३५ अस्पतालमा भेन्टिलेटर र अक्सिजनका लागि झन्डै ३ अर्ब निकासा, कहाँ के थपिंदै ?
काठमाडौं । कोरोना संक्रमित थपिदैं जाँदा उपचारमा समस्या भएपछि सरकारले देशभरका सरकारी अस्पतालहरुमा अक्सिजन ट्याङकदेखि भेन्टिलेटर लगायतका उपकरण थप्ने भएको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ३ अर्ब रुपैंया निकासा गरेको छ । केन्द्रिय अस्पतालदेखि प्रदेशका गरि ३५ वटा अस्पतालमा ३६० वटा आइसियु, १८० वटा भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्याङक थप्न २ अर्ब ९३ करोड ८० लाख रुपैंया रकम निकासा गरिएको छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, पाटन, भेरीसहित २६ वटा अस्पतालमा २९० वटा आइसियु र १४५ वटा भेन्टिलेटर थपिदैछ । साथै उक्त अस्पतालहरुमा १२ वटा अक्सिजन प्लान्ट र २० वटा ट्यांक थप हुनेछन् । यसैगरी प्रदेश स्तरका ६ वटा अस्पतालमा ७० वटा आइसियु, ३५ वटा भेन्टिलेटर जोडिनेछन् भने त्यहाँ ७ वटा अक्सिजन प्लान्ट र ६ वटा ट्याङक थपिने छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले संक्रमितको उपचार तथा व्यवस्थापनका लागि सातै प्रदेशमा वजेट निकासा भइसकेको र अस्पतालहरुले तुरुन्तै ती सामग्री सोझै खरिद गर्नसक्ने जानकारी दिनुभयो । आगामि दिनमा थप उपकरणहरु थप्दै लैजाने उहाँले बताउनुभयो । जुन जुन अस्पतालमा ट्यांङक थप्न भनिएको छ ती अस्पतालहरुलाई तुरुन्तै ट्याङक जोडेर लिक्विड अक्सिजन भर्न भनिसकेको उहाँले बताउनुभयो ।
‘भारतबाट लिक्विड अक्सिजन आइरहेको छ । भोलीबाटै ट्याङक जोड्न काम अघि बढाएर उनीहरुले अक्सिजन भर्न सक्छन्,प्रवक्ता गौतमले भन्नुभयो ।’ २०० बेडभन्दा साना तर ५० भन्दाबढी बेड भएका अस्तपालहरुमा अक्सिजन प्लान्ट राख्नुपर्ने मापदण्ड बनाइएको छ । यसैगरी २५ भन्दा कम बेड भएका अस्पतलाहरुमा कन्सनट्रेटर(हावाबाट अक्सिजन दिन मिल्ने)को व्यवस्था गरिएको छ ।
अहिले कन्सन्ट्रेटर प्रसस्तै आइरहेको र सातै प्रदेशमा पठाइरहेको गौतमले जानकारी दिनुभयो । ‘तुरुन्तै अक्सिजन प्लान्ट तथा ट्याङक थप्न नसक्ने अस्पतालहरुलाई भने सिधै उद्योगहरुबाट सिलिण्डर भरेर व्यवस्थापन गर्न भनिएको छ, यति सबै गरिएपछि अक्सिजनको समस्या कम हुनेछ, प्रवक्ता गौतमले थप्नुभयो ।’
‘कोरोना महामारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्यो,स्वास्थ्य संरचनाहरु थपिए,यो स्वास्थ्य सेवामा छलाङ हो ,उहाँले भन्नुभयो । ’
जगन्नाथ ढकाल
तपाईँको अभिमत