काठमाडौंमा कोरोना संक्रमणबाट अर्का स्वास्थ्यकर्मीको मृत्यु

फाइल तस्विर: राम सिकिलप्रसाद साह
काठमाडौं । नेपालमा कोरोना संक्रमण भई अर्का एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
महोत्तरी मनरा ६ सरपलोका ५८ वर्षका राम सिकिलप्रसाद साहको उपचारका क्रममा काठमाडौंस्थित करुणा अस्पतलामा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कर्मचारी जयमोद ठाकुरले जानकारी दिनुभएको छ । साह पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका सिनियर अहेव एवं जनस्वास्थ्य अधिकृत हुनुहुन्थ्यो ।
ठाकुरका अनुसार साह भदौ १९ गते रुघा खोकी, ज्वरो आएपछि पर्साबाट घर जानुभएको थियो । जनकपुरमा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएपछि साहले पनि पीसीआर परीक्षण गर्नुभएको र रिपोर्ट नेगेटिभ आएको थियो ।
तर घर फर्किएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि साहलाई चन्द्रकला अस्पताल जनकपुर ल्याइएको र झन्–झन् स्वास्थ्य अवस्थ बिग्रिपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको ठाकुरले बताउनुभयो । असोज १ गते शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएका साहलाई त्यहाँ आइसियु बेड खाली नभएपछि बुढानिलकण्ठस्थित करुणा अस्पताल रिफर गरिएको थियो ।
असोज ४ गते सो अस्पतालमा पीसीआर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । गम्भिर अवस्थामा असोज ७ गतेबाट भेन्टिरलेटरमा उपचाररत साहको आज बिहान ८:३० बजे मृत्यु भएको जानकारी अस्पतालले गराएको ठाकुरले जानकारी दिनुभयो ।
नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो दोस्रो घटना हो । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ काे निजी स्वास्थ्य संस्थामा कार्यरत ४० वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत