि रहेका छन् ।
विश्वको एक चौथाइ जनङ्ख्या बसोबास गर्नेे दक्षिणपूर्वी क्षेत्रमा सन् २०१४ देखि आठवटा मुख्य कार्यक्रममा केन्द्रित रहेको छ— सन् २०२३ सम्ममा दादुरा र रुबेलाको अन्त्य, बहुक्षेत्रीय नीति तथा योजनामार्फत नसर्ने रोगहरूको सम्बोधन, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई गति दिने, एन्टिमाइक्रोबाइल रेसिस्टेन्सलाई रोक्ने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई विस्तार गर्ने, उपेक्षित उष्णदेशीय रोगहरूको उन्मूलन गर्ने, र क्षयरोगको अन्त्य गर्ने लक्ष्य राखिएको छ ।
दक्षिणपूर्वी क्षेत्रमा २०१४ मा पोलियो रोगको उन्मूलन भएको थियो भने मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगलाई सन् २०१६ मा उन्मूलन गरेको थियो । मालदिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगको उन्मूलन गरिसकेका छन् भने भुटान, दक्षिण कोरिया र टिमोर—लेस्टेले दादुरा उन्मूलन गरेका छन् ।
मालदिभ्स, श्रीलङ्का र थाइल्याण्डले हात्तीपाइले रोगको उन्मूलन गरेका छन् । नेपाल र म्यान्मारले खस्रे रोग (ट्राकोमा) उन्मूलन गरेका छन् । भारत याज रोग मुक्त भएको छ । श्रीलङ्का तथा मालदिभ्सले औलो रोगको उन्मूलन गरेका छन् । थाइलेण्ड, श्रीलङ्का र मालदिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरिङ्गी रोगको उन्मूलन गरेका छन् । बाङ्लादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीको नियन्त्रण गरेका छन् ।
सन् २०२१ मा नेपालले क्षेत्रीय समितिको बैठक भर्चुअल आयोजना गरेको थियाे।
हेल्थपाटी
तपाईँको अभिमत