गंगालाल अस्पतालमा ३० जना नर्सको माग, ९ दिनमा १ हजार बढीको आवेदन
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा जागिरका लागि आवेदन खुला गरिएको छ । जेठ २९ गते प्रथम पटक विज्ञापन प्रकाशित गरेको उक्त अस्पतालमा सोही दिनदेखि नै फारम भर्नेहरुको भीड लागेको छ ।
त्यही भीडमा हुनुहुन्थ्यो भक्तपुरकी रविना श्रेष्ठ। रविना विगत ४ वर्षदेखि काठमाडौंको एक निजी अस्पतालमा कार्यरत हुनुहुन्छ । २०७२ सालमा नर्सिङ पीसीएल पास हुनुभएकी रविनालाई नेपालमै बसेर बिरामीको सेवा गर्ने धोको छ । तर नर्सिङ क्षेत्रमा रहेका समस्याका चाङले उहाँलाई पिरोल्ने गर्छ ।

पेशामा सुरक्षा नहुनु, चित्त बुझ्दो सेवा सुविधा नहुनु, बिरामीको अनुपातमा नर्स नहुनु जस्ता समस्या नेपालको नर्सिङ क्षेत्रका विद्यमान समस्या हुन् । सरकारी अस्पतालमा काम गर्ने नर्सको अवस्था राम्रै भएपनि अधिकांश निजी अस्पतालहरूमा नर्समाथि श्रम शोषण छ। अति न्यून तलबमा धेरै काम लगाइन्छ। सरकारी अस्पतालमा जागिर पाए निकै राहत हुने आशा बोकेर फारम भर्न आएको रविना सुनाउनुहुन्छ।
'प्राय अस्पतालमा खुलामा विज्ञापन नै खुलाउँदैन, खुलाए पनि भनसुन र शक्तिको खेलो हुन्छ । भित्रभित्रै नियुक्ति भइसकेको हुन्छ । बल्ल बल्ल खुलेको छ त्यही भएर फारम भर्न आएको', फारम भर्ने लाइनमा रहनुभएकी अर्की नर्सले फोनमा कसैलाई सुनाइरहनुभएको थियो ।
वीर अस्पतालमा ६ महिनादेखि काम गर्दै आउनुभएकी मनिता गिरी अवसर सधैं नआउने तर्क गर्नुहुन्छ । काठमाडौं बानेश्वरकी मनिता, सरकारी अस्पतालमा कार्यरत भएपनि करारमा रहेकाले स्थायी जागिर पाउने आशामा आवेदन दिन आउनुभएको हो।

सक्षम जनशक्तिलाई सदुपयोग गर्न नसक्नु नर्सिङ पेशाको ठूलो समस्या रहेको मनिताको बुझाइ छ । नर्सलाई आपत पर्दा उपयोग गर्ने काम मात्रै भइरहेको उहाँको गुनासो छ।
सानो छँदा बिरामी भइरहने उहाँलाई अस्पताल जाँदाजाँदै नर्स बन्ने रहर जागेको थियो । आफूलाई नर्सले गरेको हेरचाहबाट प्रभावित हुनुभएकी मनिताले नर्स बनेरै अरुको सेवा गर्ने लक्ष्य लिएको सुनाउनुभयो ।
बिरामीको उपचार गर्ने आफ्नो उत्साहलाई मर्न नदिनकै लागि फारम भर्न आएको उहाँ बताउनुहुन्छ । रविना र मनिता जस्ता १ हजार बढी स्टाफ नर्सले गंगालाल अस्पतालमा जागिरका लागि आवेदन दिइसक्नुभएको छ ।
३० जना स्टाफ नर्स माग भएकामा विज्ञापन खोलेको ९ दिनमै अर्थात आजसम्म (सार्वजनिक विदा कटाएर) ११०१ जनाले आवेदन दिइसकेको अस्पतालका प्रशासकिय अधिकृत शुसिल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सिङमै धेरैको आकषर््ण देखिएको छ । यसअघि गंगालाल अस्पतालमा २०७६ सालमा विज्ञापन खुलाइएको थियो ।
फारम भर्ने अन्तिम दिन आउन अझै ११ दिन बाँकी छ । अन्य अस्पतालको तुलनामा गंगालाल अस्पतालका नर्सहरूको तलव सुविधा राम्राे रहेकाे त्यहाँ कार्यरत एक नर्सले जानकारी दिनुभयाे।

यति धेरै संख्यामा नर्सको आवेदन पर्नुले नेपालमा बेरोजगार नर्सको अवस्थालाई प्रष्टै देखाएको छ । नेपालमा बेरोजगार नर्सको संख्या बढिरहेकाले स्थायी सेवाप्रति आकर्षित भएको सरकारी सेवामा आवद्ध नर्सहरूको संस्था गोनानकी अध्यक्ष कल्पना श्रेष्ठ बताउनुहुन्छ।
उत्पादनका आधारमा नर्सलाई काम दिन नसक्नु राज्यको कमजोरी रहेको उहाँको भनाइ छ । नेपालमा अहिले भएका नर्सलाई काम दिए बिरामीले गुणस्तरीय सेवा पाउने उहाँ बताउनुहुन्छ।

'सेवा सुविधा गतिलो नहुँदा हजारौं नर्सहरु विदेशिन बाध्य छन्' श्रेष्ठ भन्नुहुन्छ, ‘रोजगार भएकाहरुको पनि सेवा सुविधा गतिलो छैन। अझ भन्नुपर्दा उनीहरु श्रमशोषणमै छन् । उत्पादन भएका नर्सलाई राज्यले रोजगारी दिन नसक्नु र सेवामा आवद्ध भएकाहरू पनि शोषणमा पर्नु दुख:द् हाे।'
अस्पतालले जेठ २९ गते प्रथम पटक विज्ञापन प्रकाशित गरेको थियो । खुलातर्फ विभिन्न पदमा ५५ जनाका लागि विज्ञापन खुलाइएकोमा सबैभन्दा धेरै स्टाफ नर्सको माग गरिएको छ । कार्यक्षमता मूल्यांकन आन्तिरिकबाट केन्द्रमै कार्यरत योग्यता पुगेका कर्मचारीहरुका लागि नर्सिङ उपसमूहमा वरिष्ठ सुपरभाइजर(१), नर्सिङ सुपरभाइजर(४), सिस्टर (१), वरिष्ठ स्टाफ नर्स (७) गरी १३ जनाका लागि आवेदन खुलाइएको छ ।

स्वास्थ्य सेवा विभाग नर्सिङ डिभिजनका अनुसार हाल १२५ वटा अस्पतालमा नर्सको दरबन्दी जम्मा १४ हजार ९९ छ तर ९ हजार १५१ जना नर्स मात्रै कार्यरत छन् । बाँकी दरबन्दी खाली छ । यस्तै अनमीको दरबन्दी १० हजार रहेकोमा ६३१६ मात्रै कार्यरत छन् । उसैपनि नर्सको दरबन्दी कम त्यसमा पनि ७ हजार ८३२ दरबन्दी खाली छ । हाल सातौं तहमा ६९, छैठौं तहमा ५२४ र पाँचौंमा ९३० जना नर्स सेवारत छन्।
नेपाल नर्सिङ परिषद्का अनुसार हालसम्म नेपालमा ६८ हजार ३१६ जना नर्स दर्तावाल छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत