काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदै
काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज प्रदान गरिँदैछ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ ।
सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन् ।
बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् ।काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो ।
दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ । त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ । ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइनेछ ।
चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ । कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई दुई स्थानमा खोप केन्द्र तय गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक(एक वटा खोप केन्द्र तय गरिएको छ ।
दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ । पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ । पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन् ।
काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिने कार्यतालिका रहेको छ ।
काभ्रेमा पनि आजैबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिनेछ । काभ्रेमा भने चैत २६ गते देखि ३० गतेसम्म खोप लगाएकाले जेठ २ गते, चैत ३१ गते लगाएकाले जेठ ३ गते काभ्रेमा निश्चित गरिएका खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।
बैशाख २, ३ र ४ गते खोप लगाएकाहरुले जेठ ४ गते र बैशाख ५ र ६ गते पहिलो डोज लगाएकाले जेठ ५ र ६ गते सम्बन्धित केन्द्रमा गएर दोस्रो डोज लगाउन सक्नेछन् । काभ्रेमा दोस्रो डोज लगाउनका लागि ७ वटा खोप केन्द्र छुट्याइएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत