४५ दिने शिशुको मृत्युपछि सिभिल अस्पतालमा तनाव, के हो खास घटना ?

एक ४५ दिने शिशुको मृत्यु भएको विषयलाई लिएर निजामती कर्मचारी(सिभिल) अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतक शिशुका आफन्तले अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपातको प्रयास गरेका छन्।
के थियो घटना ?
ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भई काठमाडौं गोठाटार बस्ने सुजिता फुयाँल तामाङले बैशाख ११ गते सिभिल अस्पतालमा छोरी जन्माएकी थिइन्।२७ वर्षीया सुजिताले शल्यक्रियामार्फत २.५ केजीको शिशुलाई जन्म दिएकी थिइन्।
मृतक शिशुका बुबा टंक तामाङले जानकारी दिएअनुसार त्यतिबेला ४ दिन अस्पताल राखेर डिस्चार्ज गरिएको थियो। खोकी लाग्ने लगायतका समस्या भएपछि गत जेठ ७ गते राति सिभिल अस्पतालकै इमर्जेन्सीमा शिशुलाई ल्याइएको थियो। इमर्जेन्सीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य परीक्षण गरी ठिक छ भनी पठाए। समस्या कम नभएपछि ८ गते फेरि बच्चालाई सिभिल अस्पतालमै ल्याएर भर्ना गरियो। शिशुलाई निमोनियाको समस्या देखिएको चिकित्सकले बताए। नर्सरीमा राखी शिशुको उपचार भइरहेको थियो।

शुक्रबार रातिदेखि शिशुको अवस्था जटिल भएको जानकारी उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीले परिवारका सदस्यलाई दिए। शनिबार अस्पतालले महाराजगन्जस्थित बालमैत्री अस्पतालमा रिफर गरिदियो।
शनिबार साँझ ५ बजेतिर शिशुलाई सिभिलबाट बालमैत्री अस्पताल लगिएको थियो। राति ८ बजेतिर उपचारका क्रममा शिशुको मृत्यु भयो।
सिभिल अस्पतालमा उपचारका क्रममा लापरवाही भएर शिशुको मृत्यु भएको आरोप परिवार र आफन्तले लगाएका छन्। शनिबार राति नै शिशुको शव सिभिलमै फिर्ता ल्याएर आफन्तले न्याय चाहियो भन्दै आन्दोलन सुरु गरेका थिए।

सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलका अनुसार अस्पताल व्यवस्थापन र मृतक शिशुका आफन्तबीच आइतबार बिहान छलफल चलिरहेको थियो। यसै समय आक्रोशित मृतकका आफन्तले अस्पतालको प्रशासनिक भवनमा तोडफोड गरेका छन्। निर्देशकको कार्यकक्ष बाहिरका शिशाहरू फुटाइएको छ।
शिशुका बाबुआमा भन्छन्– लापरवाही भएकै हो
अस्पताल परिसरमा भेटिएका मृतक शिशुका परिवार तथा आफन्तले उपचारमा लापरवाही भएको जिकिर गरे। शिशुकी आमा सुजिताले नर्सहरूले राम्रो हेरचाह नगरेको आरोप लगाइन्। नर्सरीभित्र शिशुलाई दूध खुवाउँदा सर्काएका कारण अवस्था जटिल भएको भनेर रिफर भई गएको अस्पतालका चिकित्सकले भनेको दावी सुजिताको छ।

जटिलटताबारे समयमा जानकारी नदिएको, रिफरपछि पनि अस्पतालले चालक छैनन् भन्दै एम्बुलेन्स समेत उपलब्ध नगराएको गुनासो बाबु टंकको छ। उपचारमा संलग्न डाक्टर, नर्सको लाइसेन्स खारेज गर्नुपर्ने माग आफूहरूको रहेको टंकले बताए।
छलफल चलिरहेका बेला सिभिलकै एक कर्मचारीले बोलेको एक भनाइका कारण आक्रोशित भएर आफन्तहरूले झ्यालका सिसा फुटाएको टंकको भनाइ छ।
न्यायका लागि आफूहरू कहाँ उजुरी गर्नुपर्ने हो, त्यही गएर गर्ने तयारी गरेको पनि उनले बताए।
तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।
शिशुलाई थियो जन्मजात मुटुरोग
उपचारमा कुनै लापरवाही नभएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलको दावी छ। उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै प्रा. डा. पौडेलले दिएको जानकारी अनुसार शिशुलाई निमोनिया भएको थियो। शिशुमा जन्मजात मुटुरोग समेत थियो। 'त्यसले अवस्था जटिल बनाउन सहयोग गर्यो', उनले भने ।
रगत नै उल्टो बग्ने खालको जन्मजात मुटुरोग रहेको र त्यसबारे परिवारका सदस्यलाई पनि जानकारी गराइएको पौडेलले बताए। मृतक शिशुका बुबा–आमाले भने त्यस्तो समस्याबारे कुनै जानकारी नदिएको जिकिर गरेका छन्।

कार्यकारी निर्देशक पौडेलका अनुसार शिशुको शवसहित उनका परिवार अस्पताल आएको भनेर हिजो राति खबर आएको थियो। आज बिहानै अस्पताल आएर सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीसहित अस्पतालका आन्तरिक बैठक बसेको थियो। बिहान ९ बजे मृतकका परिवार, आफन्तसँग छलफल गरिएको थियो। छलफलकै क्रममा आक्रोशित आफन्तले डाक्टरलाई हातपातको प्रयास गरेका थिए। 'छेकेर हात हाल्न भने दिइएन', उनले भने ।
त्यसपछि तोडफोडमा उत्रिए। तत्काल प्रहरी आएर घटना साम्य पारेको थियो।
दूध खुवाउँदा फोक्सोमा पुर्याएर शिशुको मृत्यु भएको भन्ने आरोप मिथ्या रहेको प्रा. डा. पौडेलले बताए। भेन्टिलेटरमा राख्ने क्रममा पेटमा भएको खाना, दूधहरू बाहिर तान्नु पर्ने भएकाले बाहिर निकाल्दा त्यस्तो आरोप लगाएको होला’ उनले भने, ‘फोक्सोमै दूध परेको भए त तत्कालै मृत्यु हुन्थ्यो नि।’
अवस्था जटिल भएपछि मुटुको सेवा नभएकाले अस्पतालबाट रिफर गरिएको थियो। कान्ति बाल अस्पताल, शिक्षण अस्पताल लगायतमा पहल गर्दा समेत आइसीयू खाली नभएपछि बालमैत्रीमा पठाइएको कार्यकारी निर्देशक प्रा. डा. पौडेलको भनाइ छ।
उनका अनुसार बिहानैको छलफलमा सहमति जुट्नै आँटेको थियो। मृतकका परिवारले छानबिनको माग गरेर मेडिकल काउन्सिलमा उजुरी दिने र उजुरीमा अस्पताल व्यवस्थापनले सघाउने भन्ने भएको थियो। निष्कर्षमा पुग्नै लाग्दा एक्कासी अवस्था तनावग्रस्त बनेको पौडेलको भनाइ छ।
आइतबार दिउँसो १ बजे हेल्थपाटीको टोली त्यहाँ पुग्दा प्रहरी अधिकारी र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको थियो।
अहिले समस्या समाधानका लागि प्रयास भइरहेको कार्यकारी निर्देशक पौडेलले बताए।
मृतक शिशुका आफन्तले भने पक्राउ गरिएका आफ्ना मान्छेलाई नछाडेसम्म छलफलमै नबस्ने बताइरहेका थिए।
तपाईँको अभिमत